नयाँ शपथ

नयाँ शपथ

आफूले गरेको शपथ ग्रहणमा एउटा त्रुटि भए पछि प्रधानमन्त्रीले शपथ ग्रहणको ढाँचा नै परिवर्तन गरिदिनुभएछ । शपथ ग्रहणमा राष्ट्रपतिले एउटा पाठ वाचन गर्नुभएको थियो, प्रधानमन्त्रीले अर्कै वाचन गरिदिनुभएछ । त्यस पछि शपथ ग्रहणको पाठ बारे विवाद भयो ।

अन्ततः प्रधानमन्त्री केपी ओलीले शपथको समेत अध्यादेश ल्याई नयाँ ढाँचा तयार गरिदिनुभएछ । शपथ ग्रहणको नयाँ ढाँचा तयार गरिने भनेकोले मैले ठानेको थिएँ कि अब त्यसमा दुइटा जति नयाँ वाक्य थपिने छ । एउटा– ‘त्यो पर्दैन’ । अर्को– ‘हिं..हिं..’ ।

प्रधानमन्त्रीले शपथमा बोल्नुभएको ‘त्यो पर्दैन’ वाक्यांश अत्यन्तै विवादमा तानिएको थियो । शपथको मूल पाठमा ‘त्यो पर्दैन’ भन्ने वाक्यांश थिएन ।

तर उहाँले उच्चारण गरिदिनुभयो । त्यसैले शपथको ढाँचा परिवर्तन गरी अब ‘त्यो पर्दैन’ भन्ने वाक्यांशलाई समेत शपथकै एक अंश बनाइने हो कि भन्ने ठानेको थिएँ । किनभने अहिले स्थिति त कस्तो छ भन्दा शपथमा जे छ त्यो प्रधानमन्त्रीले बोल्ने होइन, जे प्रधानमन्त्रीले बोल्नुहुन्छ त्यही शपथ हुने हो । उहाँले जानेर हो वा नजानेर हो ‘त्यो पर्दैन’ भनिहाल्नुभो, अब ‘त्यो पर्दैन’ पनि शपथको अंग बन्नुपर्ने हो ।

शपथको नयाँ ढाँचामा राष्ट्रपतिले गर्नुभएको ‘हिं..हिं..’ लाई एक अंश बनाउँदा राम्रै हुने थियो । यदि त्यसो गरेको भए हाम्रो शपथ संसारकै एक मात्र त्यस्तो शपथ हुने थियो जो बिच–बिचमा हाँस्दै र हँसाउँदै ग्रहण गरिन्छ । राष्ट्रपतिले ‘हिं..हिं..’ गरे पछि ग्रहण गरिरहेकाहरूले पनि ‘हिं.हिं.’ गर्ने । यस्तो शपथ बनाएको भए कस्तो हुन्थ्यो होला हगि ? हिं..हिं…!

टिप्पणीहरू