सडकमा उत्रनेलाई सेक्न एक दिनअगाडि नै सर्कुलर

सडकमा उत्रनेलाई सेक्न एक दिनअगाडि नै सर्कुलर

प्रतिनिधि सभा दोश्रोपटक बिघटन गर्नु एक दिनअघि प्रधानमन्त्री ओलीले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ किन जारी गर्नुपरेको होला ?

त्यहाँ घुसाइएका बुँदा र प्रावधानहरु केलाउँदा लाग्छ- आफ्नो कदमकोबिरुद्ध सर्वसाधारण सडकमा नआउन् भन्ने उध्देश्य त होइन ?

अध्यादेशले निषेधाज्ञालाई व्यवस्थापन गर्नेबारे सम्बोधन गरेको भनिए पनि प्रतिनिधिसभा दोश्रो पटक बिघटनपछि नागरिक समाज र बुध्दिजीवीहरु सडकमा उत्रने छनक देखेपछि त्यसलाई रोक्नका लागि अध्यादेश जारी गरिएको संकेत मिलेको छ ।

बर्ष दिनअघि नै कोरोना नेपालमा भित्रियो । लकडाउन जारी भयो । यो बीचमा संक्रामक रोग ऐन २०२० अन्तर्गतको प्रावधानलाई टेकेर जरिवाना र सजाय हुँदै आएकोमा प्रतिनिधिसभा बिघटन गर्नु एक दिनअघि कोभिड १९ संकट व्यवस्थापन अध्यादेश जारी गरी सर्वसाधारण र नागरिकहरुलाई सडकमा निस्किए एक बर्ष कैद वा ५ बर्ष जेल हाल्ने प्रावधान घुसाएर त्राहिमाम बनाइएको छ ।

अध्यादेशको १९ नम्बर बुँदामा कसुर तथा सजायसम्बन्धी व्यवस्था छ । प्रम ओलीले ​हिजै गृहसचिव महेश्वर न्यौपानेलाई सोही अध्यादेशको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीबाट निर्देशन पाएपछि सचिव न्यौपानेले अध्यादेशले सम्बोधन गरेअनुसार निषेधाज्ञालाई कडाइ गर्दै कार्यान्वयन गर्न निर्देशन दिएको बैठकमा सहभागी एक अधिकारीले जनआस्थालाई बताए ।

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार सचिव न्यौपानेले नेपाल प्रहरीका महानिरीक्षक सैलेश थापा क्षत्री,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र गृहको सुरक्षा प्रशासन महाशाखाका सहसचिव जनकराज दाहाल सम्मिलित बैठक बसालेका थिए ।

अध्यादेशमा निषेधाज्ञा कार्यान्वयनमा बाधा अवरोध गर्नेलाई एक वर्षसम्म कैद र पाँच लाख वा दुबै सजाय गर्नसक्ने व्यवस्था छ। जबकि संक्रामक निवारण ऐन ०२० मा एक महिना कैद वा एक सय रुपैयाँ,काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रूपैयाँ सजाय तोकिएको थियो ।

यसअघि प्रमुख जिल्ला अधिकारीलाई मात्र सजाय तोक्ने व्यवस्था रहेकोमा अब त्यो अधिकार प्रहरीलाई पनि दिइएको छ ।

गृहका अधिकारीका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमका कारण सडकमा भीडभाड बढ्न सक्ने भएको हुँदा भीडभाडलाई पूर्ण निस्तेज पार्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिइएको छ ।

यस्तै प्रमको पछिल्लो गतिविधिका कारण देशैभर जनता सडकमा आउन सक्ने कुरालाई मध्यनजर गर्दै ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई परिपत्र गरिएको छ ।

बहाना भने कोभिडलाई बनाइएको छ ।

यही अध्यादेशको दोश्रो परिच्छेदमा स्वास्थ्य संकटकालको बुँदा घुँसाइएको छ । ओलीको कदमको जनस्तरबाट तीव्र विरोध भए र जनता सडकमा उत्रिए सोही अध्यादेशको दोश्रो धारामा टेकेर स्वास्थ्य संकटकाल लगाउने रणनीति देखिन्छ ।

टिप्पणीहरू