नागरिकता अध्यादेश संविधानसम्मत ?

नागरिकता अध्यादेश संविधानसम्मत ?

संविधानको व्यवस्थाअनुरुप नै नागरिकता (पहिलो संशोधन) अध्यादेश,२०७८ आएको महान्यायाधिवक्ता रमेश बडालले बताउनुभएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा बडालले हिजो जारी नागरिकतासम्बन्धी अध्यादेश संविधानसम्मत भएको र संसदीय समितिले पास गरेका विषय मात्रै समेटेर ल्याइएको बताउनुभएको हो ।

संविधानले व्यवस्था गरे पनि २०७२ असोज ३ पछि धेरै जना नागरिकताबाट वञ्चित भएकाले अध्यादेश जारी गर्नुपरेको उहाँको जिकिर छ । बडालले हाल मुलुकभर १ लाख ९० हजार ७ सय २६ जनाले जन्मको आधारमा नागरिकता लिएको भन्दै अब उनीहरुका सन्तानले नागरिकता पाउने सम्बन्धमा स्पष्ट पार्नुभयो ।

भन्नुभयो ‘२०६३ सालको संविधान र वर्तमान संविधान जारी भएको बीचमा ज-जसले जन्मको आधारमा नागरिकता लिए, तिनका सन्तानले कस्तो नागरिकता प्राप्त गर्ने भन्ने कुरोलाई मात्रै यसले एड्रेस गर्दैछ । त्यसअन्तर्गत मुलुकभर जन्मको आधारमा नागरिकता प्राप्त गर्ने नेपालीको संख्या १ लाख ९० हजार ७ सय २६ जना देखिन्छ । ’

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको थियो ।

टिप्पणीहरू