सशस्त्रमा ‘दुई डोज खोप’वाला सुरक्षित,जर्नेल भने सिकिस्त

सशस्त्रमा ‘दुई डोज खोप’वाला सुरक्षित,जर्नेल भने सिकिस्त

सशस्त्र प्रहरी बलमा कोरोनाविरुध्द पहिलो डोज लगाएकामध्ये केहीमा सामान्य लक्षण देखिएको छ । तर दुईवटै डोज लगाएकामध्ये कोही पनि आईसीयुमा नपुगेको बताइन्छ । स्रोत भन्छ,‘दुईवटा खोप लगाएकालाई संक्रमण भए पनि अहिलेसम्म आइसीयुमा जान परेको छैन । एउटा लगाएकामध्ये एकाधलाई त्यस्तो देखिएको छ । तर नलगाएको तुलनामा पहिलो डोज पनि राम्रै देखियो ।’

तर दुई वटै डोज लगाएका नेपाली सेनाका एकजना पूर्वजर्नेल भने कोरोना संक्रमणबाट सिकिस्त भएको बताइन्छ । शान्ति सेना सन्चालन निर्देशनालयमा रही दुई वर्षअघि सेवानिवृत्त भएका थापा थरका जर्नेल छाउनी अस्पतालको आईसीयुमा उपचाररत छन् । उनलाई दुई डोज खोप लगाएपछि पनि कोरोनाले सिकिस्त पारेको हो ।

अहिले पनि राजधानीका सबैजसो अस्पताल कोरोना संक्रमितले भरिभराउ देखिन्छन् । विशेषगरी सरकारी अस्पतालमा भेन्टिलेर र आईसीयुको निम्ति पालो कुुरेका सिकिस्त बिरामी ठूलो संख्यामा छन् । सबैभन्दा धेरै चाप बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा परेको बताइन्छ ।

उक्त अस्पतालमा तीन सातादेखि उपचारार्थ पत्रकार ओम शर्माको अवस्थामा निकै सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । हिजो शर्मालाई भेटेर फर्केका एकजना चिकित्सकले भने ‘अब उहाँको अक्सिजन प्रयोग दैनिक पाँच लिटरमा झरेकाले निकै राम्रो भएको छ ।’ शुरुका दिनमा शर्मा संक्रमणबाट सिकिस्त भएका थिए ।

अक्सिजन प्लान्टबाट अक्सिजन दुरुपयोग नहोस् भन्ने उद्देश्यले सशस्त्रले प्लाण्टमा चौबिसै घण्टा पहरा दिन थालेको छ । काठमाडौंमा ७ वटा र बाहिरका २९ वटा गरेर ३६ वटा प्लाण्टमा सशस्त्रले ड्युटी थालेपछि अक्सिजनको दुरुपयोग र कालोबजारीमा निकै कमि आएको बताइन्छ ।

टिप्पणीहरू