भित्र राष्ट्रपति र प्रधानमन्त्री, बाहिर देउवा,प्रचण्ड,माधव र उपेन्द्र

भित्र राष्ट्रपति र प्रधानमन्त्री, बाहिर देउवा,प्रचण्ड,माधव र उपेन्द्र

१ सय ४९ जना माननीयको हस्ताक्षरसहित संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको दाबी गर्दै काँग्रेस सभापति शेरबहादुर सहितका नेताहरु शीतल निवासको पाहुना कक्षमा बसिरहँदा भित्र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।

नयाँ गठबन्धनको साझा उम्मेदवारको रुपमा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर दाबी पेश गर्नुअगाडि प्रधानमन्त्रीसँग भएको राष्ट्रपतिको भेटलाई राजनीतिक रुपमा अर्थपूर्ण ढंगले हेरिएको छ ।

शीतल निवासको पाहुना कक्षमा देउवासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा नेता बाबुराम भट्टराई लगायत झण्डै एक दर्जन नेता समयको लागि कुरेर बस्नुभएको हो ।

यता एमाले कार्यदलको बैठक अर्थ मन्त्रालयमा बसिरहेको छ भने, उता सिँहदरवारमा १३ वटा गाडीमा सवार १६ जना माननीय (जसपा ठाकुर समूह) को छुट्टै भेला जारी छ ।

यसैबीच एमाले नेता सुरेन्द्र पाण्डेले कार्यदलको बैठकमा पस्नुअघि आफूले देउवालाई प्रधानमन्त्री बनाउन कुनै हस्ताक्षर नगरेको बताउनुभएको छ ।

आजै बिहान उहाँसमेत सँलग्न नेपाल पक्षको स्थायी समिति बैठकले सबै निर्णय गर्ने जिम्मा माधवकुमार नेपाललाई दिएको थियो ।

राष्ट्रपतिले एमाले बिभाजित भैनसकेको हुँदा एमालेका २७ माननीयको हस्ताक्षर मान्य नहुने भनी प्रक्रिया रोक्ने सम्भावना देखिएको बताइन्छ । त्यसो त ७६ (५) दलको नेता हैन ब्यक्ति ब्यक्तिले ब्यक्ति छान्न पाउने धारा हो भन्ने कानूनविदहरुको तर्क छ ।

टिप्पणीहरू