दूतावासको आडमा गरिबसँग निर्मम असुली

दूतावासको आडमा गरिबसँग निर्मम असुली

नक्साल,हात्तीसारको सोसाइटी ट्राभलले भारतीय यात्रुसँग अत्याधिक रकम लिएर साउदी अरेबिया पठाएको पाइएको छ ।

उक्त ट्राभलले साउदी अरब जाने भारतीय यात्रुसँग प्रतिव्यक्ति १ लाख ६० हजारसम्म असुलेको पाइएको हो ।

जबकि नेपाल सरकारले भने नेपालमा अड्किएका भारतीय यात्रुलाई साउदी अरब जाने प्रयोजनका लागि अघिल्लो साता १० वटा उडानको अनुमति दिएको थियो । अनुमति दिँदा साउदी अरबका तीन शहर जानका लागि अधिकतम ९८ हजार ५ सय रुपैयाँसम्म शुल्क तोकेको थियो ।

नेपाल सरकारसँग समन्वय गरी दुईवटा नेपाली एअरलाइन्सलाई शुल्कको अधिकतम सीमासहित उडान अनुमति दिएको भएपनि भारतीय दूतावासका कर्मचारी र केही ट्राभल एजेन्सीको मिलेमतोमा यात्रुबाट अत्याधिक चर्को शुल्क लिइएको आरोप छ ।

भारतीय दूतावासकै फेसबुक पेजमा विज्ञापन गर्न लगाएर सोसाइटी ट्राभलका सञ्चालक सुनिल शर्माले राम्रो कमाइ गरेका हुन् ।

भारतीय दूतावासको आधिकारिक फेसबुक पेज h india in Nepal (Embassy of India Kathmandu) मा मे १७ को साँझ ६ः०८ मा एउटा पोष्ट गरिएको छ । जसमा भारतीय नागरिकका लागि साउदी अरब जाने चार्टर फ्लाइटबारे उल्लेख छ । उक्त पोष्टमा साउदी अरब जान योग्य व्यक्तिले नेपाल एअरलाइन्सबाट जाने हो भने सुनिल शर्मा र उनको मोबाइल ९८०१०२१५५५ र हिमालय एअरलाइन्सबाट जाने हो भने सुनिता महर्जन ९८०१०५५७०६ मा सम्पर्क गर्न भनिएको छ ।

जबकि सुनिल शर्मा भनेर नाम दिइएको व्यक्ति नेपाल एअरलाइन्सका कर्मचारी नभएर हात्तीसारस्थित सोसाइटी ट्राभल्सका सञ्चालक हुन् । त्यसैगरी सुनिता महर्जन पनि सोसाइटी ट्राभल्सकै कर्मचारी हुन् ।

हाल नेपाल सरकारले साउदी अरबका लागि थप चार्टर उडानको अनुमति नदिएको भएपनि अहिले यो ट्राभल एजेन्सीले यात्रुको बुकिङ भने लिइरहेको छ । अब फेरि पनि चार्टर फ्लाइट खुल्ने भन्दै उनीहरुले यात्रुलाई बुकिङ गर्न भनिरहेका छन् ।

सोसाइटी ट्राभल्सले गतवर्ष पनि जापानबाट नेपाली यात्रु ल्याउने प्रयोजनका लागि नेपाल एअरलायन्सको जहाज चार्टर गरेको थियो । उक्त समयमा यात्रुबाट अत्याधिक शुल्क लिएको प्रमाणित भएपनि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गरी पछि उध्दार उडान नै रद्द गरिदिएको थियो ।

नेपाल एअरलाइन्सले आफ्नो काउण्टरबाट नै टिकट काटी सहजता प्रदान गरेको भएपनि सोसाइटी ट्राभलले यात्रुसँग महङ्गो शुल्क लिएर टिकट काटिरहेको छ । जबकि सोसाइटी ट्राभललाई नेपाल एअरलाइन्सले टिकट काट्ने अनुमति नै दिएको छैन ।

त्यसैगरी हिमालय एअरलाइन्सले पनि आइटामा आवद्ध सबै ट्राभल एजेन्सीहरुलाई टिकट काट्न मिल्ने गरी खुला गरेको सूचना प्रकाशन गरेको छ । तर आइटाको सिस्टममा साउदी अरब जानका लागि प्रतिव्यक्ति १ हजार ६ सय अमेरिकी डलर अर्थात् १ लाख ८७ हजार मूल्य राखिएको छ ।

नेपाल सरकारले तोकेको मूल्य भने १ लाख रुपैयाँभन्दा तल छ । यद्यपि ट्राभल एजेन्सीसँगको सेटिङमा हिमालय एअरलाइन्सले सबैलाई खुल्ला गरेकोजस्तो देखाएपनि सोसाइटी ट्राभलसँग मिली प्रतियात्रु ८ सय अमेरिकी डलरमा टिकट विक्री गरिरहेको छ । ८ सय डलरको नेपाली मूल्य ९३ हजार रुपैयाँ मात्रै हुन्छ ।

कूटनीतिक नियोगको फेसबुक पेजमा किन निजी ट्राभल एजेन्सीको नाम र मोबाइल नम्बर राखेर विज्ञापन गरिएको हो भन्ने प्रश्नमा दूतावासका सञ्चार हेर्ने सचिवले यसबारे आफूलाई केही जानकारी नभएको र किन त्यस्तो भएको हो बुझेर मात्रै जवाफ दिन सक्ने बताए ।

यद्यपि सोसाइटी ट्राभलका सञ्चालक सुनिल शर्मा भने अहिले पनि दूतावासले भारतीय नागरिकलाई साउदी उडाउनका लागि आफूलाई अनुमति दिएको र त्यसका लागि नेपाल एअरलाइन्स र हिमालय एरअलाइन्सले चार्टर फ्लाइटको जिम्मा आफूलाई दिनुपर्ने भन्दै दिनहुँ नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको कार्यालय धाउने गरेका छन् ।

टिप्पणीहरू