आईजीपी बरालसँग मेरा बाका सम्झनाहरु

आईजीपी बरालसँग मेरा बाका सम्झनाहरु

–कौशल चेम्जोङ
नेपाल प्रहरीका आईजीपी खड्गजित बराल स्वर्गवास हुनु भएको खबरले मेरो मन उद्वेलित हुन पुगेको छ । कहिले नभेटेको, नबोलेको बरालको मृत्युले मलाई त्यत्तिकै रन्थनाएको भने होइन । कारण हो,मेरो पिताजी स्व. सर्वजित लिम्बूसँगै जोडिएका केही संस्मरण । मेरो पिताजी पढ्दापढ्दै विपी कोइरालाको दार्जिलिङे भाषण सुनेर,काका लोकबहादुर लिम्बूको लहलहैमा २००७ सालको क्रान्तिमा जनमुक्ति सेनामा भर्ना हुनुभयो ।

“ए,मान्येज्यू,हामी पुलिसका लालाबाला छैनन् ? हाम्ले पेटभरि खानु पर्दैन ?”

विराटनगरको मोर्चादेखि वीरगंजको लडाइँको मैदानमा शहीद थीरबम मल्लसँगै लड्नु भयो । शत्रुका गोलीले थीरबम घाइते हुँदा उनलाई बोकेर लैजाने,ट्रकमा राखेर रक्सौलको डंकन अस्पतालसम्म पुर्याउने काममा ४ जना मुक्ति योध्दा थिए । तीमध्ये मेरो पिताजी एक हुनुहुन्थ्यो । तर आजसम्म कसैले खोजखबर गरेको छैन र मलाई विश्वास छ, गर्ने पनि छैन । इतिहास त शक्ति र सत्तामा हुनेहरुको मात्रै लेखिने प्रचलन छ । त्यसलाई तोड्न अझै सकिएको छैन । त्यसैले मेरा बाले सुनाउनुभएको खड्गजित बरालसँगै जोडिएका प्रसङ्ग लेख्ने सुर कसेको छु ।

नेपाल प्रहरीका आईजीपी स्व: खड्गजित बराल

पिताजी भन्नुहुन्थ्यो–क्रान्ति सफल भएपछि मुक्ति सेनाको रुपमा जागिर खाइयो । प्रहरी र आर्मी खुट्याइएको थिएन । खुट्याउँदा मेरो बाले मुक्ति सेना नै रोज्नुभयो । र,डा. के आईसिंह काण्डमा सिंहदरबारबाट धपिएको पल्टनेमा पर्नुभयो । बाइरोडको बाटो खन्नेदेखि क्रान्तिमा धोका भए लड्ने मनस्थितिमा परेका मेरा बाले काठमाडौं नछाडी धरै पाउनु भएन । र,पिताजी म आफैंले हिसाब गरेर निकालेको ३३ वर्ष दुई महिना २ दिनसम्म नेपाल प्रहरीको जागिरे हुनुभयो ।यो पुलिस जीवनमा बा सुनाउनु हुन्थ्यो-साह्रै दुःखका दिन थिए । शुरुमा कालो पोशाक लगाएर रवाफ झार्दै हिंड्ने प्रहरीको भविष्य भने कालो थियो । जागिरे छँदा पोशाक आफैले किन्नु पर्ने,बुटको आफैंले जोहो गर्नुपर्ने,राशन पानी आफैंले खर्चिनु पर्ने,२४ सै घण्टा ज्यान जोखिममा राखेर देश र जनताको हितमा काम गर्नेहरु दयाका पात्र थिए । अन्य सरकारी सेवामा रहेका मानिसहरुको तुलनामा प्रहरीको कामको मूल्याकंन भइरहेको थिएन । यस्तो बेला आईजीपी भएका खड्गजित बरालको नाम लिंदा पनि बा गर्वको महसुस गर्नुहुन्थ्यो ।

बरालले एक चड्कन ठोक्दै भनेछन्, ‘ए,त्यसले दिएको जागिर हो ? कति भो तेरो जागिर खुस्का”को ?

किनभने बराल आईजीपी भएपछि राष्ट्रिय पञ्चायतका माननीयहरुलाई भेटेर भन्नुहुन्थ्यो रे,‘ ए,मान्येज्यू,हामी पुलिसका लालाबाला छैनन् ? हाम्ले पेटभरि खानु पर्दैन ?’ उहाँले भेटेजतिलाई ठाडै भन्नुहुन्थ्यो, ‘पुलिसले घुस खायो,भ्रष्टाचार गर्यो भन्ने अनि पुलिसले घुस नखाओस्,भ्रष्टाचार गर्न नपरोस् भनेर कहिल्यै ध्यान नदिने ?’ यही लबिङका कारण प्रहरीले पोशाक, राशन र व्यारेकको सुविधा प्राप्त गर्न सकेको कुरा बाल सुनाउनु हुन्थ्यो ।

प्रहरीका आइजीपी धेरै भए तर मेरा बाले बडो आदरका साथ बरालको नाम लिनुहुन्थ्यो । मेरो बाले सुन्नुभएको र प्रहरी बृत्तमा चलेको खड्गजित बरालका किस्साहरु धेरै छन् । ती किस्सा मध्ये एक हो,अन्चलाधीशसँग सोझैं पङ्गा लिएको घटना । राजाका प्रतिनिधि र असिमित पावरका श्रोत मानिने अन्चलाधीशसँग पञ्चायतकालमा आँखा जुधाउने हिम्मत थोरैमा हुन्थ्यो । किनभने यिनको सोझो पहुँच राजासँग हुन्थ्यो । मन्त्रीहरु पनि अन्चलाधीशसँग छुलछुली हुने दिन थिए । त्यस्तो बेला सगरमाथा अञ्चलका एक अन्चलाधीशले एउटा प्रहरीको जागिर खुस्काइ दिएछन् । कारण रहेछ,घुस ।

‘ए बन्दुके,डिपलभमा पनि बन्दुक भिर्नुपर्छ ? राइफल चैं भूइँमा राखेको भए तेरो जागिर खाने थिएँ ।’

पाँच जना जहानको एकमात्र पालनकर्ता उनको जागिरबाहेक परिवार पाल्ने अर्को कुनै बाटो नभएको र रोडमा बसेर भीख माग्दै हिंड्ने दिन आएपछि सरसापटी गरेर सोझै आईजीपीलाई भेट्न काठमाडौं हान्निएछ । अहिले प्रहरीले सोझै आईजिपी भेट्न पाउँछन् कि पाउँदैनन् (?) तर त्यसबेला बरालसँग सबैको पहुँच थियो । बराललाई भेटेपछि अन्चलाधीशले जागिर खुस्काएको प्रहरीले इमानधर्म नछाडी कहानी बताएछ-मधेसी मूलका ती प्रहरीले ध्यापुता (छोराछोरी) पाल्न तलवले नपुग्ने,जेनतेन गुजारा चलाएको,तर घुस दिनेले अन्चलाधीशलाई कहेर मान्छे छुटाइदे भन्दै मलाई एक हजार रुपैयाँ दिएको साँचो हो । तर अन्चलाधीशले मेरो नाममा घुस खाने भन्दै जागिर खुस्काइदिए ।

एउटा पुलिसले अर्को पुलिसलाई दुःख पोखेको त्यस क्षणमा आइजिपी बरालले एक चड्कन ठोक्दै भनेछन्, ‘ए,त्यसले दिएको जागिर हो ? कति भो तेरो जागिर खुस्का”को ? ’ चड्कन खाएर होश गुमेको प्रहरीले ओठतालु सुकाउँदै जवाफ दिएछ,‘एक महिना भयो साब’ । उनले आफ्नो सचिवालयका प्रहरी अधिकृतलाई बोलाएर आदेश दिएछन्, ‘ए फलानो,त्यो तीन फित्ता ले ले ।’ आदेशको तामेल भयो,‘अब तँ हवल्दार भइस्,पहिलो सलाम त्यही अन्चलाधीशलाई ठोक् । अब त तलब बढ्यो नि ! फेरि घुस खा”को थाह पाएँ भने तेरा ।’ पछि ती प्रहरीले नायव निरीक्षकबाट पेन्सन पकाए ।

अर्को एउटा रोचक किस्सा छ,प्रहरी हेडक्वार्टर नक्सालको । हेडक्वार्टरका वरिपरि पर्खाल पनि थिएनन् । चारैतिर चार जना सेन्ट्री बसेका हुन्थे । त्यसमध्ये क्वार्टरको पछिल्लो भागमा रहेका रुख बोटविरुवाका आडमा सेन्ट्री बस्ने एक जना प्रहरी र कुचीकार महिलावीच ‘डिप लभ’ परेछ । आईजी बरालबाट दुईपटक त्यस्तो देखेपछि त्यो सेन्ट्रीलाई उपस्थित गराउन आदेश भएछ । कसैलाई थाह थिएन अब के हुन्छ भन्ने कुरा । बरालले सोधेछन्, ‘तँ त्यहाँ के गर्छस् ?’ डरले थरथर कामेको प्रहरीले नढाँटी जवाफ दिएछ, ‘हजुर,म उनलाई माया गर्छु ।’ उनले मुस्कुराउँदै जवाफ दिएका थिए रे, ‘ए बन्दुके,डिपलभमा पनि बन्दुक भिर्नुपर्छ ? राइफल चैं भूइँमा राखेको भए तेरो जागिर खाने थिएँ ।’ उनकै अगुवाइमा ती दुवैको विवाह भोज खानेहरु पनि जिउँदै छन् ।

पहिला अत्यासलाग्दो पछि र हाँसोलाग्दो बरालका काम ‘ननभेज चुट्किला’ बनेका छन् । कानूनभन्दा बढी व्यवहार बुझ्ने र ठालूसँग ठालू पल्टिने,सबै प्रहरी परिवारको उन्नति चाहने बरालसँग म पनि प्रहरी परिवारकै सदस्य भएकोले जोडिन पाएँ । अहिले संगठनको हित चिताउने बरालहरु प्रहरीले कहिले पाउने हुन् ? प्रश्न खडा भएको धेरै भयो । आज उनै आइजीपी बरालको ९३ वर्षमा मृत्यु भएको छ । चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु ।

टिप्पणीहरू