माधव नेपाल बिके,देउवाले असभ्यता सिके : प्रधानमन्त्री ओली

माधव नेपाल बिके,देउवाले असभ्यता सिके : प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको बताउनुभएको छ ।

आज सरकारी निवास बालुवाटारमा स्व.बुध्दिबहादुर रायमाझीद्वारा लिखित ‘पञ्चायती जेलमा तेह्र वर्ष’ नामक पुस्तक विमोचन गर्दै ओलीले माधव नेपाल समूलाई लक्षित गर्दै तीब्र आक्रोश पोख्नुभएको छ । उहाँले ‘नेपालमा फैलाइएको वामपन्थी उज्यालोलाई निभाउन प्रतिक्रियावादी शक्तिहरूको मतियार भएर उनीहरू निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको’ बताउनुभएको छ ।

कम्युनिष्ट आन्दोलनकाविरुद्ध इतिहासमा कहिँ नदेखिएको अनुशासनहीनता र अराजकता अहिले नेपालमा देखिएको बताउँदै उहाँले प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिकाबीच उचाईमा पुर्याइएको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयासस्वरुप पार्टी फुटाइएको आरोप पनि लगाउनुभयो ।

अदालतको फैसला अगावै पार्टी फुटाएर त्यसको दोष अदालतलाई लगाइएको पनि उहाँले बताउनुभयो । ‘नेता पतित भएर बिकेपछि आन्दोलन सिध्याउन उध्यत हुने’ उहाँको भनाइ छ ।

प्रधानमन्त्रीले नेपाली काँग्रेसले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिलाई आदरार्थी शब्द प्रयोग नगरेको भन्दै चर्को असन्तुष्टिसमेत जनाउनुभएको छ । काँग्रेस सभापति स्तरबाटै त्यस खालको भाषा प्रयोग गरेर गणतन्त्रलाई खुइल्याउने अभियान थालिएकोमा उहाँले विरोध जनाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगत १५ वर्षदेखि जनमानसमा भ्रम छरेको र विभिन्न आरोप लगाएको उल्लेख गर्दै उहाँले भन्नुभएको छ ‘प्रचण्डले असभ्यताको र संस्कारहीनताको पराकाष्ठा देखाएका छन् ।’

टिप्पणीहरू