अध्यादेशअनुसार काम गर्न प्रधानमन्त्रीको उर्दी

अध्यादेशअनुसार काम गर्न प्रधानमन्त्रीको उर्दी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेशअनुसार कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न क्राइसिस म्यानेजमेण्ट कोअर्डिनेशन सेण्टर (सीएमसीसी) लाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहेको उक्त सेन्टरको निर्देशक समितिको मंगलबार साँझ बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले आवश्यक ऐन,नियमको अभावका कारण समस्या भए पनि अब सबै समस्याको सम्बोधन भएकाले ढिला गर्ने छुट कसैलाई नभएको भन्दै ‘एक्सन’ मा जान केन्द्रलाई निर्देशन दिनुभएको हो ।

उहाँले कोभिड १९ नियन्त्रण र सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताको समाधान गरेको उल्लेख गर्दै केन्द्रलाई तदारुकताका साथ काम अघि बढाउन निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दे उहाँले भन्नुभयो “जहाँबाट ल्याएर भए पनि नागरिकलाई खोप दिनुपर्छ । खोपको प्रभावकारिता देखिएकाले पहिलो प्राथमिकता भनेकै खोप हो ।’

सेण्टरको पहिलो बैठकमा निर्देशक समितिका सबै पदाधिकारीको उपस्थिति थियो । सोमबार सरकारले केन्द्रको प्रमुख कार्यकारी अधिकृतमा अवकाशप्राप्त रथी बालानन्द शर्मालाई नियुक्त गरेको थियो ।

उहाँले मंगलबारदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्दै बैठकमा समेत सहभागी हुन थाल्नुभएको छ ।

टिप्पणीहरू