नुवाकोटे यी नटवरलाल पोर्चुगलको सपना देखाउँदै लाखौं ठग्दै

नुवाकोटे यी नटवरलाल पोर्चुगलको सपना देखाउँदै लाखौं ठग्दै

नुवाकोटका ३२ वर्षे विजय लामाले धेरैलाई पोर्चुगलमा आकर्षक रोजगारीको सपना देखाउँदै ठगेको पुष्टि भएको छ । बेल्कोटगढी नगरपालिका घर भई काठमाडौंको बनस्थली बस्ने गरेका लामाले वैदेशिक रोजगारीको प्रलोभन देखाई धेरैको पैसा खाएर भागेको उजुरी वैदेशिक रोजगार विभागमा समेत पर्न थालेको छ ।

त्यहिक्रममा विभागले गत पुस १ गते जिल्ला प्रहरी कार्यालय, नुवाकोटलाई लेखेको पत्रमा कसुरदारलाई पक्राउ गर्न भनिएको छ । लामाबाट ठगिएकामध्ये रामचन्द्र श्रेष्ठको उजुरीमा विभागले पत्र काटेको हो । तर,छ महिना बितिसक्दा समेत प्रहरीले उनलाई समातेको छैन ।

पीडितहरुका अनुसार लामा खुल्लमखुल्ला काठमाडौंमा हिँडेका छन् । उनले पीडितहरुलाई धम्काएर म्यासेज गरेका छन् । लाखौं रुपैयाँ डुबाएकाहरु भने महामारीवीच दोहोरो मारमा परेका हुन् ।

जनआस्थालाई प्राप्त कागजातअनुसार,लामाले श्रेष्ठसँग २०७६ साउनमा ७ लाख नगदै लिएको देखिन्छ । पोर्चुगलमा मासिक ७ सय ५० युरोको रोजगारीमा लगाइदिने भन्दै गरेको कागजातमा उनले श्रेष्ठबाट राष्ट्रिय वाणिज्य बैंकको चेक नं। ००३४३१०८६२ मार्फत् थप तीन लाख गरी १० लाख रुपैयाँ बुझेका छन् ।

झण्डै दुई वर्षअघि २०७६ साउन १३ गते गरिएको लिखतमा साउन २३ गतेभित्र श्रेष्ठलाई पोर्चुगल पुर्याउन नसके साँवा ब्याजसहित फिर्ता गर्ने व्यहोरा उल्लेख छ । तर, सँधै अनेक बहानामा रकम फिर्ता नगरी लुकिछिपी हिँडेका लामाले अहिलै उल्टै पीडितहरुलाई सामाजिक सञ्जालमार्फत् धम्काउन थालेको बताइन्छ ।

टिप्पणीहरू