शंकर पोखरेलको राजिनामादेखि नियुक्तिसम्मको कागजात हेर्न माग

शंकर पोखरेलको राजिनामादेखि नियुक्तिसम्मको कागजात हेर्न माग

लुम्बिनी प्रदेशसभामा विपक्षी गठवन्धनका सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामादेखि पुन: नियुक्तिसम्मको प्रक्रियामा संलग्न कागजात हेर्न पाउनुपर्ने माग गरेका छन् ।

विपक्षी गठवन्धनका दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुध्द अविश्वासको प्रस्ताव पेश भएपछि विकसित राजनीतिक घटनाक्रम संवैधानिक तथा कानुनी विषयसंग सम्बन्धित रहेकाले संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी एन २०६४ बमोजिम कागजात माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएका छन् ।

प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारीलाई बुझाइएको निवेदनमा मुख्यमन्त्री पोखरेलका विरुध्द पेश भएको अविश्वासको प्रस्ताव र त्यसमा हस्ताक्षर गर्ने सांसदहरुको व्यहोरा माग गरिएको छ । त्यस्तै,प्रदेश प्रमुखले डाकेको विशेष अधिवेशनसम्बन्धी पत्र र सोसम्बन्धी अन्य कागजात, पोखरेलले दिएको राजीनामा पत्र वा कागजातहरु,विशेष अधिवेशन अन्त्य गरेकोसम्बन्धी प्रदेश प्रमुखको पत्र माग गरिएको छ ।
यस्तै,पोखरेलले एमाले संसदीय दलको नेताका रुपमा वैशाख १९ गते प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित निवेदन दिएको र मुख्यमन्त्रीमा पुनः नियुक्त भएको कागजपत्र पनि माग गरिएको छ ।

सांसदहरुले विपक्षी गठवन्धनले कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्तिको प्रस्तावहित पेश गरेको हस्ताक्षरसहितको निवेदनलगायतका कागजात र उल्लेखित विषयमा प्रकाशित अन्य सूचना वा राजपत्रमा प्रकाशित विवरण अध्ययनका लागि दिन भनेका छन् ।

नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्री,माओवादी सचेतक पार्वती पुन,जसपा सचेतक पूमति ढेगा र जनमोर्चाकी तारा जिसीको हस्ताक्षरसहितको निवेदन आज प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिएको हो ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलको दोस्रो पटकको नियुक्ति विवादित छ । प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको दिन झिसमिसेमै राजीनामा दिएर उहाँ साँझ फेरि मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

एमालेले एकल बहुमत गुमाइसकेको अवस्थामा प्रदेश प्रमुखले राजनीतिक निकटताका आधारमा पोखरेललाई नियुक्त गरेको विपक्षी गठवन्धनको दाबी छ । विपक्षी गठवन्धनका तर्फबाट माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि मुख्यमन्त्रीको क्वार्टरमै पुगेर प्रदेश प्रमुखले पोख्रेललाई नै शपथ खुवाउनु भएको थियो ।

टिप्पणीहरू