एनआरएनए युएईद्वारा खाद्यान्न सहयोगलाई निरन्तरता

एनआरएनए युएईद्वारा खाद्यान्न सहयोगलाई निरन्तरता

युएईमा समस्यामा परेका नेपालीहरुलाई एनआरएनए युएईले खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै आएको छ ।

महामारीका कारण प्रभावित भएका नेपालीहरुलाई जेठ ७ गतेदेखि एनआएन युएईले सहयोगी हात अगाडि बढाएकोमा उक्त कार्यलाई निरन्तरता दिदैँ आएको बताइएको छ ।

संस्थाले अबुधाबीको मफरकमा रहेकोे एक कम्पनीमा कार्यरत ८० जना नेपाली कामदारलाई जेठ ७ गते खाद्यान्न सहयोग गरे लगत्तै अबुधाबी, अलएन र दुबईमा चार समुहका १५ जना नेपाली कामदारहरुलाई खाद्यान्न वितरण गरेको हो । अलएनको एक निर्माण कम्पनीको मालिक फरार भएका कारण बिचल्लीमा परेका ५ नेपाली कामदार, मुसाफाको सेक्युरिटी कम्पनीका ६ जना गार्ड, दुबईको सेक्युरिटी कम्पनीका २ जना र भिजिट भिसामा अबुधाबीको लाइफलाइन एरियामा रहेका एक नेपालीलाई सहयोग गरेको हो ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मिडिया टास्क फोर्स सदस्य रामप्रसाद ढुंगेलले बताए अनुसार राहत वितरणको कार्यलाई निरन्तरता दिइएको छ ।

आइसिसी मिडिया टास्क फोर्स सदस्य समेत रहेका ढुंगेलको उपस्थितिमा राहत वितरण कार्यक्रम भएको बताइएको छ । उक्त कार्यबाट लाभान्वित भएकाहरुले एनआरएनए युएईसमक्ष नेपाल फर्कन समेत सहयोग गर्न आग्रह गरेका छन् ।

पीडित नेपाली कामदारहरुले एक वर्ष अगाडिदेखि भिसा सकिएको र आफुहरु कामविहीन भएको बताउँदै काम गरेको ५ देखि ६ महिनाको तलब समेत नपाएका गुनासाहरु पनि एनआरएनए युएईसमक्ष राखेका बताइएको छ ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तरगत बैदेशिक रोजगार तथा कल्याणकारी बिभागको संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा युएईमा संचालित राहत तथा उद्दार परियोजनाअन्तर्गत जेठ १० र ११ गते राहत स्वरूप खाद्यान्न वितरण गरिएको एनआरएनए युएईका सहकोसाध्यक्ष तथा अबुधाबी क्षेत्रका राहत वितरण संयोजक फडिन्द्र ढकालले जानकारी दिएका छन् ।

राहत पाएपछि पीडित नेपाली युवाहरुले एनआरएनको नाम सुने पनि यो संस्थाले सामान्य तहका नेपालीहरुको दुःखमा साथ दिएको प्रतिक्रिया दिएका छन् ।

छोटो समयमा धेरै मात्रामा राहत व्यवस्थापन गर्न निकै मिहिनेत गर्नुपरेको एनआरएनए युएईका सहकोसाध्यक्ष तथा अबुधाबी क्षेत्रका राहत वितरण संयोजक फडिन्द्र ढकालले बताएका छन् ।

युएईमा काम गर्ने सिलसिलामा श्रम सम्बन्धि कुनै पनि समस्या उत्पन्न भएमा समाधानको लागि एनआरएनए युएईको सम्पर्कमा आउन एनआरएनए युएईले आग्रह गरेको छ भने विश्वका ८२ भन्दा बढी देशहरुमा एनआरएनएको रहेको बताइएको छ ।

टिप्पणीहरू