त्यसो भएर पो आँट्नुभएछ ओलीले

त्यसो भएर पो आँट्नुभएछ ओलीले

अहिले नेपालमा कसैको निम्ति सबैभन्दा विवादित र अलोकप्रिय त कसैका निम्ति एक मात्र सुयोग्य राजनेताको रूपमा प्रधानमन्त्री केपी ओली देखिनुहुन्छ ।

दुई-दुई पटकको संसद विघटन,ओखती खरिदका अनेक प्रकरण,मन्त्रीहरुका विवादास्पद ब्यवहार,कोभिड व्यवस्थापनका कमजोरी,सँसदसङ्ग र पार्टीको आन्तरिक द्वन्द्व तथा उहाँको आफ्नै कार्यशैलीदेखि पछिल्लो समय राष्ट्रियताको सवालमा पनि ओलीको चर्को आलोचना भैरहेको छ ।

झण्डै दुई तिहाई जनमत भएको शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गरेको आरोप ओलीमाथि नै छ । कमजोरी अरुका पनि होलान् तर,अध्यक्ष र प्रधानमन्त्रीका रुपमा नेकपा विभाजनमा सबैभन्दा ठूलो दोष उहाँलाई नै जान्छ । त्यतिमात्र होइन देशको सबैभन्दा ठूलो र व्यवस्थित पार्टी एमाले पनि ओलीकै कारण विभाजन नजिक पुगेको आरोप छ ।

पार्टीभित्र मात्र होइन आमजनताका माझ पनि ओलीको लोकप्रियताको ग्राफ झरेको छ । ओलीले भन्दै आएको विकास, सम्बृध्दि र सुशासनका कुरा जनताले पत्याउन छाडिसकेका छन् । अलिअलि बाँकी रहेको राष्ट्रियताको मुध्द्दामा पनि ओली नराम्रोसँग चिप्लिसक्नुभएको छ ।

सामन्त गोयलसँग मध्यरातको अन्तरंग भेटघाट हुँदै महन्थहरुसँग सत्तास्वार्थको हिमचिम र हिजो नागरिकतासम्बन्धी अध्यादेश जारी हुँदासम्म ओलीको राष्ट्रवादको मज्जैले उत्रिसकेको छ । ओलीका लागि राष्ट्रवाद अबको चुनावी नारा नबन्ने निश्चितजस्तै छ ।

यस्तो प्रतिकूलताका बीच पनि ओली किन चुनावी रटानमा हुनुहुन्छ त ? उच्च स्रोतले दिएको जानकारीअनुसार ओलीलाई विभिन्न सरकारी संयन्त्रहरुले राष्ट्रिय अन्तराष्ट्रिय परिवेश अनुकूल बनेको रिपोर्ट सुनाएका छन् । परिस्थिति राम्रो बनेको र देशभर चुनाव जितिने रिपोर्ट सुनाइएपछि ओलीले चुनावको विकल्प देख्ने छाडेको बताइन्छ ।

मदन भण्डारी फाउण्डेसन,राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीको सुराकबाट लिइएका तथ्यांकका आधारमा व्यक्ति-व्यक्ति को-कति पपुलर छ भनेर बालुवाटारमा विश्लेषण गरिएको र त्यसैका आधारमा ओलीले १५ लाख मत सजिलै ल्याउने दाबी गरेको बताइन्छ ।

एमालेसहित सबै पार्टीको अवस्था, माधव नेपाल समूहको शक्ति र जनताको मनस्थितिसमेत विश्लेषण गरेर बालुवाटारले अहिले नै चुनावका लागि अनुकूल समय मानेको स्रोतले दाबी गरेको छ ।

बालुवाटारले केही प्रतिकूलता पनि अनुमान गरको छ । खासगरी तराई-मधेसमा आफ्नो गुमेको छवि उकास्न नसके चुनावी परिणाम प्रतिकूल हुने बुझाइका साथ अहिलेको कदम चालिएको बताइन्छ ।

हिजोमात्र महन्थहरुलाई खुशी बनाउन नागरिकता अध्यादेश ल्याएको सरकारले आजै महन्थहरुलाई महत्वपूर्ण मन्त्रालयसहित सरकारमा समेट्ने तयारी गरेको छ । स्रोतका अनुसार जेलमा रहेका सांसद रेशम चौधरीलाई शुक्रबारसम्म छोड्ने तयारी पनि अघि बढाइएको छ ।

नागरिकता अध्यादेशअनुसार तत्काल ६ लाख मधेसीले नागरिकता पाउने बाटो खुलेकाले मधेसमा गुमेको आफ्नो छवि उकासिने बालुवाटारको अनुमान छ । त्यस्तै,हृदयेश त्रिपाठीलाई छुट्टै दल खोल्न लगाउने र महन्थहरुसहितको चुनावी गठवन्धन बनाउने तयारी पनि तीब्रताका साथ अघि बढाइएको बताइन्छ ।

प्रतिनिधिसभा विघटन गर्दै राष्ट्रपतिले कात्तिक २६ र मङ्सिर ३ मा चुनाव घोषणा गरिसकेको अवस्थामा अव अध्यादेशमार्फत चुनावमुखी बजेट आउनेमा कुनै शंका छैन । यो वीचमा सबैतिर आफू अनुकूल परिस्थिति बनाउन कतैपनि विरोधीलाई ठाउँ नदिने बालुवाटारको मनोविज्ञान प्रष्टै बुझिन्छ ।

संसद विघटन भैसकेको अवस्थामा पार्टीमा पनि फरक बिचार समूहलाई आउट गर्दिने र सरकार एकलौटी ढंगले चलाउने त्यसो हुँदा कतै पनि विपक्षीको सामना गर्न नपर्ने प्रधानमन्त्रीको बुझाइ छ ।

टिप्पणीहरू