यस्तै हुन्छ गणतन्त्र दिवस ?

यस्तै हुन्छ गणतन्त्र दिवस ?

झण्डै दुई तिहाई बहुमतको सरकार जनअपेक्षाबाट टाढिदै जाँदा पटक पटक आफनै असंवैधानिक कृयाकलापका कारण एक तिहाईमा सिमित भएको छ । कोरोना कहरबाट आक्रान्त जनता पनि कथित गणतन्त्रको ललिपलबाट विरक्त भै सकेका छन् । सरकारले गणतन्त्रप्रति जनतालाई आश्वस्त तुल्याउन त सकेन नै गणतन्त्रका नाममा बलजफ्ती ओगटिएका पदहरूको ओज पनि जोगाउन नसक्ने भयो ।

धन्य नेपाली सेनाले वैधानिक सरकारको आदेश पालना गर्ने नाममा यिनका पद र मान जोगाई दिनेदेखि अध्यादेश,विद्यादेश र सिध्यादेशतर्फको सरकारी यात्रा मात्र पूरा गरेर नपुगी आफ्नै प्राङ्गणमा गणतन्त्र दिवससमेत मनाइदिन पर्ने भयो !

सरकारको यो हविगत देख्दा एउटा श्रमजीवी नेपालीले भोगेको पीडा सम्झना हुन आउँछ जसले आफ्नो सुखद र उज्वल भविष्यको लागि २०४६ सालको जनआन्दोलनमा आफ्नो हजुर बुबा पुस्तालाई “ बीरे चोर,देश छोड् ” भन्ने नारा लगाएको देखेका थिए । त्यसरी नै २०६२-०६३ को आन्दोलनताका आफ्नो बुबालाई पनि “ ज्ञाने चोर, देश छोड् ”भन्दै कराएको देखे ।

हाल उनैको नाति पुस्ता अरबको खाडीमा पचास बाउन्न डिग्रीको चरम गर्मीवीच हाड नङ्ग्रा खियाईरहेको छ । विश्वव्यापी कोरोना कहरका कारण बाध्य भएर ती श्रमजीवी युवा नेपाल फर्कन बाध्य भए । उनी अहिले घरमा कोरोनाले थलिएकी आमालाई लिएर विभिन्न अस्पतालमा धाउँदैछन्, अस्पतालमा निःशुल्क अक्सिजन, बेड,औषधीको कुरै छाडौँ, सामान्य उपचारसमेत केही नपाई आफ्नैअगाडि नेपाली आमा बाबु, सुत्केरी आमा,युवा,युवतीको दुःखद मृत्यु देख्नु परिरहेछ । आज उनी भन्न बाध्य छन्,“बीरे र ज्ञानेन्द्र चोर होइन रहेछन्,वास्तवमा चोर त मेरा बाबु र बाजे रहेछन् । कुरै नबुझी गल्ली गल्लीमा उम्लिएर हिंडेछन् ।

यथार्थमा नेपाल राजनीति शून्य अवस्थामा छ । हरेक दृष्टिले असफल राष्ट्र बन्दै गएको छ । राजनीतिक संस्कारको न्यूनतम आचरण र व्यवहार अनुभूत हुन सकेको छैन । राष्ट्रिय स्वाधीनता तहसनहस हुदै छिमेकी तथा मित्रराष्ट्रहरूको नेपाल र नेपाली प्रतिको विश्वासका खम्वाहरू खलवलिएका छन । सरकार अनुदानमा वा खरिदबाट भए पनि समयमै खोप ल्याएर नागरिक बचाउनभन्दा कमिशन र असुहाउँदो गुटगत गठबन्धन अनि नहुने चुनावको रटानमा मस्त छ । संसद र संविधान असफल,ठूला दल र नेता असक्षम भएर पनि अझै आत्मालोचना गर्न कोही तयार छैन ।

पुच्छरे नक्शा छापियो तर जमिनको भोगाधिकार आएन । खरबौँ ऋण चुलिदैछ,देशको उत्पादन र विद्यार्थीका पठन पाठन र आम रोजगारको के कुरा ! भूटानी शरणार्थीपछि रोहिंग्या पनि नेपाल घुसाइएको चौथो बर्ष भयो । गोरू व्याउन बाँकी छ । तैपनि चलेकै छ देश । बाह्र बुँदे सम्झौताको जालोमा नेपाललाई फसाई खिलराज रेग्मीजस्ता पात्रलाई उभ्याएर धर्म निरपेक्षता, संघीयता लादी राजसंस्थाको बहिर्गमन गराइयो ।

भारतका पूर्वविदेश सचिव श्यामशरण र अनमिनका इयान मार्टिनको चक्रव्युहको नतिजा आज मुलुकले ब्यहोरिरहेको छ । नेपाली र नेपाल बचाउने र बनाउने पहिलो जिम्मेवारी हामी नेपालीहरुको हो । जागौँ,अब अबेर नगरौँ । इतिहास मास्नेलाई इतिहासले दण्ड दिने छ । धन्य हो कथित संघीय गणतन्त्रको लीला अपार ! जय नेपाल ! जय नेपाली ! जय राष्ट्रवाद !

डा.ठाकुरमोहन श्रेष्ठ,राष्ट्रिय संयोजक (नेपाल नागरिक अभियान)

टिप्पणीहरू