आजभोलिका श्रीमतीजी

आजभोलिका श्रीमतीजी

सुति नै रहेको थिएँ, राति अचानक निद्रा खुल्यो । पहिले त्यस्तो थिएन । सुते पछि एक निद्रा मै रात कटिसकेको हुन्थ्यो । तर हिजो मेरो मुड पनि अलि अफ थियो । त्यसो त यो कोरानाकालमा कसको पो मुड ‘अन’ छ र ?

निद्रा खुले पछि किन हो मलाई पानी खान मन लाग्यो, त्यो पनि तातो पानी । श्रीमतीलाई उठाएँ । अनि किचेनमा गएर तातो पानी ल्याइदिन अनुरोध गरेँ । श्रीमतीले ओछ्यानबाटै भनी, ‘ह्याँऽऽ यति राति कहाँ किचेन गइरहनु, उही जगको पानी खानुस् न ।’

मैले भनेँ, ‘जगको पानी चिसो छ, तातो ल्याऊ न । जाऊ ।’ श्रीमती अलिकति जंगी, ‘जान्न म, बल्ल निद्रा लाग्या छ । बरु तपाइँ नै गएर तताउनुस् पानी ।’

मलाई पनि अलिकति झ्वाँक चल्यो, भनिहालेँ, ‘कस्ती आइमाई रहिछ यो त, श्रीमती भए पछि बुढाको लानि पानी तताइदिनु पर्दैन ?’

श्रीमती पनि जुरुक्क उठी । अनि भनी, ‘श्रीमती पो हुँ त म, तपाइँकी राष्ट्रपति त होइन नि बिहान भने बिहानै, राति भने राति नै उठेर भन्या भन्या आदेश मानिराख्नलाई ।’

यति भन्दै श्रीमती फेरि घ्वाप्लाक्क सुतिहाली । उनको डायलग सुनेर मलाई चाहिँ तातो पानी खाएको होइन तातो पानी जिउमा खन्याएको जस्तो भान हुन थाल्यो ।

टिप्पणीहरू