क-कसको इगोले सेक्यो ईश्वरलाई ?

क-कसको इगोले सेक्यो ईश्वरलाई ?

पार्टीमा आलोचना गर्नेहरु साइड लाग्दा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली उहाँको पार्टीमा सर्वमान्य नेताका रुपमा स्थापित हुनुहुन्छ । ओलीले नेतृत्व गरेको एमालेमा अहिले उहाँले जे चाह्यो त्यहि हुन्छ । अर्थात् ओलीका विरुद्ध फरक मत राख्ने झिनो गुन्जायससम्म त्यहाँ बाँकी छैन ।

एमालेले ओलीमा यतिधेरै शक्ति केन्द्रीकरण गरेको छ,जसले गर्दा कम्युनिष्ट पार्टीले अभ्यास गर्दै आएको जनवाद केवल देखाउने दाँत बनेको छ । ओलीलाई आफ्नो स्वविवेकले निर्णय गर्न सक्ने गरी केन्द्रीय कमिटी तथा मातहतका कमिटीमा सदस्यहरूको बिदाइ, मनोनयन तथा कारबाही,निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पत्राचार गर्ने अधिकार सुम्पिइएको छ ।

त्यस्तै, सांसदहरुलाई मन लागेका बेला कारवाही गर्न सक्ने,बिभिन्न नियुक्तिहरुमा उहाँले चाहेजस्तो गर्न सक्ने,कसलाई कता हटाउने, कता मिलाउने सबै निर्णयको एकाधिकार पार्टीले ओलीलाई दिएको छ ।

कम्युनिष्ट पार्टीमा यसरी अध्यक्षलाई असिमित अधिकार सुम्पिंदा पनि एमालेका दोस्रो,तेस्रो तहका नेताहरु निरिह देखिएका छन् । बरु त्यहाँ बालुवाटारको परिक्रमा गरेर माथि उक्लिने प्रतिस्पर्धा चलिरहेको छ ।

ओलीपछिको दोस्रो वरियतामा अहिले उपप्रधानमन्त्री तथा महासचिव ईश्वर पोखरेल हुनुहुन्छ । त्यसपछि सुवास नेम्वाङ र बादल । तर,ओलीपछिको नेता को भन्नेमा पोखरेल र नेम्वाङबीच अघोषित प्रतिस्पर्धा बेलाबेला प्रकट हुँदै आइरहेको छ ।

पछिल्लो समय ओलीको मायाको तराजु नेम्वाङतिर बढी ढल्केकाले पोखरेलले एकपछि अर्को जिम्मेवारी गुमाउनुपरेको एमाले वृत्तमा चर्चा छ । शुरुमा पोखरेललाई रक्षा मन्त्रालयबाट बिदा गरेर प्रधानमन्त्रीको कार्यालय हेर्ने गरी विना विभागीय बनाई थन्क्याइएको थियो ।

अहिले फेरि कोरोना महामारी उच्च बिन्दुमा पुगेका बेला कोभिड १९ संकट व्यवस्थापन (सीसीएमसी) को निर्देशक समितिको नेतृत्वबाट पोखरेललाई पाखा लगाइएको छ । नेम्वाङले प्रधानमन्त्रीलाई कन्भिन्स गराएर ‘कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गराई पोखरेललाई फालिएको जानकार स्रोत बताउँछ ।

पोखरेलको ठाउँ खालि गराएर प्रधानमन्त्री आफैंले सीसीएमसीको निर्देशक समितिको नेतृत्व लिनुभएको छ । आफैँ संयोजक रहेको समितिमा पोखरेलले भने अहिले सदस्यमा खुम्चिनुपरेको छ ।

प्रधानमन्त्रीको कोर टीममा नेम्वाङ र बिष्णु पौडेल हावी हुँदा पोखरेलको जिम्मेवारी खोसिंदै गएको निकट स्रोत दाबी गर्छ । शक्ति केन्द्रित गर्न संधै लालायित हुने ओलीलाई उकासेर पोखरेलले लिएका सबै जिम्मेवारी प्रधानमन्त्रीमा थुपार्न नेम्वाङले नै रोल खेलेको आरोप छ ।

टिप्पणीहरू