कोरोनाबाट खेलकुद क्षेत्र अस्तव्यस्त,राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल तालिका भताभुङ्ग

कोरोनाबाट खेलकुद क्षेत्र अस्तव्यस्त,राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल तालिका भताभुङ्ग

कोरोना महामारीबाट खेलकुद क्षेत्र पनि अस्तव्यस्त भएको छ । विश्वव्यापी महामारीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल तालिका बिग्रिएको छ ।

कोरोना महामारीको कारण आगामी वर्ष सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको रौनक छैन । अहिलेसम्म नेपालले उक्त प्रतियोगिताका लागि छनोट खेल खेलिसक्नुपर्थ्यो ।

तर महामारीले छनोट प्रतियोगिता धकेलिएका छन् । विश्वकप नजिकिँदा छनोट खेल अझै हुन सकेको छैन ।

“युरोप खेलकुदमा जुरमुुराइरहेको छ । तर दक्षिण एसिया भने कोरोनासँग जुधिरहेको छ ।”

तालिकाअनुसार नेपालले विश्वकप छनोटका बाँकी खेल कुवेतमा खेल्नुपर्ने छ । एसियाली फुटबल महासंघ (एएफसी) ले एसियाको विश्वकप छनोट समूह बी का बाँकी सबै खेल कुवेतमा खेलाउने निर्णय गरेको छ ।

नेपालको समूहमा कुवेतसँगै अस्ट्रेलिया,जोर्डन र ताइपेई रहेका छन् । नेपालले यी तीनै देशविरुद्ध खेल्न बाँकी छ । ती खेल यसअघि काठमाडौंको दशरथ रंगशालामा हुने तय भएको थियो ।

अब बाँकी छनोटका खेल मे ३१ देखि जुन १५ सम्म कुवेतमा हुने तालिका छ । छनोटमा नेपालले अहिलेसम्म पाँच खेल खेलेको छ र त्यसबाट तीन अंक बटुलेको छ ।

उक्त प्रतियोगिताको लागि नेपालले अहिले बन्द प्रशिक्षण गराइरहेको छ । बन्द प्रशिक्षणका तीन उद्देश्य छन् । पहिलो इराकसँग मैत्रिपूर्ण खेलका लागि तयारी,दोस्रो विश्वकप छनोट र एएफसी एसियन कप छनोट ।

यस्तै महामारीकै कारण तय भएका केही क्रिकेट प्रतियोगिता समेत हुन सकेका छैनन् । कोरोना संक्रमणका कारण खेलकुद गतिविधि ठप्प हुँदा सन् २०२० मा नेपाल दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सीमित रह्यो ।

त्यसपछि कोरोना महामारीको कारण क्रिकेट शून्य अवस्थामै छ । आइसीसी विश्वकप लिग–२ को प्रतियोगिता अनिश्चित् हुँदा एसीसी इमर्जिङ टिम्स एसिया कप ट्वान्टी–२० पनि अन्योल भएको छ ।

यस्तै एसिया कप २०२१ पनि कोरोनाकै कारण धकेलिएको छ । सिनियर महिला टोलीको खेलअन्तर्गत विश्वकपको एसिया छनोट अनिश्चित भएको हो । यस्तै पुरुष यु–१९ र यु–१६ टोलीका केही प्रतियोगिता पनि कोरोनाकै कारण अन्योलमा परेका छन् ।

सिनियर पुरुष क्रिकेट टोलीको आईसीसी डिभिजन लिग–२ का खेल २०२१ का लागि तय भएका छन् । तर त्यो पनि अन्योल छ ।

युरोप खेलकुदमा जुरमुुराइरहेको छ । तर दक्षिण एसिया भने कोरोनासँग जुधिरहेको छ । सोही कारण नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका तालिका प्रभावित भएका हुन् । भारतको इन्डियन प्रिमियर लिग कोरोनाकै कारण बीचमै रोकिएको छ ।

यो वर्ष २०२१ मा जापानमा हुने ओलम्पिकका लागि नेपाली खेलाडीले अभ्यासलाई निरन्तरता दिइरहेका छन् ।

ओलम्पिकका लागि नेपालबाट वाइल्ड कार्डको तयारीमा रहेका १२ जना खेलाडीमा कराँतेका अनु अधिकारी र नवीन रसाइली, तेक्वान्दोका वीरबहादुर महरा, सुटिङका सुष्मिता नेपाल र कल्पना परियार,आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगर,जुडोका ईन्द्र श्रेष्ठ र सोनिया भट्ट,वेट लिफ्टिङका सानु चौधरी र कमला श्रेष्ठ तथा बक्सिङकी मिनु गुरुङ हुन् ।

वाइल्ड कार्डको पर्खाइमा रहँदा नेपालका अन्य तीन खेलाडी भने युनिभर्सल कोटामा छनोट भइसकेका छन् । जसमा स्विमिङबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपीचन्द्र पार्कीको सहभागिता निश्चित भइसकेको छ । अन्यको बारेमा अझै अनिश्चित रहेको बताइएको छ

टिप्पणीहरू