महामारीमा पनि कराँतेको ओलम्पिक तयारी (भिडियो)

महामारीमा पनि कराँतेको ओलम्पिक तयारी (भिडियो)

वाइल्ड कार्डबाट टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउने लक्ष्यकासाथ नेपाली कराँते खेलाडीहरु ललितपुरस्थित सातदोबाटोको कर्भडहलमा व्यस्त छन् । अनु अधिकारी र नवीन रसाइलीले स्वास्थ सुरक्षाको मापदण्ड पूरा गरेर दैनिक अभ्यासमा जुटिरहँदा उनीहरुको लक्ष्य ओलम्पिक सहभागिता रहेको हो ।

कोरोनाको दोस्रो लहर फैलँदा पनि टोकियो ओलम्पिकको तयारी गरिरहेका कराँते खेलाडीले आवश्यक मापदण्ड पूर्णरुपमा पालना गर्दै तयारीलाई तीब्रता दिइरहेका छन् । अधिकारी र रसाईली दुबै वाइल्ड कार्डमार्फत सहभागिता जनाउने लक्ष्यका साथ कठोर मेहनतमा खटिएका र प्रशिक्षक दीपक श्रेष्ठले महामारीका बीच पनि तयारी थालेका हुन् ।

वाइल्ड कार्डबाट ढोका खोल्ने लक्ष्य राखेका खेलाडीले २०२१ मा जापानमा हुने ओलम्पिकका लागि अभ्यासलाई निरन्तरता दिइरहेको बताइन्छ । टोकियो ओलम्पिक कोरोनाकै कारण एक वर्षका लागि धकेलिए पनि तयारीमा व्यस्त खेलाडी महामारीका कारण अझै अन्योलमा छन् ।

यसअघि अभ्यासलाई केही समय स्थगित गरिएको थियो । तर सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई तोकिएको मापदण्डाभित्र रहेर अभ्यासको अनुमति दिएसँगै नेपाली खेलाडी पनि अभ्यासमा व्यस्त भएका हुन् ।

टोकियो ओलम्पिक आयोजना हुने नहुनेबारे अझै अनिश्चितता कायम छ । तर पनि आयोजकले स्वास्थ मापदण्डलाई कठोर रुपमा पालना गर्दै प्रतियोगिता सम्पन्न गर्ने जनाएको छ । त्यसैले अन्योलबीच खेलाडीको मनोबललाई उच्च राख्न पनि अभ्यासलाई निरन्तरता दिइएको प्रशिक्षक बताउँछन् ।

ओलम्पिकका लागि १२ खेलाडी वाइल्ड कार्डको पर्खाइमा रहँदा नेपालका अन्य तीन जना खेलाडी भने युनिभर्सल कोटामा छनोट भइसकेका छन् । स्विमिङबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपीचन्द्र पार्कीको सहभागिता निश्चित भइसकेको छ । अन्यको हकमा भने अझै अनिश्चित छ ।

टिप्पणीहरू