प्याच्च बोल्ने मन्त्रीको राजीनामा, खाडी मुलुकहरु आगो

प्याच्च बोल्ने मन्त्रीको राजीनामा, खाडी मुलुकहरु आगो

इजरायल र प्यालेष्टाइनबीच हिंसात्मक युद्ध चर्किरहेको बेला पश्चिम एसियाका इस्लामिक मुलुकहरु भने प्यालेष्टाइनको समर्थनमा एकजुट हुनुको साटो अन्यत्र फर्केका छन् ।

प्यालेष्टाइनमाथि भएका आक्रमणको निम्ति लेबनान,टर्की र पाकिस्तानले इजरायलको विरोध गरेका छन् भने अन्य मुलुकचाहिँ नयाँ विवादमा रुमल्लिएका छन् ।

सोमबार लेबनानका परराष्ट्रमन्त्री चार्बेल वेहबेले इस्लामिक स्टेट जस्तो आतंकवादी संगठन उदाउनुमा खाडी मुलुकहरु जिम्मेवार रहेको बताएपछि मुस्लिम राष्ट्रहरुबीच नयाँ लफडा र विवाद चर्किएको हो ।

साउदी अरेबियाले उक्त भनाइप्रति कडा आपत्ति जनाइसकेको छ भने कुवेत,संयुक्त अरब इमिरेट्स, बहराइन पनि वेहबेको भनाइको बिरोधमा देखिएका छन् । उनीहरुले आफ्नो देशमा रहेका लेबनानका राजदूतलाई बोलाएर बिरोधपत्र बुझाएका छन् भने वहबेको राजीनामा नै मागेका छन्

विवाद बढेपछि वेहबेले आफ्नो भनाईको गलत व्याख्या गरिएको बताए । सोही विषयलाई लिएर लेबनानका राष्ट्रपति माइकल इयोनले नै सफाई दिनुपरेको छ । उनले खाडी मुलुकका बारेमा आएको आफ्ना परराष्ट्रमन्त्रीको धारणा लेबनानको आधिकारिक नीति नभएको बताएका छन् ।

सर्वत्र चौतर्फी विवाद भएपछि लेबनानका परराष्ट्रमन्त्रीले अन्ततः राजीनामा दिएका छन् । उनले हिजो अबेर राजीनामा दिएका हुन् । उनले आफ्नो राजीनामापछि लेबनानको अरबी राष्ट्रहरुसँगको सम्बन्ध थप मैत्रीपूर्ण हुने आशा समेत गरेका छन् ।

टिप्पणीहरू