भीडको राजनीतिमा जकडिएको भविष्य

भीडको राजनीतिमा जकडिएको भविष्य

-भोजकुमार धमला

संसारका अधिकांश राजनीतिक परिघटनालाई हेर्ने हो भने सबैमा भीडको मनोविज्ञान हाबी भएको पाइन्छ । भीड कसैको अधिनस्थ हुँदैन र विभिन्न कालखण्डमा सकारात्मक ऊर्जामार्फत प्राप्त उपलब्धिलाई नामेट पार्न सधैं उद्वेलित हुन्छ। असल र खराब के हो भन्ने कुराको यो जमातले कुनै हेक्का राख्दैन । यो समाजको मनोविज्ञान नै गलत चिन्तनले ग्रसित हुन्छ र आफ्नै मनोरतिमा रमाउँछ ।

कसैको नियन्त्रणमा नरहने हुल्याहा जमातले दम्भ र क्रोधको आडमा शासन प्रणाली र समाजलाई अर्डरलेसनेस (एनार्की)को अवस्थामा पुर्याउँछ। सत्ता राजनीतिमा तिकडम पैदा गर्न, आफूलाई माहिर देखाउन गैरवैचारिक निष्फिक्री भजन मण्डलीको सहारामा जमातलाई उपद्रो सिर्जना गर्न,बहुमतीय वर्चस्व देखाउन र जनताको मनस्थिति प्रभावित पार्न प्रयोग गर्छ ।

नेपालको शासन प्रणाली अगष्ट २०२० मा विक्की ओस्टरविलले प्रकाशन गरेको ‘इन डिफेन्स अफ लुटिङः हिस्ट्री अफ अनसिभिल एक्सन’ मा भनेजस्तो लुट ढाकछोप गर्ने माध्यमको रूपमा विकसित हुँदै गयो

यो जमात सदैव आक्रोशपूर्ण विचारबाट निर्दिष्ट हुने गर्छ । विचारहीन भावना सम्प्रेषण गर्नु, अरूलाई गाली गर्नु र आफूलाई केन्द्रमा राखी अरुको मान मर्दनमा नै अधिकांश समय खर्चिनुलाई यो समूह उन्माद र प्रतिष्ठाको विषय ठान्छ । जनसरोकारका उच्चतम पीडाबोध कहिले मनन गर्न नसक्ने कमजोरीका कारण आफ्नो धरातल रसातलमा पुगिसकेको यसलाई हेक्का हुँदैन ।

आफ्नो सत्ता स्वार्थको निम्ति जुनसुकै बेला जोसँग पनि जस्तोसुकै सम्झौता गर्न पछि नपर्ने यो समूह जहिले पनि आफूलाई घोर प्रजातन्त्रवादी ठान्दै उग्र राष्ट्रवादी कित्तामा उभ्याउन र अरुलाई भ्रम छर्न हरदम प्रयासरत रहन्छ । आफू मात्र राष्ट्रसेवक भन्ने र राष्ट्रवादी खोल ओढ्नेहरूले सत्ता टिकाउन गर्ने राष्ट्रहितविपरीत सम्झौता यसका उदाहरण हुन् ।

नेपालमा एक सय चार वर्षीय जहानिया राणाशासन होस् या २००७ साल पश्चातका सत्ता समीकरणका सबै प्रयास हालसम्म पनि अस्थिर नै रहे । सत्तामोहका कारण जनमतलाई सदैव धुजाधुजा बनाउने काम भयो। आफूले गरेका लुटका हर्कत लुकाउन र आफू सदैव सचिलो बनिरहन सबैखाले हत्कण्डाको प्रयोग गरेर जनतालाई सदैव गुमराहमा राखी रहने सोच हावी भइरह्यो । सारमा सबैको चरित्र र चिन्तनमा कुनै तात्विक भिन्नता देखिएन ।

गलत कार्यलाई गलत हो भन्न नसक्नु अहिलेको सबैभन्दा ठूलो समस्या हो । फलस्वरूप नेपालको शासन प्रणाली अगस्ट २०२० मा प्रकाशक विक्की ओस्टरविलले प्रकाशन गरेको ‘इन डिफेन्स अफ लुटिङः हिस्ट्री अफ अनसिभिल एक्सन’ मा भनेजस्तो लुट ढाकछोप गर्ने माध्यमको रूपमा विकसित हुँदै गयो ।

सोझा सीधा,निहत्था जनता पपुलिस्ट राजनीतिक पार्टीले उद्घोष गर्ने प्रोपोगण्डाको शिकार बन्दै जाने र सदैव भीडको राजनीति हावी भइराख्ने कुराले नेपालको राजनीति गिजोलिरहने भयो । कुसंस्कारले जरा गाडी नै रहने भयो। यसले बेथिति झन् बढेर जाने खतरा देखिएको छ। निरन्तर दिगो विकास,स्थायी सरकार र राज्यले प्रदान गर्ने सेवा–सुविधामा जनताको न्यायोचित,समानुपातिक पहुँच कहिले पनि नपुग्ने अवस्था सिर्जना भयो । यो आफैमा एउटा गम्भीर विषय हो ।

डेमोक्रेसी,लोकतन्त्र र गणतन्त्रलाई नेपाली शासकहरूले सदैव आफ्नो स्वार्थ सिध्द गर्ने माध्यम बनाएको पाइयो । विभिन्न कालखण्डका महान् आन्दोलनबाट स्थापित मूल्य–मान्यतालाई आफूअनुकूल व्याख्या गर्दै जाने र मै सर्वेसर्वा भन्ने अहंकारयुक्त कार्यशैलीका कारण देशको सार्वभौमिकता र अखण्डता नै जोखिममा परेको आभाष सबैले गर्न थाल्नु अहिलेको नेपालको विडम्बना हो।

खुशी र समृध्द बन्ने नेपाली सपना मिथ अफ सिसिफसजस्तै बन्यो । राजनीतिक बेइमानीले थिचेका नेपालीहरू नेतृत्वको खराब, अविवेकी,निर्लज्ज,गैरजिम्मेवार हर्कतलाई कहिले चिर्न नसक्ने भएका कारण अब हार मान्दै यो सार्वभौम राष्ट्रमाथि दुष्टहरूले गर्ने नांगो नाच हेर्नुपर्ने अवस्थामा पुगेका छन् ।

इटालियन इतिहासकार निकोलो मेकियावेलीका अनुसार,‘यस्तो अवस्थामा शासकहरूले पतन हुन लागेको शासन व्यवस्थालाई भीडको प्रयोगमार्फत अराजकताकै बीचबाट पनि लाभ उठाउन सक्छन्’ भन्ने कुरा अहिलेको नेपाली राजनीतिमा चरितार्थ भएको छ। समग्र नेपालीको भविष्य यिनै भीडको राजनीति गरी जालझेल र भ्रमको खेती गर्ने झुण्डहरूको हातमा परेको छ र आमूल परिवर्तन हुने कुरा फेरि पनि कुण्ठित हुने निश्चितप्रायः छ।

यदि,यो भीडको राजनीतिबाट देशको संविधान र प्राप्त उपलब्धिलाई जोगाइराख्ने हो भने फ्रेन्च राजनीतिज्ञ एलेक्सिस डे टकक्युभायलले ‘डेमोक्रेसी इन अमेरिका’ मा भनेजस्तै स्वशासित समुदायमा निहित नागरिक संस्कृति र आत्मनिर्भर शिक्षित जनसंख्याको आवश्यकता सदैव रहनेछ।

जिम्मेवार व्यक्तिको पहिलो कर्तव्य भनेकै डेमोक्रेसी बचाउनु हुनेछ। त्यसको निम्ति हामी नेपाली फेरि एकपटक सचेत हुँदै गाम्भीर्यतापूर्वक परिस्थितिको ठोस विश्लेषण गर्दै एकै ठाउँमा उभिने बेला आएको छ । जनतामाथि गरिएको अपराध किमार्थ क्षमा हुनेछैन ।

टिप्पणीहरू