निषेधाज्ञामा कहाँ के भयाे ? अनि कस्ता कस्ता घटना र अपराध भए ?

निषेधाज्ञामा कहाँ के भयाे ? अनि कस्ता कस्ता घटना र अपराध भए ?

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ६७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक सोधपुछ पश्चात् छाडेको छ ।

नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ३ सय ७९ वटा चारपाँग्रे र १ हजार ३ सय ८८ वटा मोटरसाइकल रहेका छन् ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ७ सय ६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रमअन्तर्गत २४ हजार २ सय ६६ जनालाई सचेत गराइएको बताइएको छ ।

निषेधाज्ञालाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीब्रता दिएको छ ।

दुई नाबालकको हत्या गरेको अभियोगमा १ जना पक्राउ

बारामा दुई नाबालकको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–७ रंगपुर टोलका २५ वर्षीय फरमुल्लाह अन्सारी रहेका छन् ।

जेठ ३ गते साँझदेखि बेपत्ता भएका स्थानीय अब्दुल गफार अन्सारीका छोरा ९ वर्षीय अमान अन्सारी र ७ वर्षीय उसमान अन्सारीको सोही उपमहानगरपालिका–११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधीन भवनमा लगि मारेको अवस्थामा भोलिपल्ट शव फेला परेको थियो ।

घटना अनुसन्धानको क्रममा फरमुल्लाहको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घर भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु

प्युठानमा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

नौबहिनी गाउँपालिका–१ चौतारामा बस्ने ४० वर्षीय बोमबहादुर मल्लको घर शनिबार राति भत्किएर च्यापिँदा बोमबहादुर मल्ल, उनकी श्रीमती ३४ वर्षीया गमी मल्ल र ३ वर्षीय छोरा शिशिर मल्लको मृत्यु भएको हो ।

३ जिल्लामा ३ जना मृत फेला

दाङ, पर्सा र मकवानपुरमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

दाङको घोरही उपमहानगरपालिका–१४ झिंगैरा बस्ने २६ वर्षीय हस्तबहादुर विक सोही उपमहानगरपालिका–१५ को रतनपुर चोकस्थित खाली घरको बरण्डामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै पर्सा, बहुदरमाई नगरपालिका–२, पिपरास्थित जग्गामा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

उता मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१०, न्युरेनी जंगलमा पनि परिचय नखुलेकी महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट सिन्धुली र संखुवासभामा धनमाल जलेर नष्ट भएको छ ।

जिल्लाको सुनकोशी गाउँपालिका–१, गजुलीदह बस्ने नारायण कोइरालाको कच्ची घरमा गए राती आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा र काठपातलगायत सामान जलेर नष्ट भएको छ । आगलागीको क्षतिको विवरण हालसम्म खुल्न सकेको छैन ।

यस्तै, संखुवासभाको पाँचखपन नगरपालिका–५, अर्चले सेराबेशी बस्ने पूर्णबहादुर सारु मगरको कच्ची घरमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन, सुन, चाँदी र नगद ७० हजार रुपैयाँ समेत जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मास्कको कालोबजारी गर्ने फार्मेसी सञ्चालक पक्राउ

मास्कको कालोबजारी गरेको अभियोगमा विराटनगरस्थित अधिकारी फार्मेसीका सञ्चालक प्रकाउ परेका छन् । विराटनगर महानगरपालिका–९ का ३१ वर्षीय भुपेन्द्रनाथ अधिकारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले स्थानीय कोशी अस्पताल अगाडि सञ्चालन गरेको उक्त फार्मेसीबाट सुनसरी नगरपालिका–७ का ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८ सय ८० रुपैयाँ पर्ने सिलिकन फूल फेस मास्कलाई ८ हजार ५ सय रुपैयाँमा बिक्री गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले एक थान सिलिकन फूल फेस मास्कसहित उनलाई फार्मेसीबाटै पक्राउ गरेको हो ।

अधिकारीलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

निषेधाज्ञामा कटुवा पेस्तोलसहित तीन जना पक्राउ

सिरहाको लहान नगरपालिका–१ मटियर्वा लवटोली बस्ने २५ वर्षीय करण पूर्वेलगायत तीन जनालाई एक थान कटुवा पेस्तोल र सोही पेस्तोलको एक थान गोली सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय कृष्णटोल बस्ने ईन्द्रदेव ठाकुरको घरबाट गत वैशाख २८ गते नगद ६ लाख रुपैयाँ, २ तोला सुन र करिब २० तोला चाँदी चोरी गरी फरार रहेको घटनामा समेत उनीहरू संलग्न रहेको पुष्टि भएको छ ।

त्यसपछि फरार रहेका उनीहरूको खोजी गर्न इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले तीनै जनाको घर तलासी गर्दा पुर्वेको घरमा लुकाई राखेको उक्त हतियार फेला परेको थियो ।

महामारीमा छ जना जुवाडे जुवाको खालबाटै पक्राउ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ को बैंक चोकमा डेरा गरी बस्ने रेवत विश्वकर्माको कोठामा तास खेलिरहेको अवस्थामा स्थानीय २८ वर्षीय गणेशबहादुर शंकरलगायत छ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विश्वकर्माको कोठामा तास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, खोटाङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २० हजार ८ सय ८० रुपैयाँसहित पक्राउ गरेको हो ।

लागूऔषधसहित किशोर पक्राउ

सिरहामा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन् । सिरहा नगरपालिका–२, छोटकी टोलबाट लागूऔषध एक सय एमएलको १५ बोतल डाइलेक्स डीसी, १३ बोतल रेप्टिना र ३० ट्याब्लेट नाईट्राभेटसहित सोही स्थानीय १६ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

साईकलमा आउँदै गरेका उनलाई सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट मृत्यु, अभियुक्त प्रहरी नियन्त्रणमा

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माईती नेपाल चोक डेरा गरी बस्ने सोलुखुम्बु सोताङ गाउँपालिका–४ घर भएकी ५२ वर्षीया डोमा शेर्पाको कुटपिटबाट शनिबार राति मृत्यु भएको छ ।

डोमा र उनका पति ६३ वर्षीय क्षेत्र शेर्पाबीच विवाद हुँदा क्षेत्रले कुटपिट गर्दा डोमा घाइते भएको खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि नारायणटारस्थित शखंरापुर अस्पताल पठाएको थियो । तर उनको उपचारको क्रममा निधन भएको हो ।

थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बौद्धबाट समेत खटिएको प्रहरी टोलीले अभियुक्त क्षेत्रलाई नियन्त्रणमा आवश्यक अनुसन्धान शुरु गरेको छ ।

त्यसैगरी मादक पदार्थ सेवन गरी भएको झगडामा कुटपिट हुँदा कीर्तिपुर नगरपालिका–६, छाप बस्ने ४० वर्षीय मानबहादुर घिसिङको शनिबार राति मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी घिसिङ र सोही ठाउँ बस्ने मकवानपुर बकाया गाउँपालिका–१ घर भएका २५ वर्षीय बगतबहादुर बल बगतबीच झगडा हुँदा बगतले काठको चिरपटले प्रहार गर्दा घिसिङ र उनकी श्रीमती २७ वर्षीया माया घिसिङ घाइते भएका थिए ।

उक्त समाचार प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारार्थ कीर्तिपुर मोडेल अस्पतालतर्फ लैजाने क्रममा घिसिङको बाटोमै मृत्यु भएको हो ।

घाइते मायाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । झगडामा संलग्न बगतसहित पाँच जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू