निषेधाज्ञामा गरिवलाई दु:ख परे १०३ (भिडियोसहित)

निषेधाज्ञामा गरिवलाई दु:ख परे १०३ (भिडियोसहित)

काठमाडौं जिल्लामा निषेधाज्ञा पूर्णरुपमा कार्यान्वयन भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभएको छ ।

बुधबार काठमाडौंको नागढुंगा नाका अनुगमन गर्दै पराजुलीले अत्यावश्यकबाहेकका सवारी साधन नचलेकाले निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको बताउनुभएको हो ।

जेठ १४ गतेदेखि २० गतेसम्म थपिएको निषेधाज्ञालाई थप कडाई गर्ने आदेश भएको सन्दर्भमा उहाँले अति विपन्न परिवारलाई बिहान बेलुकीको छाक टार्न काठमाडौं महानगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउने प्रबन्ध मिलाइएको बताउनुभयो ।

सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ नम्बरमा फोन गरेर समस्या राखे तत्काल समाधान गरिने पनि उहाँले बताउनुभयो । त्यसैगरी सरकारी संयन्त्र खाद्य संस्थान र साल्ट ट्रेडिङमार्फत् पनि बिक्री वितरणको व्यवस्था मिलाइएको उहाँले उल्लेख गर्नुभयो ।

पराजुलीले कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र,राधास्वामी सत्संग ब्यास नेपाल र मनमोहन अस्पतालमा निर्माण भइरहेको आइसोलेसन सेन्टरको अवलोकनसमेत गर्नुभएको थियो ।

काठमाडौंमा एक हजार बेडको आइसोलेसन सेन्टर बनाउने मन्त्रीपरिषद्को निर्णयअनुसार विभिन्न स्थानमा सेन्टर व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । पराजुलीले भन्नुभयो ‘कोरोना संक्रमणदर बढेको कारण निषेधाज्ञा गर्नुपरेको हो । सर्वसाधारणलाई दुःख दिने मनशाय छैन ।’

टिप्पणीहरू