उम्मेदवार बादल,कमाण्डर गोकुल-जिते पनि एमाले,हारे पनि एमाले

उम्मेदवार बादल,कमाण्डर गोकुल-जिते पनि एमाले,हारे पनि एमाले

राष्ट्रिय सभाको आज हेटौंडामा जारी उपनिर्वाचनमा सरकारी पक्षका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई जिताउन कमाण्डरको हैसियतमा पूर्वमन्त्री गोकुल बाँस्कोटा हिजै हेटौंडा पुग्नुभएको छ ।

मतदाता बसेका ठाउँ अनुगमनमा जाँदा उहाँहरुसँग वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरुको हिजो साँझ धेरै पटक जम्काभेट भएको बताइन्छ ।

त्यहि क्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले हिजो साँझ ‘भोलि यदि बादलको जीतमा तलमाथि भयो भने हेटौंडाबाटै माधव नेपाल समूहसँग एकता भंग भएको घोषणा हुनेछ’ भनेर चेतावनीसमेत दिनुभएको बताइन्छ ।

“केही समयसम्म बादल पद विना त्यत्तिकै बस्न नहुने हो र भनेर बालुवाटार निकट प्रदेशसभा सांसदहरुले नै अनौपचारिक छलफलमा प्रश्न उठाएका छन् ।”

अघिल्लो साता काठमाडौंको चपली हाइटमा प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच भएको वार्तामा उपनिर्वाचनको प्रसंग उठेको थियो । त्यसबेला नेपालले उपनिर्वाचनको सन्दर्भमा नो भन्दै ‘आफूहरुलाई पार्टीबाट निलम्बन गरिएको बेला भएको उम्मेदवारी दर्ताबारे कुनै कम्प्रोमाइज नहुने’ बताउनुभएको थियो ।

त्यसक्रममा प्रधानमन्त्रीले ‘त्यसोभए ठीकै छ’ भनेर सहमतिको भाषा बोल्नुभएको नेपालपक्षीय नेताहरु बताउँछन् । हाल आएर जसपाले सरकारलाई विश्वासको मत नदिने बताएको अवस्थामा अब नयाँ सरकार गठनको निम्ति धारा ७६ (५) को प्रावधान बाँकी नै छ ।

नयाँ सरकार गठनमा धारा ७६ (२) भन्दा उपधारा ५ निकै सजिलो ठानिएको छ । उपधारा २ मा पार्टीसङ्ग सांसद संख्या सीधै जोडिन्छ भने ५ मा सांसदको अलगअलग टाउको गने पुग्छ ।

“उनी जिते पनि आउने एमाले हो,हारे पनि आउने एमाले नै हो । एक जनाले हारेर राष्ट्रिय सभाको अंक गणितमा कुनै फरक पर्ने पनि होइन ।”

यस्तो अवस्थावीच हेटौंडाबाट एकथरिले उग्र धारणा ब्यक्त गर्दा अन्ततः घाटा प्रधानमन्त्री केपीलाई नै हुने एमाले नेताहरुले बताएका छन् । त्यहि अवस्थालाई ध्यानमा राखेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अहिलेसम्म ह्विप उल्लंघन गरेका नेता तथा कार्यकर्तालाई केही नगर्नु भएको हो ।

आवेशमा आएर प्रधानमन्त्रीेले म प्रतिपक्षमा बस्न सक्छु भन्नु र सोझै गएर प्रतिपक्षको लाइनमा बस्नु फरक सन्दर्भ हो । त्यसो गर्दा माथिदेखि तलसम्मको सत्ता सिध्दिने खतरा रहन्छ ।

यता,हेटौंडामा भइरहेको चुनावमा प्रधानमन्त्रीको तर्फबाट उम्मेदवार बनेका बादलले हार्ने सम्भावना अत्यधिक रहेको बताइन्छ । उनी हार्दा एमालेभन्दा पनि पूर्वमाओवादी हार्ने हो । केही समयसम्म बादल पद विना त्यत्तिकै बस्न नहुने हो र भनेर बालुवाटार निकट प्रदेशसभा सांसदहरुले नै अनौपचारिक छलफलमा प्रश्न उठाएका छन् ।

मूलतः अहिलेको उपचुनाव माओवादी कोटाका सांसदको पदरिक्तताको परिणाम हो । उनी जिते पनि आउने एमाले हो,हारे पनि आउने एमाले नै हो । एक जनाले हारेर राष्ट्रिय सभाको अंक गणितमा कुनै फरक पर्ने पनि होइन ।

बरु घाटा त माओवादीलाई छ । अहिले आफ्नो मान्छेले क्याम्प फेर्दा बागमती प्रदेशमा एमाले तथा माधव नेपाल निकट डा. खिमलाल देवकोटालाई मत दिनुपर्ने बाध्यता छ भने उता लुम्बिनीमा पनि आफ्नै मान्छेको ठाउँमा काँग्रेसलाई भोट हाल्नुपर्ने झ्याउलो आइलागेको छ । एकजना माओवादी नेता भन्छन्,‘यता एमालेलाई,उता काँग्रेसलाई दिनुपर्यो ।’

बागमती प्रदेशमा करिब ५१ सय मतभार एमालेको छ । ४१ सय बराबरको मतभार काँग्रेस र माओवादीको छ । त्यसमध्ये माधव नेपालनिकट प्रदेश सभाका २१ जना सभासदको मतभार १ हजारभन्दा बढी हुन आउँछ । ती सबै नेताको हैसियतका भएकाले हिजो प्रधानमन्त्री ओलीको,अस्ति इश्वर पोख्रेल,कृष्णगोपाल र गोकुलको अपिलले खासै असर नगर्ने बताइन्छ ।

त्यसैले नेपालनिकट १ हजार मतभार डा. खिमलाल देवकोटाकोमा पर्नेबित्तिक्कै उहाँको मतभार ५१ सय हुन जान्छ । त्यसपछि बादलको मतभार ४१ सयमा झर्ने निश्चित छ । त्यसैगरी गाउँपालिका र नगरपालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रमुख र उपप्रमुख झन् खुलेका नेताहरु छन् । तिनले पनि स्वविवेक प्रयोग गरेर देवकोटालाई गोप्य भोट हाल्ने पक्का देखिन्छ ।

यसबीच आजको चुनावलाई प्रभावित बनाउन हिजो नेता नेपाल र अध्यक्ष ओलीबीच भेटवार्ता गराउने निकै ठूलो पहल भएको थियो । त्यसरी भेटवार्ता गराउँदा नेपालबाट एउटा वक्तव्य निकाल्ने र बादललाई जिताउने अन्तिम प्रयास भएपनि सफल हुन सकेन ।

यता,नेपालनिकट प्रदेश सांसदहरुले डा. खिमलालको उम्मेदवारी राजनीतिकभन्दा पनि नेपालको राजनीतिक अनुहार तथा विश्वसनीयतासङ्ग जोडिएको बताएका छन् । उनको उम्मेदवारीलाई काँगेस र माओवादीले समेत समर्थन गर्नु नेता नेपालको व्यक्तिगत उचाईको मूल्यांकन रहेको विश्लेषण गरिएको छ ।

तर अर्कोतर्फ बादलको पराजयपछि जित्ने भनेको एमाले नै हो भन्ने तथ्यलाई बालुवाटारले अझै स्वीकार्न सकेको देखिँदैन । तसर्थ,कमाण्डर भएर हेटौंडा पुगेका गोकुल बाँस्कोटा या कृष्णगोपालले भन्दैमा कसैले पनि ज्यान फालेर बादललाई भोट हाल्ने सम्भावना देखिँदैन । धेरै भएमा दुई तीन सय मतभारको मात्र असर पर्ने भएकाले देवकोटाको जीत सुनिश्चित रहेको बताइन्छ ।

एमालेका एकजना प्रदेश सभासद भन्छन् ‘यो तीन वर्षमा हामीले कम्ति हण्डर खाएका छौं ! बालुवाटारदेखि हेटौंडाका पौडेलसम्मले देखाएको रवैया र पेलानको हिसाब त गरिसाध्ये छैन ।’

टिप्पणीहरू