अवैध सम्बन्धले बैध सन्तान जन्माउन्न

अवैध सम्बन्धले बैध सन्तान जन्माउन्न

-समाजवादी केटो

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भयो । त्यतिबेला ६७ दिनसम्म सडकमा लाखौं मान्छे उत्रिए । अदालत,मिडिया, बौध्दिक वर्ग सबैको ऊर्जा त्यसविरुध्द खर्चियो । ती सबै आवाजको परिणाम सर्वोच्च अदालतले फागुन ११ गते प्रधानमन्त्रीको कदम असंवैधानिक प्रमाणित गरिदियो । तर,त्यसयता पनि काम असंवैधानिक,आचरण अलोकतान्त्रिक तर त्यही काम गर्ने व्यक्तिचाहिँ लोकतान्त्रिक हुने अनौठो भाष्य निर्माण गरिएको छ ।

प्रधानमन्त्री ओली आफ्नो कदम हरतरहले सही सावित गर्ने दाउ पर्खी बसेका थिए भन्ने कुरा उनका एकपछि अर्को कदमले पुष्टि गरिसकेको छ । ओलीलाई राष्ट्रपति आफ्नो पक्षमा भएकोले यी सबै कर्म गर्न सहज थियो । सार्वजनिक सपथमै ‘त्यो पर्दैन’ जस्तो निर्देशनात्मक शैलीमा भन्दा समेत ‘हि हि’ भनेर टार्नुभन्दा अर्को नैतिक र राजनीतिक उचाई राष्ट्रपतिसँग छैन भन्ने थाहा भएर नै ओलीमा एकपछि अर्को कदम चाल्न बल पुगिरह्यो ।

“फागुन ११ गते पछि पनि काम असंवैधानिक,आचरण अलोकतान्त्रिक तर त्यही काम गर्ने व्यक्तिचाहिँ लोकतान्त्रिक हुने अनौठो भाष्य निर्माण गरिएको छ ।”

यसका अतिरिक्त मुखले ‘बालुवाटारमा जति बालुवा पेले पनि तेल निस्किदैन’ भन्ने तर व्यवहारमा जोखिम मोल्न नसक्ने पार्टीभित्रैका दुई दुई जना वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री,अन्य बौध्दिक भनिएका नेताहरु, सडकमा जति कराए पनि सदनमा तीन पार्टी मिल्दा पनि आफ्नो दलभन्दा बढी संख्या पुर्याउन नसक्ने अंकगणितका कारण ओली उत्साहित भैरहे । यही कारण पार्टीभित्र महेश बस्नेत, गोकुल बाँस्कोटा हावी भए ।

देशमा जति असंवैधानिक काम गरेको भनिए पनि ओलीको रजगज चलिरहै छ । संसदमा कम्युनिष्टहरुको संख्या खण्डित गर्नकै लागि कम्युनिष्ट भनिएका ओलीलाई नै प्रयोग गरेका कारण महन्त र राजेन्द्र निर्णायक बनिरहे । यी सबैको गठजोडबाट ज्येष्ठ ७ गते फेरि संसद विघटन गरियो ।

“अरुको उक्साहटमा कम्युनिस्ट स्खलित भएको हेर्न चाहने ठाकुर र महतो प्रभृति तथा कम्युनिष्टको सिध्दान्त पढिरहने तर संसदमा एकबाहेक दुई संख्यासमेत थप्नै नसक्ने बिजुक्छे प्रवृतिले प्रधानमन्त्री ओलीको जालझेलमा थपडी बजाइरहेका छन् । त्योबाहेक सिंगो देश यसको विरुध्दमा छ ।”

अघिल्लो पुस ५ को कदमजस्तै अहिले पनि यो कदमलाई कि ओलीविना आफ्नो भविष्य छैन भन्ने निष्कर्षमा पुगेका नूनको सोझो गर्नेहरु या त नेपालको संसदमा अहिलेको अवस्थामा कम्युनिष्टहरुको उपस्थिति नहोस् भन्ने शक्तिको उक्साहटमा उत्साहित ठाकुर र महतो प्रवृति तथा कम्युनिष्टको सिध्दान्त पढिरहने तर संसदमा एकबाहेक दुई संख्यासमेत थप्नै नसक्ने बिजुक्छे प्रवृतिले प्रधानमन्त्री ओलीको जालझेलमा थपडी बजाइरहेका छन् । त्योबाहेक सिंगो देश यसको विरुध्दमा छ ।

ओलीको बलमिच्याई,अहिलेको राजनीतिक परिवेश र कोरोना कहरले सृजित सामाजिक दुरावस्थाका कारण पनि उनको दावीलाई सही भन्ने ठाउँ छैन । कोरोना कहर छ । अक्सिजन उपलब्ध नभएर दिनप्रतिदिन सयौं नागरिकको एकहिसावले हत्या भइरहेको छ । खोपमा दानको आशा गर्नेबाहेक उपाय छैन । जनता रोग र भोकले तड्पिरहेका छन् । जनता जोगाउन विदेशीहरुलाई सहयोगको याचना गर्नुपर्ने अवस्था छ । हाम्रो ढुकुटीले महामारीलाई धान्ने अवस्था छैन तर ४० अर्बसम्म खर्च गर्ने चुनावका लागि ओली तयार छन् ।

“जनताको दु:खमा केही नबोल्ने शीतलनिवास प्रधानमन्त्री ओलीको दु:ख निवारणका लागि रातभर जाग्राम बस्छ । ओलीको विपक्षमा र संसदलाई जीवित राख्नका लागि समावेदन लिएर जाने अरु माननीयका लागि त्यहाँको ढोका ५ बजे नै बन्द हुन्छ ।”

कुनै पनि देश व्यक्तिको स्वविवेकीय निर्णयले चल्न सक्दैन । त्यो देशमा बस्ने हरेक नागरिक र अझ भनौं अहिलेको भूमण्डलीकृत संसारमा शुभेच्छा राख्ने सबैले थाहा पाउने गरी निर्णय हुनुपर्दछ । विधि,पध्दति, न्यूनतम नैतिक आचरणहरुले शासकका हरेक कर्मको पुष्ट्याइँ गर्नु पर्दछ ।

तर,अहिले देशलाई एउटा कम्पनी,यहाँको संविधानलाई कम्पनीको प्रबन्ध पत्र र त्यसको मालिकका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली तथा अंशियारका रुपमा ओलीको जयजयकार गर्ने केही थान मन्त्री, गुटका केही नेताहरु मात्रै हुन्, उनीहरुले जतिबेला जे लाग्यो त्यही गर्न पाउँछन् भन्ने गरी काम भइरहेका छन् । यो दुर्भाग्य हो आम नागरिकको ।

“यदि धारा ७६ (३) को प्रधानमन्त्री हुन् भने उनले कसरी प्रतिनिधिसभा विघटन गर्न पाउँछन् ? धारा ७६ (५) को प्रधानमन्त्री हुन् भने कहिले र कसरी नियुक्ति पाए ?”

जनताको दु:खमा केही नबोल्ने शीतलनिवास प्रधानमन्त्री ओलीको दु:ख निवारणका लागि रातभर जाग्राम बस्छ । ओलीको विपक्षमा र संसदलाई जीवित राख्नका लागि समावेदन लिएर जाने अरु माननीयका लागि शीतलनिवासको ढोका ५ बजे नै बन्द हुन्छ ।

“दुईतिहाई जनमतलाई खण्डित गरेको नेताले चुनाव केका लागि गर्छ ? एउटा जनताको प्रतिनिधिलाई मतपेटिका महत्वपूर्ण हुन्छ कि प्राणरक्षक भेण्टिलेटर ?”

तर,प्रधानमन्त्री ओलीका लागि त्यहाँको ढोका रातबिरात खुल्छ । ओलीको स्वार्थमा प्रयोग हुनेहरुलाई पहिले दूतावासलाई सोधेर त्यसपछि गणतन्त्रको पवित्र सर्वोच्च संस्थामा छिर्न कुनै रोकतोक हुँदैन, राती ११ बजेपछि पनि चिया पाक्छ । संविधानको रक्षा गर्ने दायित्व बोकेको संस्था केवल प्रधानमन्त्री ओलीका लागि जीवित रहेको भान आम नागरिकले गर्दा पनि त्यो संस्थामा बस्नेहरुलाई कुनै लज्जाबोध हुँदैन । यो गणतन्त्रको प्रतिकका रुपमा कल्पना गरिएको संस्थाबाट हुने शोभनीय कार्य होइन तर भइरहेकै छ । यो अर्को दुर्भाग्य हो ।

‘अमेरिकामा पनि चुनाव भयो नि ! ६ लाख मान्छे मरेर के भो त? के कोरोना कालमा खर्च हुँदैन,अहिले भात खानुपर्दैन ? नखाए भयो नि त’ भनेर मजाक गर्नेहरुका लागि जनताले किन मत दिने ? “

संवैधानिक हिसावले अहिले पनि प्रधानमन्त्री ओलीको कदम सही पुष्टि हुने कुनै आधार छैन । प्रधानमन्त्री ओली संविधानको धारा ७६ (३) को प्रधानमन्त्री हुन् कि धारा ७६ (५) यदि धारा ७६ (३) को प्रधानमन्त्री हुन् भने उनले कसरी प्रतिनिधिसभा विघटन गर्न पाउँछन् ? धारा ७६ (५) को प्रधानमन्त्री हुन् भने उनले कहिले र कसरी नियुक्ति पाए ? एकाध घण्टाअगाडि मसँग ९३ सांसदभन्दा बढ्ने कुनै अवस्था छैन भन्ने र त्यसपछि आफूसँग १५३ जना छन् भनेर दावी गर्ने प्रधानमन्त्रीले धारा ७६ (५) अनुसारको प्रक्रिया पूरा नगरी कसरी संसद विघटन गर्न पाउँछन् ? प्रधानमन्त्रीले देश, संविधान,विश्व जगतलाई उल्लु बनाउने र राष्ट्रपतिले राष्ट्रपतीय संस्थाको दुरुपयोग गर्ने ?

“कम्युनिष्ट पार्टी छोडेको एउटा साथीले भन्थ्यो,‘कम्युनिष्ट पार्टी फुटाएर मात्रै हुँदैन,जनताको मनमनमा नेपालका कम्युनिष्टप्रति घृणा नजागेसम्म खेल भइरहनुपर्छ ।’

त्यसैले अवैध प्रक्रियाबाट निस्किएको परिणाम पनि अवैध नै हुन्छ । प्रधानमन्त्रीको कुर्चीविना बाँच्नै नसक्ने अवस्थाका ओलीविना देश बाँच्नसक्छ,अझ योभन्दा राम्ररी बाँच्नसक्छ । यो हदसम्मको फट्याई गर्ने व्यक्तिले चुनाव गर्छन् र त्यो चुनाव बैध हुन्छ भन्ने कुरा दलाइ लामाको बिस्टालाई धुप मानेर सल्काउने धर्मभिरुजस्तै ओलीको ‘आची’ लाई पनि आहा भन्नेहरु बाहेक अरुले विश्वास गर्दैनन् ।

निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो तर निर्वाचन सम्पूर्णरुपमा लोकतन्त्र हुनसक्दैन । संसारमा धेरैजसो तानाशाह निर्वाचनबाटै जन्मिएका छन् । अहिले पनि संविधान,विधि, लोकलाजसमेत नमान्ने ओली पनि त्यसैको विद्रुप रुप हुन् । दुईतिहाई जनमतलाई खण्डित गरेको नेताले चुनाव केका लागि गर्छ ? एउटा जनताको प्रतिनिधिलाई मतपेटिका महत्वपूर्ण हुन्छ कि प्राणरक्षक भेण्टिलेटर ?

यो महामारीमा जनताको ज्यानभन्दा प्रधानमन्त्री ओलीलाई कुर्ची र शक्ति प्रधान लाग्नसक्छ तर आम नेपालीलाई आफ्नो र परिवारको जीवन महत्वपूर्ण हो । ‘अमेरिकामा पनि चुनाव भयो नि ! ६ लाख मान्छे मरेर के भो त? के कोरोना कालमा खर्च हुँदैन,अहिले भात खानुपर्दैन ? नखाए भयो नि त’ भनेर मजाक गर्नेहरुका लागि जनताले किन मत दिने ?

अर्को कुरा,ओलीको राष्ट्रवाद ‘चुनावी र सत्ता’ का लागि मात्रै हो भन्ने कुरा धेरैले बुझिसकेका छन् । उनको त्यही राष्ट्रवादको चाहनामा टेकेर महन्त ठाकुर र राजेन्द्र महतोमार्फत हुर्मत लिने काम भइरहेको छ । नभए नागरिकतादेखि संविधान संशोधन,सीमादेखि नक्साबारे उनका चुनावी भाषण र अहिलेका व्यवहार तुलना गरौं । सत्ताका लागि जुनसुकै हतकण्डा अपनाउने सत्तालिप्त नेताबाट मात्रै आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भन्ने जानेको छिमेकीले यो पल्ट ओलीको राष्ट्रवादको धोती दिउँसै खुस्काइरहेको छ ।

पहिले पहिले दूतावासले राती बोलाउँथ्यो रे, ओलीको कुर्चीमोह राम्ररी थाहा पाएपछि अचेल त दिउँसै हिसाबकिताब भइरहेको छ । त्यो पनि आम जनताले देख्ने गरी मिडियालाई भनिवरी । दिनमा दुईचोटी दूतावासमा सल्लाह गर्ने, त्यहाँबाट कहिले सिधै बालुवाटार त कहिले शीतलनिवास पुगेर हल्ला गर्ने महन्त र महतोका क्रियाकलाप यसकै उपज हुन् ।

ओलीलाई नक्सा लुकाउने,संसदले पारित गर्न नसक्ने नागरिकतासम्बन्धी प्रावधान अध्यादेशमार्फत लागू गराउने,चाहेको गर्छु भनेर संविधान संशोधनको वचन दिने र त्यसको बदलामा महन्तलाई अरुले प्रधानमन्त्री दिन्छु भन्दा पनि ओली नै गज्जव भन्न लगाउने कारण त्यसैको परिणाम हो भन्ने व्यापक चर्चा छ ।

यति भनिसकेपछि अचेल कम्युनिष्ट पार्टी छोडेको एउटा साथीले भन्थ्यो,‘कम्युनिष्ट पार्टी फुटाएर मात्रै हुँदैन,जनताको मनमनमा नेपालका कम्युनिष्टप्रति घृणा नजागेसम्म खेल भइरहनुपर्छ ।’ विश्वमा नेपाल मात्रै त्यस्तो देश हो जहाँ निर्वाचनबाटै कम्युनिष्ट पार्टीले दुईतिहाई जनमत ल्यायो । यो कुरा खण्डित गर्नका लागि देशीविदेशी शक्तिले खेलिरहेकै छन्,त्यसको गोटी कम्युनिष्ट पार्टीकै नेताहरु बने । त्यसको रमिता कांग्रेसले हेरिरह्यो,यध्यपि कांग्रेसको कमजोर भूमिकाका कारण पनि अहिलेको खेल भयो भन्नेहरु छन् ।

तर,यसले कांग्रेसलाई धेरै घाटा भएको छैन । कम्युनिष्ट पार्टीभित्रको एउटा धार विचलित भए पनि माधव नेपालहरुले फागुन २३ पछि धेरैको मुटु हल्लाउने गरी कम्युनिष्ट पार्टीका पुराना नेताहरुलाई समेत संगठित गरी केही गर्छन् भन्ने सन्देश प्रवाह भएको थियो । तर, फेरि माधव नेपाल समूहलाई कमजोर बनाउन बैशाख २७ गतेको कदम चाल्न बाध्य बनाएको र अन्ततः कार्यकर्तामा पनि उनीहरुप्रतिको आस्थालाई कमजोर बनाउन सफल भएको चर्चा छ ।

जेष्ठ ७ गते राष्ट्रपतिले चालेको कदमपछि ओलीपक्षीय एमालेका नेताहरुबाटै पार्टीभित्रैकै माधव नेपाल पक्षका कारण अहिलेको यो सबै परिणाम आएको हो भन्ने अभिव्यक्तिले पनि त्यसैको पुष्टि गर्छ । धेरैले ‘हो नि माधव नेपालहरुले अहिलेको जस्तो गर्नु नै थियो भने बैशाख ३० भित्रै गरेको भए कम्तिमा अहिलेको अवस्था त आउँथे न नि !’ भन्न थालिसकेका छन् ।

संविधान नमान्ने,विधि,प्रक्रिया नहेर्ने,आफ्नो स्वार्थबाहेक केही नसोच्ने केही पात्रको निर्लज्जता छँदैछ,नेपालमा स्थिरता नचाहने, गलत कार्य गर्न कुनै पात्रलाई ढाडस दिएर उचाल्ने र थचार्ने, अहिलेको संविधान र व्यवस्थाप्रति व्यापक घृणा उत्पन्न गरी बदला लिनेहरुकै सफलता हो ।

यति मात्रै होइन ‘जुन प्रजातान्त्रिक मुलुकमा कम्युनिष्टहरुको बाहुल्यता रहन्छ त्यहाँ शान्ति,स्थिरता र समृद्धि नामक तीन तत्वको अभाव भइरहन्छ’ भन्नेहरुका अगाडि नेपालका कम्युनिष्टहरुको व्यवहार विगतदेखि आजसम्मका क्रियाकलापले पुष्टि गर्दै गएको छ । यसर्थमा अहिले जे जे भइरहेको छ यसमा खुशी हुनुपर्ने कारण केही छैन ।

सबैले समयमै स्वार्थ पूर्ति गर्नेहरुको छिर्के दाउ बुझ्न जरुरी छ । अन्यथा अवस्था नियन्त्रणभन्दा बाहिर जानसक्छ ।

टिप्पणीहरू