बिभिन्न अपराध र दुर्घटना

बिभिन्न अपराध र दुर्घटना

धनुषामा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।

जनकपुर उपमहानगरपालिका–११ का रामजतन मण्डलको घरमा तास खेलिरहेको अवस्थामा स्थानीय राम सोगारथ यादवलगायत ७ जना बुधबार राति पक्राउ परेका हुन् ।

यादवको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ८१ हजार ५ सय रुपैयाँ र ताससहित पक्राउ गरेको हो ।

हँसियाले हानेर बाउले छोरा मारे

बाँकेमा हँसिया प्रहार गरेर बाँकेमा बाउले छोरोको ज्यान लिएका छन् ।

कोहलपुर नगरपालिका–१२ चप्परगौडीका ५० वर्षीय ठाकुरप्रसाद वलीले हँसिया प्रहार गरेर २० वर्षीय छोरा पोषण वलीको ज्यान लिएका छन् ।

घरायसी वादविवादमा ठाकुर वलीले हँसिया प्रहार गर्दा पोषण गम्भीर घाइते भएका थिए । उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पठाए पनि उपचारको क्रममा पोषणको मृत्यु भएको हो । अभियुक्त ठाकुरप्रसादलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ४ जनाको मृत्यु

नवलपरासी,कालिकोट,दोलखा र पाँचथरमा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको छ । तीमध्ये दुई जनाको सवारी दुर्घटना तथा दुईको लडेर मृत्यु भएको हो ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१,चिनी मिल अगाडि सडकमा लु.१२ प १९५१ नम्बरको मोटरसाइकलले साइकललाई बुधवार राति ठक्कर दिँदा साइकलयात्री सोही नगरपालिका–३ कीर्तिपुरका ५७ वर्षीय पर्शुराम गुरुङको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मर्सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता कालिकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा भे.१ क १११४ नम्बरको स्काभेटरको चेनमा च्यापिएर स्थानीय रामबहादुर कठायतका ४ वर्षीय छोरा नेमार कठायतको घटनास्थलमै मृत्यु भएको छ ।

दोलखा र पाँचथरमा भने लडेर दुई जनाको मृत्यु भएको छ । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारे बस्ने ७३ वर्षीय वीरबहादुर तामाङको रुखबाट लडेर मृत्यु भएको छ ।

आफ्नै बारीको रूखमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका वीरबहादुरको चरिकोट अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

त्यस्तै,पाँचथरको फिदिम नगरपालिका–१ ठाडो लाइन बस्ने बसन्त राईको २१ महिनाका छोरा अनमोल राईको घरको छतबाट लडेर मृत्यु भएको छ ।

छतबाट लडेर गम्भीर घाइते भएका बालकको जिल्ला अस्पताल पाँचथरमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड लगे पनि उपचारको क्रममा मृत्यु भएको थियो ।

टिप्पणीहरू