सिमसिमेको रजत साँझ

सिमसिमेको रजत साँझ

‘चर्चित, बहुचर्चित, लोकप्रिय, प्रसिद्ध, हिट, सुपरहिटजस्ता कुनै पनि शब्दले सिमसिमे पानीलाई न्याय गर्न सक्दैन। यो नेपालीले सबैभन्दा माया गरेको लोकगीत हो’, होटल याक एन्ड यतीको प्रेक्षालयमा भेटिएका कीर्तिपुर बस्ने बुटवलका शंकर भण्डारी भन्दै थिए। अर्का श्रोता पत्रकार फणिन्द्र संगम भन्दै थिए, ‘झरी परोस् वा चर्को घाम लागोस्, सिमसिमे पानीको चार्म जहिले पनि उस्तै छ।’ कार्यक्रम थियो— सिमसिमे गायिका रेखा शाहको २५ वर्षीय गायन यात्राको उत्सव।

आफ्नो गायन र सिमसिमे पानीले ‘सिल्भर ज्युबिली’ मनाएको खुसी बाँड्न रेखा बिहीबार होटल याक एन्ड यतीमा उपस्थित थिइन्। उनले कार्यक्रममा गायन–यात्राका आफ्ना सुरुआती दिन सम्झिइन्, आफूलाई गायनमा डो¥याउने अग्रजलाई पनि श्रद्धासहित सम्झिइन्। अनि, गायन यात्राले २५औं वर्ष पार गरेको हर्ष सबैलाई बाँडिन्— मुस्कुराएर।

रातो ब्लाउज र विशेष शृंगारमा थिइन्, उनी। मञ्च उक्लेर सबैलाई नमस्कार गरिन्। प्रेक्षालयमा जम्मा भएका दर्शकतिर हेर्दै संगीतका आफ्ना गुरु गुरुदेव कामत र चण्डीप्रसाद काफ्लेसँग आशीष मागिन्। पाश्र्वमा उनैको बहुचर्चित गीत बजिरहेको थियो, ‘सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा…।’ मञ्चको विशाल पर्दामा गीतको भिडियो चलिरहेको थियो, जसमा मोडल थिइन्— उनै रेखा शाह।

उनको गायनसँगै रोमान्टिक ‘सिमसिमे पानी’ले २५ वर्ष पार गरेको छ। यो लोकप्रिय मध्यपहाडी भाकाले रेखाको दुःखसुखको जीवनयात्रामा लय दिएको छ। रेखा यही गीतसँगै जन्मिइन्— गायिका भएर। कार्यक्रममा रेखा बेलाबेला नोस्टाल्जियामा जान्थिन्, गीतको कथामा पस्थिन्। ‘आफ्नो करिअरको आधा बाटोमा आइपुग्दा मलाई आज ‘सिमसिमे पानीमा’को पुरानो समयको सम्झना भइरहेको छ’, उनले भनिन्।

यो रेखाको जीवनकै पहिलो एकल गायन थियो। जहाँ उनी ‘सिमसिमे पानीमा’को गायन–गर्भ सुनाउन उपस्थित भएकी थिइन्, झकिझकाउ मञ्चबाट। यो प्रसिद्ध गीतको कथा सुन्न दर्शकदीर्घामा उत्सुकतापूर्वक बसिरहेका थिए— महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, अभिनेत्री करिश्मा मानन्धर, गीतकार किरण खरेल, कवि विप्वल प्रतीक, संगीतकार न्ह्यु बज्राचार्य, गीतकार भूपेन्द्र खड्का, निर्माता विनोद मानन्धर, शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङलगायत संगीतपारखीहरू। गीतकार किरण खरेलको उपस्थितिमै रेखाले उनकै गीत ‘नमान लाज यस्तरी’ गाइन्। ‘गीत रेकर्ड भएको ५५ वर्षपछि सुन्दा झनै कर्णप्रिय लाग्यो’, खरेलले भने।

२०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत गायनमा ‘सिमसिमे पानीमा’ले प्रथम स्थान प्राप्त गरेपछि उनले पछाडि फर्केर हेर्नु परेन। १५ वर्षको उमेरमा पहिलोपटक गाएको यही गीत नै उनको विशेष परिचय बनिदियो। गीतले अहिलेसम्मै उस्तै प्रभाव छोडिरह्यो। त्यसयता उनले नयाँनयाँ गीतकारका दर्जनौं गीतमा आवाज भरेकी छन्।

तालीको चर्को आवाजबीच उनले मञ्चमा पलेँटी कसेपछि ‘रेखा शाह फाउन्डेसन’ले आयोजना गरेको साँझको सांगीतिक उत्सव सुरु भयो। उनले गीतका अनेक भावभूमि र अरू सम्झना बाँडिन्।

अन्तर्राष्ट्रिय नारी दिवसको दिन बिहीबार ‘सहभागिता र समताका साथ लैंगिक पहिचान’ भन्दै रेखाले एकल गायन कार्यक्रममा आफ्ना हिट नम्बर र अग्रज स्रष्टाका गरी एक दर्जन गीत गाइन्।

द लिजेन्ड ब्यान्डका ६ जना वाद्यवादकमाझ प्रख्यात गायक–गायिकाका कालजयी गीत गाउँदै गर्दा लय र सुरमा रेखा निकै सचेत देखिइन्। हार्मोनियममा औंला चलाउँदै गायनमा रेखालाई सघाइरहेका थिए— सुरजकुमार थापा। अर्केस्ट्रामा थिए— बेस गिटारमा मानिक मानसिंह, अक्टोप्याड र किबोर्डमा रूपम् सिंह गुरुङ, लिड गिटारमा हरि गुरुङ, बाँसुरीमा बुद्ध लामा, पर्कसनमा पारसमणि सुवेदी।

कार्यक्रममा कवि विप्लव प्रतीकले गीतको समीक्षा गरे। उनले अर्केस्ट्राको प्रशंसा पनि गरे। ‘म गायक कहिल्यै हुन सकिनँ, गीत लेख्न र गुन्गुनाउन रुचाउँछु’, उनले भने, ‘रेखाको सुरले हामी सबैलाई एकोहोरो बनाइरहेकै बेला अरू के बेलौं र ? ’

रेखाले ‘रातो र चन्द्र सूर्य’ गाएर ‘सिल्भर ज्युबिली’ साँझ सुरु गरिन्। उनले शान्ति ठटाल, डेजी बराइली, अरुणा लामा, नारायण गोपाल, तारादेवी, नातिकाजीहरूलाई सम्झिइन् र उनीहरूका सदाबहार गीत सुनाइन्। कार्यक्रममा उनले ‘मान्छेको माया यहाँ खोलाको पानीजस्तो’, ‘तिम्रोजस्तो मुटु मेरो पनि’, ‘नमान लाज यसरी’, ‘उकाली ओरालीहरूमा’, ‘हेर न हेर कान्छा’, ‘एउटा खुला किताब हुँ म’, ‘एक दिन तिमी फर्की आउनेछौ’, ‘तिमीलाई केही हुँदै नहोस्’लगायत गीत गाइन्।

रेखा शास्त्रीय संगीतकी विद्यार्थी हुन्। शास्त्रीय संगीतमा सिनियर डिप्लोमा गरेकी उनका ‘आकृति’, ‘द लाइन’, ‘स्मृति’जस्ता एल्बम प्रकाशित छन्। उनका ‘तिमीलाई केही हु“दै नहोस्’, ‘एक दिन तिमी फर्की आउनेछौ’, ‘नजिक छौ तिमी’, ‘तिमीबिना म एक्लै’लगायत गीत चर्चित छन्।

कार्यक्रममा शक्ति समूहकी संस्थापक सदस्य तथा समाजसेवी चरीमाया तामाङ र गायिका तारा थापालाई ११ हजार एक सय ११ रुपैयाँले सम्मान गरिएको थियो।

घन्टौंदेखि आनन्दित भएर गीत सुनिरहेका दर्शकको भव्य तालीको जवाफमा रेखाले कार्यक्रमको अन्त्यमा कृतज्ञता व्यक्त गरिन्। ‘मार्च नारी विशेष महिना हो’, उनले अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ जोडिन्, ‘म त जेन्डर स्टडिजकी विद्यार्थी हुँ। नारीको सम्मानका लागि पनि आज यी गीत गाएकी हुँ।’

टिप्पणीहरू