मारवाडी समुदायको मन पग्लिएपछि..(भिडियो)

मारवाडी समुदायको मन पग्लिएपछि..(भिडियो)

बितेपछि ओखती भनेझैँ बल्ल होल्डिङ सेन्टरको तयारी शुरु भएको छ ।

उपप्रधानमन्त्री तथा कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजक ईश्वर पोखरेलले मुलुकका आठ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको बताउनुभएको छ ।

अघि मारवाडी सेवा समिति नेपालको पशुपति गौशाला धर्मशालामा निःशुल्क आइसोलेसन सेवा सञ्चालनको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले देशभरका आठ स्थानमा एक-एक हजार क्षमताको होल्डिङ सेन्टर स्थापना गर्ने कामको औपचारिक प्रारम्भ भएको बताउनुभएको हो ।

सात वटा प्रदेशमा एक-एक वटा र एउटा काठमाडौं उपत्यकामा होल्डिङ सेन्टर स्थापनाको लागि अर्थ मन्त्रालयले बजेट छुट्याइसकेको र नेपाली सेनाले निर्माण कार्य प्रारम्भ गरिसकेको उहाँले जानकारी दिनुभएको छ ।

पोखरेलले सरकारले अक्सिजन अभावलाई न्यून गर्न पहल गरिरहेको बताउँदै कोभिड संक्रमण मानवता र मानवीय सभ्यताविरुद्धको आक्रमण भएकाले सबै मिलेर लड्नुपर्ने बताउनुभयो ।

मारवाडी सेवा समिति नेपालले ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको छ । समितिले मित्रपार्कस्थित नेपाल भारतमैत्री अस्पतालसँगको सहकार्य र व्यवस्थापनमा पशुपति गौशाला धर्मशालामा अक्सिजनसहित ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको हो ।

आइसोलेसनमा बिरामीहरुको ल्याब परीक्षण,अक्सिजन,खाना, बस्न तथा चिकित्सक र नर्सहरुको सेवा निःशुल्क उपलब्ध छ । कोभिड संक्रमितलाई आइसोलेसन सेन्टरकै सवारी साधनबाट ल्याउने, पुर्याउने सुविधा रहेको समेत मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले बताउनुभयो । आवश्यक परे आइसोलेसन सेवालाई तीन सय बेडसम्मको बनाउन सकिने पनि उहाँले बताउनुभयो ।

उक्त आइसोलेसनको सेवा लिन चाहनेलाई ९८०१०७१२११ र ९८०१९६७७०६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । मारवाडी सेवा समितिले यसअघि पनि प्राकृतिक विपत्ति तथा महामारीमा विभिन्न प्रकारका सामाजिक कार्यहरु गर्दै आएको छ ।

टिप्पणीहरू