चुनावको लागि अध्यादेश

चुनावको लागि अध्यादेश

धेरै वर्षदेखि अड्किरहेको नागरिकता कानून यस पटक फुत्त निस्कियो । त्यो शितल निवासबाट । वर्षौं अघि आउनुपर्ने नागरिकता कानून हालै अध्यादेश मार्फत सार्वजनिक भएको छ ।

यो नागरिकता कानून पहिले रोकिँदा धेरै विरोध भएको थियो । अहिले जारी गर्दा पनि विरोध हुन थालेको छ । धेरै विज्ञहरूको राय छ, यो कानून आए पछि नेपाली नागरिकता लिने विदेशीहरूको संख्या ह्वात्तै बढ्ने छ रे ! त्यसैले यो कानून बनाउनु हुँदैन रे !

शायद होला । किन पनि होला भने कुनै बेला स्वयम् प्रधानमन्त्री केपी ओली आफै पनि यो कानून आए पछि नेपाली नागरिकता लिने विदेशीको संख्या ह्वात्तै बढ्छ है भन्नुहुन्थ्यो । अहिले उहाँ आफैले यो कानून ल्याउनुभएको छ । किन होला ?

कारण हो, चुनाव । उहाँले मध्यावधि चुनावको घोषणा त गरि नै सक्नुभएको छ । तर चुनाव मात्र घोषणा गरेर के गर्ने ? चुनावमा भोट हाल्ने मतदाता पनि त चाहियो नि । अनि मतदाता चाहिए पछि यस्तो कानून नल्याएर भयो ? देशभर लकडाउन छ ।

नेपाली जनता त शायद भोट हाल्न पनि आउँदैनन् होला । अनि नेपाली जनताले भोट नहाले पछि भोट होल्ने कोही मान्छे त चाहियो नि । त्यो कहाँबाट ल्याउने ? यही अध्यादेशबाट ल्याउने । कुरो बुझ्नुभयो ?

टिप्पणीहरू