ल्हासाबाट के-के सहयोग हिँड्यो ?

ल्हासाबाट के-के सहयोग हिँड्यो ?

आज ल्हासामा चीनको तिब्बत सरकारले नेपाललाई उपलब्ध गराउने स्वास्थ्य सामाग्रीहरू एक समारोहवीच वाणिज्य दूतावासलाई हस्तान्तरण गरिएको छ । तत्काललाई तिब्बतले १ सय ५० सिलिण्डर लिक्विड अक्सिजन दिएको छ । अक्सिजन भरिएको प्रतिसिलिण्डरको तौल २ सय किलोग्राम छ ।

आज ल्हासाबाट हिँड्ने उक्त लिक्विड अक्सिजन पर्सि शनिबार तातोपानी नाकामा नेपालपक्षलाई हस्तान्तरण गर्ने योजना बनाइएको छ । लगत्तै पठाउन लागिएका सामाग्रीमा ५ वटा भेन्टिलेटर,२ सय वटा आईसीयु बेड,१० वटा अक्सिजन कन्सन्ट्रेटर,१५ हजार वटा एन्टिजेन किट र अक्सिजन सिलिण्डर ८ सय वटा छन् । यी सामान पठाउने वचन त्यहाँको सरकारले दिइसकेको छ ।तिब्बत सरकारले नेपाल र चीनबीच गठित विभिन्न मैत्री संगठनहरूलाई उपलब्ध गराउने स्वास्थ्य सामग्री पनि ल्हासामा हस्तान्तरण गरेको छ । त्यसमा मास्कलगायतका सामग्री रहेको बताइएको छ ।

आजको हस्तान्तरण कार्यक्रममा चीनको तिब्बत स्वायत्त प्रदेश सरकारका उपाध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टीको प्रान्तीय स्थायी समिति सदस्य चेन चेसहित वैदेशिक मामिला र वाणिज्य मन्त्रालय,सुरक्षा तथा अध्यागमन विभागलगायतका निकायको उपस्थिति थियो ।

उनीहरूले ती सामान वाणिज्य दूत नवराज ढकाललाई हस्तान्तरण गरेका हुन् । त्यति ठूलो देशको तिब्बत प्रान्तमा बिदेशी कूटनीतिक मिशन नेपालको महावाणिज्यदूतावास मात्रै हो ।हस्तान्तरण गरिएका सामान तातोपानी नाकासम्म तिब्बत सरकारले नै ल्याइदिनेछ । आगामी दिनमा आफ्नो अनुकूल थप सहयोग गर्नसक्ने जानकारी गराइएको छ ।

यता,तातोपानी नाका नेपालतर्फ सामान आयात गर्न एकतर्फी खुल्ला भएपनि विगतमा झैं दुईतर्फी खुल्ला हुने सम्भावना तत्काल नरहेको स्रोतले बताएको छ । कोरोना महामारीका कारण सामानको ढुवानी एकतर्फी रुपमा गर्ने र मेडिकल सामाग्री जतिसक्दो छिटो नेपाल भित्र्याउने गरिएको छ । यसबीच चीनले तातोपानी नाकाबाट नेपाल आउने अत्यावश्यक स्वास्थ्य सामाग्रीको कोटा पनि बढाइदिएको छ ।

हिजोसम्म तातोपानी नाकाबाट चीनले तीनवटा मेडिकल सामाग्री बोकेका कन्टेनर र बाँकी ५ वटा अन्य सामाग्री बोकेका कन्टेनर नेपालतर्फ छाड्ने गरेको थियो । चीनको एउटा कन्टेनरले बोक्ने सामान नेपालतर्फका दुई वटा कन्टेनरले बोक्नुपर्ने हुन्छ ।

टिप्पणीहरू