बादलको पराजय,आकाश सधैं उज्यालो भैरहन्न

बादलको पराजय,आकाश सधैं उज्यालो भैरहन्न

जनयुध्दका सैन्य परिकल्पनाकारको रुपमा चर्चित गृहमन्त्री रामबहादुर थापा “बादल” राष्ट्रियसभा निर्वाचनमा पराजित हुनुभएको छ । सर्वोच्च अदालतको आदेशले मन्त्री पद गुमेलगत्तै थापालाई स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाबाट समेत पराजय हात लागेको हो ।

भर्खरै सम्पन्न मतगणनामा थापालाई देवकोटाले १०७४ मतले पराजित गर्नुभएको छ । विजयी देवकोटाले ५०८८ मत प्राप्त गर्दा थापालाई  ४०१४ मत हात लागेको छ ।

निर्वाचन परिणामले माओवादी विरासत छोडेर एमाले प्रवेश गर्नुभएका गृहमन्त्री थापालाई पहिलो गाँसमै दोश्रो ढुंगा लागेको छ । यो पराजयसँगै थापालाई एमाले नफापेको विश्लेषणसमेत गर्न थालिएको छ । कतिपयले एमाले प्रवेशसँगै थापाको ओरालो यात्रा शुरु भएको बताउन थालेका छन् ।

“आज ४ जना सांसद र ५ जना स्थानीय प्रतिनिधि हेटौंडा गएनन् बागमती प्रदेशको राजधानीमा आज भएको राष्ट्रियसभा उपनिर्वाचनमा ३ सय ३८ मत खसेको छ । कूल ३ सय ४८ मत रहेको प्रदेशसभामा ४ जना सांसद र ५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख अनुपस्थित भएका हुन् । प्राप्त विवरणअनुसार स्थानीय तहका २ सय ३३ र प्रदेश सभाका १ सय ५ जना मतदाताले मतदान गरेका छन् ।”

यसअघि बादल आफैंले जितेको बागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्य पद उहाँ एमाले प्रवेश गरेपछि रिक्त भएको थियो । सूर्य चिन्हको आधिकारिक उम्मेदवार भन्दै सरकारपक्षीय एमालेले उहाँको उम्मेदवारीको ब्यापक प्रचार गरेको थियो ।

आफूनिकट सबै नेता-कार्यकर्ता माओवादीमै छोडेर एमाले प्रवेश गर्नुभएका थापालाई एकल बहुमतमा रहेको एमालेका सबै मतदाताले भोट नदिएका कारण पराजित हुनुपरेको हो ।

थापाको उम्मेदवारीमा एमालेले उम्मेदवारभन्दा पनि चुनाव चिन्हको ब्यापक प्रचार गरेको थियो । तर,नतिजा स्वतन्त्र उम्मेदवारको पक्षमा गएपछि एमालेभित्र चुनाव चिन्ह देखाएर गरिएको सेन्टिमेन्टको राजनीति पनि पराजित भएको बताउन थालिएको छ ।

‘चुनाव चिन्ह केही हो तर सबैथोक होइन । आजको निर्वाचन परिणामले सूर्य चिन्ह भए सबै कुरा हुन्छ भन्ने बुझाईलाई गलत सावित गरिदिएको छ’,एमालेकै एक नेता भन्छन्’,’यसले एक्लो अंकगणित सबै कुरा होइन भन्ने पनि पुष्टि गरेको छ । एक्लै बहुमतमा हुँदा पनि आफ्नो उम्मेदवारलाई जिताउन नसक्नुका पछाडिको कारण समीक्षा हुनु आवश्यक छ । दुई तिहाई कसरी गुम्यो,अहिले अल्पमतको सरकार चलाउनु पर्ने अवस्था कसरी आयो ? यी कुरा पनि आजको परिणामसँग गाँसिएका छन् ।’

पार्टीमा सबैका मत,बिचार र भावनाको यथोचित सम्मान र सम्बोधन हुन नसक्दाको परिणामका रुपमा उनले बादलको पराजयलाई अर्थ्याए । आफ्नै प्रदेश इन्चार्जको पक्षमा अध्यक्ष,महासचिवले दिन बिराएर त्यत्रो ह्वीप लगाउँदा पनि बिद्रोह गर्नुपर्ने अवस्था किन बन्यो भनेर नेतृत्वले सोच्नुपर्ने उनको भनाइ छ ।

‘पदको लोभ नगरी बिद्रोह नै गर्न चाहेमा कुनै पनि ह्विप,आश्वासनले काम नगर्ने रैछ भन्ने देखियो । संख्यामा केही तलमाथि पार्न सकिएला होला तर समग्रमा चाहिएको परिणाम दिन सकेन । प्रतिपक्षीको घेराबन्दीले कस्तो परिणाम दियो भन्ने यो एउटा उदाहरण पनि हो’,उनले भने ।

नेकपा (एमाले) ले बागमती प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कतिपय जनप्रतिनिधिले पार्टी निर्देशनको अवज्ञा गरेकोलाई गम्भीरतापूर्वक लिएको बताएको छ ।

अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा (एमाले) स्थायी कमिटी बैठकले आजको उपनिर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गरिएकोलाई गम्भीरतापूर्वक लिइएको र उक्त कार्यको भर्त्सना गर्ने निर्णय गरेको छ ।

आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गर्ने क्रियाकलापको भर्त्सना गरिएको परराष्ट्र मन्त्री तथा एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ ।

उहाँका अनुसार ‘आजको उपनिर्वाचनमा पार्टीको निर्देशनको अवज्ञा गर्दै कतिपय नेताहरु, कतिपय जनप्रतिनिधिहरुले जुन ढंगका क्रियाकलापहरु गर्नुभयो, त्यसलाई बैठकले अत्यन्त गम्भीरतापूर्वक लिएको छ । पार्टीको आधिकारिक उम्मेदवारको विरोध गर्ने र विपक्षमा मतदान गर्ने जस्ता क्रियाकलापको भर्त्सना गरिएको छ ।’

माओवादीलाई घाटा

अहिलेको उपचुनाव माओवादी कोटाका सांसदको पदरिक्तताको परिणाम भएकाले उसलाई ठूलो घाटा लागेको छ । आफ्नो मान्छेले क्याम्प फेर्दा बागमती प्रदेशमा डा. खिमलाल देवकोटालाई र लुम्बिनीमा काँग्रेसका दृगनारायण पाण्डेलाई जिताउनुपर्ने बाध्यता माओवादीलाई आइलागेको हो ।

‘घाटा त हामीलाई छ,दुवै सिट गुम्यो,एकातिर माधव पक्षलाई, अर्कोतिर कांग्रेसलाई बुझाउनुपर्यो’,एक माओवादी नेता भन्छन् ।

तर पनि उनले यसलाई राष्ट्रिय राजनीतिको आवश्यकताको उपजका रुपमा सहज ढंगले लिएको बताए । वाम-लोकतान्त्रिक अलायन्स बनाएर आगामी चुनावसम्मै सहकार्य गर्ने रणनीतिअनुसार नै परिस्थिति अघि बढेकाले नाफा-घाटाको कुरा नहुने उनको भनाइ छ ।

आजको निर्वाचन परिणामले सत्ता पक्षको आगामी राजनीतिक यात्रा थप कष्टकर हुने कतिपयको विश्लेषण छ । कतिपयले भने संसदको अंकगणितमा पनि प्रभाव पर्नसक्ने अनुमान गरेका छन् ।

माओवादी छाडेर बादलको एमाले प्रवेश,गृहमन्त्रालयमा निरन्तरता र जिल्ला जिल्लामा सत्ताको प्रभावका बाबजुद पनि परिणाम प्रतिकूल आउनुले अन्ततः जनता नै निर्णायक शक्ति हुन् भन्ने कुरा पुनर्पुष्टि गरेको एक राजनीतिक विश्लेषकले सुनाए । उनी भन्छन् ‘आकास सधैँ चहकिलो भैरहँदैन, त्यसमा बादल पनि लाग्न सक्छ ।’

टिप्पणीहरू