आज दुर्घटनामा परी ३ को मृत्यु, ५ को शव फेला

आज दुर्घटनामा परी ३ को मृत्यु, ५ को शव फेला

आज देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जनाको शव फेला परेको छ । सवारी दुर्घटनामा दुई र रुखबाट लडेर एक जना गरि तीन जनाको मृत्यु भएको हो ।

आज कास्कीको माछापुच्छ«े गाउँपालिका–८ ठाटमा रिभानबाट लुम्लेतर्फ जादै गरेको ग.१४ प ९७५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्थानीय लुम्लेका १८ वर्षीय लक्की विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

काभ्रेको बनेपा नगरपालिका–१४ सिमगैरास्थित भैसीपाटीबाट सिमगैरातर्फ खेत जोत्न जाँदै गरेको हाते ट्याक्टर सडकबाट अन्दाजी २० मिटर तल खस्दा ट्याक्टर चालक वडा नं. १३ का अन्दाजी २७ वर्षीय राजेश विष्टको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै, धादिङमा रुखबाट लडेर एक युवाको ज्यान गएको छ । गल्छि गाउँपालिका–१ कल्लेरीटार बस्ने ३१ वर्षीय कृष्णबहादुर भट्टराईको रुखबाट लडेर सोमबार बिहान मृत्यु भएको हो । घरदेखि ५० मिटर टाढा बारीमा रहेको काप्रोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको बुढिगण्डकी अस्पताल गल्छिमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, आज देशभर पाँच शव फेला परेका छन् । काठमाडौं, बागलुङ, बारा, चितवन र मोरङमा गरि पाँच शव फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–८ पशुपतिस्थित किराँतेश्वर मन्दिरमा परिचय नखुलकी अन्दाजी ४६ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । बागलुङको काठेखोला गाउँपालिका–१ चनौटेका दुर्गाबहादुर थापाकी छोरी १७ वर्षीया छाया थापा स्थानीय अक्षेते खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।

उता बारा, चितवन र मोरङमा पनि एक–एक वटा शव फेला परेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू