म्याग्दीको पनि गाउँ गाउँमा संक्रमण,अवस्था भयावह हुनसक्ने

म्याग्दीको पनि गाउँ गाउँमा संक्रमण,अवस्था भयावह हुनसक्ने

निषेधाज्ञाको कारण शहर र बजारमा कोरोना संक्रमण बढ्न नपाए पनि गाउँमा अवस्था खराब हुँदै गएको छ । केही दिनअघिसम्म मुलुकका शहर र बजारमा मात्र संक्रमणदर उच्च देखिएकोमा अहिले त्यसको ठीक विपरित गाउँ गाउँमा देखिन थालेको छ । म्याग्दीका कुनै गाउँमा ८५ प्रतिशतसम्म संक्रमण फेला परेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार सदरमुकाम बेनी बजार बाहेकका क्षेत्रमा संक्रमणदर उच्च देखिएको छ । जनआस्थासँगको कुराकानीमा अधिकारीले आठ देखि नौ दिनको बीचमा परीक्षण रिपोर्ट आउँदा संक्रमणदरमा बृद्धि भएको बताउनुभयो ।

‘समुदायस्तरमा विवाह,ब्रतबन्ध,पूजापाठ,मगर समुदायको मृत्युसंस्कारमा बढी सहभागिता हुने गरेकाले संक्रमणदर बढेको अधिकारीको भनाई छ ।’

हाल जिल्लामा आधिकारिक ५ सय ३२ जना सक्रिय संक्रमित रहेको र दोस्रो लहरमा ९ जनाको ज्यान गएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको संख्या जिल्लाभित्र परीक्षण गरेर जिल्लामै मृत्यु भएकाको मात्रै हो । म्याग्दीका २० जनाभन्दा बढिले जिल्ला बाहिर ज्यान गुमाएका छन् ।

समुदायस्तरमा अझै संक्रमणदर बढ्नसक्ने भएकाले समुदायस्तरमा नै परीक्षण बढाइएको उहाँले बताउनुभयो । पछिल्लो समय समुदायस्तरमा विवाह,ब्रतबन्ध,पूजापाठ,मगर समुदायको मृत्युसंस्कारमा बढी सहभागिता हुने गरेकाले संक्रमणदर बढेको अधिकारीको भनाई छ । त्यसैले जिल्लाका केही पालिकाहरू सिल गर्न थालिएको प्रमुख जिल्ला अधिकारीले बताउनुभएको छ ।

बैसाख २२ गतेदेखि जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञामा पसल,सार्वजनिक यातायात पूर्णरुपमा ठप्प भएपनि राष्ट्रिय गौरवका आयोजना भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न दिइएको छ । हाल जिल्लामा ३५ बेडसहितको एचडीयु अस्पताल सञ्चालनमा छ भने महामारी न्यूनीकरणका लागि प्रत्येक पालिकामा अक्सिजनसहितको अस्पताल रहेको बताइन्छ ।

टिप्पणीहरू