लागुपदार्थ ओसारपसारमा एम्बुलेन्सको दुरुपयोग, एम्बुलेन्सभित्र सय केजी गाँजा

लागुपदार्थ ओसारपसारमा एम्बुलेन्सको दुरुपयोग, एम्बुलेन्सभित्र सय केजी गाँजा

महामारी र निषेधाज्ञावीच लागुपदार्थ ओसारपसारमा एम्बुलेन्ससहित चार जना पक्राउ परेपछि एम्बुलेन्सको व्यापक दुरुपयोग भएको पाइएको छ । सुनसरी,पर्सा र बाँकेमा गाँजालगायत लागुऔषध ओसारपसारमा एम्बुलेन्स र चालक सहित पक्राउ परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका–२ बाट को.१ च ५५५९ नम्बरको एम्बुलेन्समा १ सय किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । पक्राउ पर्नेमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र सोही उपमहानगरपालिका–११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका–१ का २८ वर्षीय पोशन राई छन् ।

धनकुटाबाट भेँडेटार हुँदै धरानतर्फ आउँदै गरेको एम्बुलेन्सलाई प्रहरीले चेक जाँच गर्ने क्रममा एम्बुलेन्सको पछाडिको भागमा चार वटा झोलामा २५ केजीका दरले राखिएको गाँजा फेला परेको हो ।

उता,पर्सा र बाँकेमा पनि लागुऔषधसहित दुई बृध्द पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१७, अलौका ५० वर्षीय शेष समसुध्दिन १ सय एमएलको ८८ शिशि लागुऔषध ओनेक्ससहित सोमबार राति पक्राउ परेका हुन् ।

उनको घरमा लागुऔषध लुकाई राखेको खबर प्राप्त भएपछि प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले खानतलासी गर्दा कम्पाउण्डमा राखिएको बोरामा लागुऔषध फेला परेको हो ।

त्यसैगरी बाँकेको नरैनापुर गाउँपालिका–२ बेउचापुरबाट करिब ४७ ग्राम ब्राउनसुगरसहित स्थानीय ५५ वर्षीय नौरङ्गीलाल सुनार पक्राउ परेका छन् ।

टिप्पणीहरू