बिरामीको पैसा बिरामीमै खर्च गरौं « janaaastha.com
४ असार २०७८, शुक्रबार

बिरामीको पैसा बिरामीमै खर्च गरौं



चारैतिर हरियाली । वरपरका हरिया घाँसदुबो एवम् विभिन्न फलफूलका बोटबिरुवाले मनै लोभ्याउने शान्त रमणीय छ यहाँको वातावरण । त्यसमाथि पानीको फोहोरा छुट्ने पोखरी अनि एक छेउमा देवीदेवताको मन्दिर पनि कम्ती मनमोहक छैन ।

यो प्रसंग हो, ब्युटीफुल माइण्ड रिह्याबिलिटेसन सेन्टरको । यहाँ लागुऔषधको दुव्र्यसनदेखि लिएर हरेक किसिमका मानसिक रोगीको ममतामयी वातावरणमा उपचार हुने गरेको छ ।

चितवनको खैरहनी ११, गैंडाहामा स्थापित पुनःस्थापना केन्द्रमा मनोरोगीको उपचार मात्रै नभएर उनीहरूलाई सीपमूलक तालिमका साथै दक्षता हेरेर रोजगारीको अवसरसमेत प्रदान गर्ने गरिएको अध्यक्ष डा. गिरिराज भन्ताना बताउँछन् ।

पिता केदारनाथ र माता गंगाको कान्छो सुपुत्रको रूपमा २०३० सालमा जन्मिएका गिरीले माध्यमिक शिक्षा रत्ननगरकै पञ्चकन्या माविबाट लिएका हुन् । त्यसपछि विश्वनिकेतन कलेज हुँदै चितवनकै पुरानो मेडिकल कलेजबाट एमबीबीएस सकेर आईओएम महाराजगञ्जबाट साइकियाटिमा एमडी गरेका थिए ।

उनले भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजलगायत प्राइभेट अस्पतालमा काम गरिसकेर पछिल्लो समय आफैंले पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएका हुन् । ब्युटीफुल माइण्ड इन्स्टिच्युटका उनै अध्यक्ष भन्तानासँग अजय गोर्खालीले गरेको कुराकानी :

० मनोरोगको पहिचान कसरी गर्ने ? यसका लक्षण के–के हुन सक्छन् ?
– जब व्यक्तिको मन, सोचाइ र व्यवहारमा परिवर्तन आउँछ भने त्यो मनोरोग हो । सोको महसुस व्यक्ति स्वयं र वरपरकालाई पनि हुन्छ । विभिन्न किसिमका मनोरोगको लक्षण पनि थरीथरीकै हुन्छन् । जस्तैः साविकभन्दा कम वा बढी बोल्नु, धेरै खुशी हुनु वा धेरै दुःखी हुनु, नभएको आवाज सुन्नु, नभएको दृश्य देख्नु, अनायासै रिसाउनु, झैझगडा गर्नु, दुर्घटना निम्त्याउनु, बेहोस हुनु इत्यादि ।

० यसका कारण के–के हुन सक्छन् ?
– एउटा त वंशाणुगत कारण हुन्छ । अर्काे पारिवारिक तथा सामाजिक घटनाक्रमले पनि व्यक्ति मानसिक रोगी बन्न पुग्छ । मस्तिष्कमा हुने रसायनको उतार–चढाव नै मनोरोगको कारण हो ।

० रिह्याबिलिटेसन सेन्टरको अलावा साइकियाटिक अध्ययन, अध्यापन गराउने इन्स्टिच्युट सञ्चालन गर्ने पनि कार्ययोजना रहेछ । यसबारे केही बताइदिनुहोस् न ?
– हो हामी छिट्टै त्यो एकेडेमी सञ्चालनको तयारीमा छौं । नेपालकै पहिलो हुनेछ । त्यसपछि साइकियाटिक अध्ययनका लागि कोही पनि बाहिर धाउनुपर्दैन ।

० शारीरिक रोग जस्तै मानसिक रोगबाट पनि पूर्णरुपमा पार पाउन सकिन्छ त ?
– अँ, सही औषधोपचार पाए यो सम्भव छ । जस्तो कि लक्षण नहुनु, अस्तव्यस्त जीवनशैलीमा सन्तुुलन आउनु, कार्य क्षमता प्रतिस्थापित हुनु आदि ।

० होसहवास नै नभएको, अरु र आफूलाई समेत नचिन्ने गरी पागलै भएका मानिसहरू पनि उपचार पछि निको होलान् ?
– पागल भन्ने शब्द नै गलत हो । त्यो एउटा बिरामी हो तर सही औषधि उपचारले एकदम निको हुन्छन् । धेरै पुरानो रोगमा अलि बढी समय लाग्न सक्छ । तर लक्षण भने निको पार्न सकिन्छ ।

० साइकियाटिक औषधिको लत लाग्छ, पछि नभई हुँदैन भनिन्छ नि के हो ?
– यस्ता सबै औषधिको लत लाग्दैन । औषधिले मस्तिष्कमा चाहिने केमिकललाई सन्तुलित बनाउँछ । जसले गर्दा बिरामीको मानसिक स्वास्थ्यमा कुनै लक्षण देखिँदैन । यस्तो अवस्थामा लामै समय औषधि खानुपरेपनि सञ्चो नभएको मानिँदैन । त्यसो त सुगर, प्रेसरको औषधि पनि त मानिसहरूले लामो समय अर्थात् जीवनभर खाएकै छन् । आफू ठीक भइन्छ भने औषधिसँग डराउने किन ?

० कुनै पनि बिरामीको आधा व्यथा त परिवार, समाज र स्वास्थ्यकर्मीहरूको माया ममताले नै ठीक हुन्छ । तर धेरैजसो रिह्याबहरूमा क्लायन्टलाई हप्कीदप्की गर्ने, कुटपिट गर्दै सांग्लाले बाँध्ने, फलामको बाक्सामा कोच्नेसमेत गरिन्छ । यसबारे के भन्नुहुन्छ ?
– बिरामीलाई यातना दिएर ठीक हुने होइन । त्यसो गर्नु भनेको रोग अझ बढाउनु हो । तर कहिलेकाहीँ ऊ आफैं र अरुको समेत सुरक्षाको लागि क्लायन्टलाई कडा निगरानी वा शारीरिक नियन्त्रणमा राख्नुपर्ने स्थिति पनि आउँछ ।

० एकजना क्लायन्टको फि कति लिनुहुन्छ ? गरीब, असहायलाई निःशुल्क औषधोपचारको व्यवस्था छ कि छैन ?
– हाम्रो लागत नै महँगो छ । सुविधा पनि धेरै छन् ।सरकारी, गैरसरकारी निकाय कतैबाट पनि सहयोग पाएका छैनौं । तैपनि विपन्न, असहाय १० प्रतिशत बिरामीको निःशुल्क उपचार गरिरहेका छौं ।

० सरकारी, गैरसरकारी निकाय कतैबाट अहिलेसम्म कत्ति सहयोग आएकै छैन त ?
– हामीकहाँ त कुनै पनि फण्ड आइपुगेको छैन । तर बाहिरबाहिरै दुरुपयोग भएका फण्डहरू धेरै छन् ।

० डाक्टरी पेशा आफैंमा सेवामूलक धर्म हो । तर हिजो आज डाक्टर, प्राविधिकलगायत नर्सहरू आफ्नो सेवाधर्म बिर्सिएर पैसामुखी भएका छन् नि । यससम्बन्धमा के भन्नुहुन्छ ?
– पैसाको पछि मात्रै कुद्नु एकदम गलत हो । कार्यसम्पादनको लागि खर्च त चाहिन्छ नै ! तर बिरामीबाट लिएको पैसा व्यक्तिगत स्वार्थ तथा सुविधाको निम्ति नभई बिरामीकै उद्धारमा खर्च गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता हो ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“जीरो ईरोर (डिफेक्ट्) सिण्ड्रोम” बाट ग्रसित नेपाली सेना
अन्तरिक्षबाट यस्तो देखियो नेपाल र हिमालय क्षेत्र (फाेटाे फिचर)
दलाए दलाए, अन्तिममा ढलाए
अष्ट्रेलियाको भन्दै सुर्खेतको बाँड्दै
Add

Scroll Up