ओलीलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक र अनैतिक: सभापति देउवा

ओलीलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक र अनैतिक: सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अक्षर र भावनाअनुसार केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैरसंवैधानिक दाबीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक समेत रहेको बताउनुभएको छ ।

देउवाले आज विज्ञप्ति जारी गर्दै उक्त कुरा बताउनुभएको हो । विज्ञप्तिमा उहाँबाट वर्तमान सरकार गठनपछि निरन्तर गैरसंवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य,मान्यताको अवमूल्यन,विधि र पद्धतिको बेवास्ता र संसदीय पध्दतिको खिल्ली उडाउने काम भएको उल्लेख गर्नुभएको छ ।

‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने,राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने,संविधानबमोजिम नियुक्त गर्नुपर्ने म प्रतिनिधिसभाको सदस्यलाई नियुक्त गर्नुपर्ने र दाबी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक,अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन्,’

प्रधानमन्त्रीले प्रतिनिधिसभामा तीस दिनभित्र विश्वासको मत लिन नसक्ने भनी मन्त्रीपरिषद्बाट निर्णय समेत गराई राष्ट्रपतिलाई अर्को सरकार गठनका लागि अनुरोध गर्दै सार्वजनिक रुपले पनि आफू विश्वासको मत लिन नसक्ने घोषणा गरेको अवस्थामा उहाँलाई नै प्रधानमन्त्री बनाउनु गैरसंवैधानिक रहेको काँग्रेसले ठहर गरेको छ ।

देउवाले भन्नुभएको छ ‘राष्ट्रपतिले प्रधानमन्त्रीले आफू विश्वासको मत लिन नसक्ने भनी सिफारिश गरेपश्चात छोटो समय दिई अर्को सरकार गठनको प्रक्रिया प्रारम्भ गर्नुभयो । राष्ट्रपतिले गरेको आह्वानको आधारमा मैले प्रतिनिधि सभामा तत्काल कायम सदस्य संख्याको स्पष्ट बहुमतसहित १ सय ४९ जना माननीय सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरेँ ।’

उहाँले अगडि लेख्नुभएको छ ‘नेपालको संविधानबमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त् नियुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गर्नुभयो । बरु एक पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम राष्ट्रपतिबाट भयो ।’

उहाँले राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधानजस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरेको आरोप लगाउनुभएको छ । ‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने,राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने,संविधानबमोजिम नियुक्त गर्नुपर्ने म प्रतिनिधिसभाको सदस्यलाई नियुक्त गर्नुपर्ने र दाबी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक,अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन्,’ देउवाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

देउवाले यी काम राष्ट्रपति र प्रधानमन्त्रीको बदनियतपूर्ण मिलेमतोमा षड्यन्त्रपूर्वक भएको ठहर गर्दैै प्रधानमन्त्री नियुक्त भएको एक घण्टामा सबै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गरेको घटनाबाट प्रमाणित भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको हो ।

उहाँले ‘राष्ट्रपति र प्रधानमन्त्री षड्यन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उध्यत रहेका छन् भन्ने नेपाली काँग्रेस ठहर गर्दछ’ भन्नुभएको छ ।

देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक,अलोकतान्त्रिक कार्यकाविरुद्ध राजनैतिक र न्यायिक लडाइँ लड्ने दृढ प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ ।

पत्रकार महासंघ पनि बिरोधमा

यसैबीच नेपाल पत्रकार महासंघले संविधानबमोजिम वैकल्पिक सरकार बन्नसक्ने अवस्था विद्यमान रहँदारहँदै राष्ट्रपतिबाट मध्यरात प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम गरेको ठहर गरेको छ ।

महासचिव रोशन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘सम्माननीय राष्ट्रपतिबाट चालिएको जालझेलपूर्ण कदम नेपालको परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितका व्यवस्थाविरुद्धको प्रहार हो । पछिल्लो दुई दिनमा चालिएका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यताका विरुद्धमा छन् ।’

टिप्पणीहरू