नयाँ दल दर्ताको सुरसार छैन

नयाँ दल दर्ताको सुरसार छैन

एमाले अध्यक्ष केपी ओलीद्वारा अस्ति पार्टीबाट निश्कासित बरिष्ठ नेता माधव नेपाल समूहका युवा नेताले नेकपा (लोकतान्त्रिक) नामको अर्को दल दर्ता गरेको चर्चा चलेका बेला निर्वाचन आयोगले त्यस्तो कुनै निवेदन नआएको बताएको छ ।

अघिल्लो महिना नेपालनिकट नेता जीवन राईले नेकपा (एकीकृत) नामक पार्टी दर्ताका लागि निवेदन दिएका थिए । त्यसको लगत्तै हिजो फेरि नेकपा (लोकतान्त्रिक) नाम राखेर अर्को पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हल्ला चलेको थियो ।

तर,आयोग स्रोतले भने पछिल्लो दर्ताबारे जानकारी नभएको बताएको छ । ‘केही दिनयता नयाँ दर्ताको निवेदन आएको छैन । जीवन राईको सन्दर्भमा उहाँहरुको विधानमा केही कानुनी कुरा नमिलेकाले प्रष्ट बनाएर ल्याउन पत्र पठाइएको छ’,स्रोतले भन्यो ।

आयोगले पर्सि १७ गतेको राष्ट्रियसभा निर्वाचनको तयारी पूरा भएको पनि बताएको छ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा जेठ १७ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रबाट निर्वाचित चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पद रिक्त भएको हो ।

निर्वाचनमा विपक्षी काँग्रेस, माओवादी केन्द्र,एमालेको माधव नेपाल पक्ष,जसपा र जनमोर्चाले दृगनारायण पाण्डेलाई अघि सारेका छन् । एमालेबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित पाण्डे प्रदेशसभा सदस्यबाट राजीनामा दिएर केही समयअघि काँग्रेस प्रवेश गरेका थिए ।

एमालेको ओली पक्षले भने खड्कालाई नै चुनावी मैदानमा उतारेको छ ।

निर्वाचनका लागि ६५ लाख खर्च हुने निर्वाचन आयोगले बताएको छ । निर्वाचनमा १५ जना निजामती कर्मचारी र १५ जना सुरक्षाकर्मी खटिनेछन् । प्रदेश सदरमुकाम दाङमा मतदानका लागि तयारी गरिएको छ ।

टिप्पणीहरू