अर्थमन्त्रीको फेसबुकमा टेण्डर आह्वानको सूचना

अर्थमन्त्रीको फेसबुकमा टेण्डर आह्वानको सूचना

अर्थमन्त्री तथा एमाले उपमहासचिव विष्णु पौडेलले आफ्नो फेसबुक पेजमा सिध्दार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा रहेको सिध्दबाबास्थित सुरुङ मार्ग निर्माणका लागि गरिएको ग्लोबल टेण्डर आह्वानलाई सेयर गर्नुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङ मार्ग निर्माणका लागि आज प्रकाशित गरेको टेण्डर उहाँले शेयर गर्नुभएको हो । असार २३ गते दिउँसो १२ बजेसम्मको समयसीमा राखेर ग्लोबल टेण्डर आह्वान गरिएको छ ।

उक्त सुरुङ पाँच वर्षमा बनाइसक्नुपर्ने गरी सीमा तोकिएको छ । बारम्बार पहिरो जाँदा सडक आवागमन नै अवरोध हुने गरेको उक्त सडक खण्डमा सुरुङमार्ग निर्माणको लागि अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ बजेट छुट्याएको थियो ।

सडक विभागका अनुसार सुरुङ मार्ग पाल्पाको सिध्दबाबा मन्दिर उत्तरतर्फ चिडियाखोलाको छेउबाट शुरु भएर दोभाननजिकै रामापिथेकस पार्कको उत्तरमा निस्कनेछ ।

करिब ५ किमि लामो सुरुङमार्ग आयोजनामध्ये १ हजार १ सय २६ मीटरको सुरुङ,७ सय ८० मीटरको डबल लेन रक सेड हुनेछ भने माथिल्लो भागमा रक नेट,स्लोप प्रोटेक्सनलगायतका कार्यहरु हुनेछन् ।

सिध्दार्थ राजमार्ग पश्चिमको तराईलाई पश्चिमको पहाडसँग जोड्ने मुख्य मार्ग पनि हो । रमाइलो पक्षचाँहि पौडेलको फेसबुक पेज अप्डेट गरिएको छैन र आजसम्म पनि उहाँ नेपाल कम्युनिष्ट पार्टीको महासचिव नै रहेको देखिनुहुन्छ ।

फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले तत्कालीन माओवादी र एमालेमा विभाजन भएपछि नेकपाको अस्तित्व ऋषि कट्टेलको जिम्मामा गएको छ । त्यसपछि उहाँ एमालेको स्थायी समिति सदस्य हुनुहुन्छ ।

टिप्पणीहरू