प्रतिनिधिसभा विघटनबिरुद्ध धमाधम रीट दर्ता

प्रतिनिधिसभा विघटनबिरुद्ध धमाधम रीट दर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रोपटक संसद बिघटन गरेसँगै फेरि सबैको आशा अदालतमै केन्द्रित भएको छ ।

अस्ति शुक्रबार मध्यराती हठात प्रतिनिधि सभाको अवसान गराइएसँगै प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमविरुद्ध कानुन व्यवसायी,राजनीतिक दलका नेताहरु रिट बोकेर रामशाहपथस्थित सर्वाेच्च अदालत पुग्ने क्रम जारी छ ।

यसैबीच अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल,अधिवक्ता अमिता गौतम पौडेल र तुलसीराम पोखरेलले संयुक्त रूपमा यौटा रीट दर्ता गरेका छन् ।

ओलीको कदमविरुद्ध दर्ज भएको यो पहिलो रीट हो । उनले राष्ट्रपतिको कार्यालय,प्रधानमन्त्री केपी शर्मा ओली र कानून मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।

उनीहरुले प्रतिनिधिसभा विघटनको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन् । शुक्रवार नै एक दर्जन रीट दर्ता प्रक्रियामा रहे पनि अदालत बन्द भएका कारण दर्ता भएका थिएनन् । आजसम्ममा अरु सात वटा रिट थपिएर ती दर्ता प्रक्रियामा रहेका छन् ।

अदालतमा अहिले दिनेश त्रिपाठी,सन्तोष कोइराला लगायतका २० अधिवक्ताको रिट दर्ज हुने लाइनमा छन् । उता नेपाली कांग्रेस,माओवादी,माधव नेपाल खेमा,उपेन्द्र यादव खेमासहितका ५ दलबाट करिव १४० सांसदको हस्ताक्षर संकलन सिंहदरबारमा जारी छ । आजै ती हस्ताक्षर र नागरिकतासहित उनीहरु सर्वोच्च जाने तयारीमा छन् ।

दलहरुले दर्ता गर्ने रीटको मस्यौदा गोविन्द बन्दीहरुको टोलीले तयार पारेर सिंहदरबार पठाइसकेको जनाइएको छ ।

टिप्पणीहरू