कार्यक्रम वैज्ञानिकको, कुरा विश्वासको मतको

कार्यक्रम वैज्ञानिकको, कुरा विश्वासको मतको

सरकारले विश्वासको मत लिएर मात्रै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

आज नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा कोभिड–१९ सँग सम्बन्धित कार्ययोजना र सञ्चालित गतिविधिको स्थलगत निरीक्षण गर्दा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।

सरकारलाई विश्वासको मत लिएर मात्रै नीति तथा कार्यक्रम ल्याउनुपर्ने दबाब रहेको बताउँदै उहाँले सरकारले त्यहिअनुसारको सोच बनाएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभयो ‘वर्तमान सरकार आँटिलो छ तर परिस्थिति अलिकति असहज र तनावपूर्ण खालको देखिन्छ । हामीले एक खालको तनावलाई त ल्यान्डिङ गर्यौँ । अब अहिले पनि अर्को खालको नीति र कार्यक्रमभन्दा पहिले विश्वासको मत लिनुपर्ने कुरा आएको छ । त्यसैले सरकारले विश्वासको मत लिएर मात्रै नीति, कार्यक्रममा जाने सोच बनाइरहेको छ । सरकार आँटिलै छ,त्यो आँट गर्छ ।’

मन्त्री श्रेष्ठले ठूला अस्पतालहरूमा अक्सिजन प्लान्ट नहुनु विडम्वना रहेको समेत बताउनुभयो । विगतमा क्षमताअनुसार अक्सिजन प्लान्टबिना अस्पताल सञ्चालनको स्वीकृति नदिएको भए अहिले यस्तो अवस्था नआउने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो ‘ठूला अस्पतालमा अक्सिजन प्लान्ट नहुनु योभन्दा ठूलो विडम्वना अरु के हुन्छ ? अहिले आएर भनिरहेका छौँ,हरेक हस्पिटलमा अक्सिजन प्लान्ट बनाइयोस् । हिजै अनुमति दिँदा अक्सिजन प्लान्ट छ,छैन हेर्नुपर्थ्यो । अहिले हामीले हस्पिटलमा अक्सिजन प्लान्ट बनाउन समयसीमा तोकेर निर्देशन दिइरहेका छौं ।’

मन्त्री श्रेष्ठले नास्टले निर्माण गरेको अक्सिजन परीक्षण गर्ने उपकरणको अनुगमनसमेत गर्नुभएको थियो । उहाँले महामारीको बेला नागरिकको जीवन रक्षाका लागि विज्ञान र प्रविधिको क्षेत्रबाट अनुसन्धान र अन्वेषण गर्न नास्टलाई आग्रह गर्नुभएको छ ।

टिप्पणीहरू