उदयपुरमा कोरोना रोक्न घरदैलोसँगै सेना परिचालन

उदयपुरमा कोरोना रोक्न घरदैलोसँगै सेना परिचालन

उदयपुरमा कोरोना संक्रमण नियन्त्रण गर्न र जारी निषेधाज्ञालाई थप प्रभावकारी बनाउन नेपाली सेनाको मोबाइल पेट्रोलिङ टोली परिचालन गर्ने निर्णय गरिएको छ । हिजो बसेको डिसिसिएमसीको बैठकले उक्त निर्णय गरेको हो ।

निर्णयमा कोभिड–१९ नियन्त्रण, रोकथाम तथा प्रतिकार्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न सेना परिचालन गर्न लागिएको उल्लेख छ ।

बैठकले कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि स्थानीय सरकारहरुले डिभिजन वन कार्यालयसँग समन्वय गरी आवश्यक कार्य गर्ने, राष्ट्रिय र जिल्लास्तरीय ठूला आयोजनाहरुलाई मात्र निरन्तरता दिने निर्णय गरेको छ ।

यसैगरी उदयपुरका कोभिड अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या पनि जटिल हुँदै गएकाले संक्रमितहरुको निगरानीको लागि सिसिटिभी क्यामरा जडान गर्ने र आवश्यक औषधी र दक्ष जनशक्तिको व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

होम आइसोलेसनमा रहेका संक्रमितहरुको तथ्याङ्क संकलन गर्ने, उनीहरुलाई औषधी, पोषणयुक्त आहार, आयुर्वेदिक चुर्ण तथा मनोसामाजिक परामर्श दिन घरदैलो कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले डिसीसीएमसीको हालसम्मको कार्यको समीक्षा गर्दै संक्रमितहरुको परीक्षणको दायरा वृद्धि गर्ने निर्णय गरेको छ ।

प्राप्त जानकारीअनुसार उदयपुरमा जेठ २ गतेसम्म ७ सय ९४ जनाको पीसीआर र एन्टिजेन परिक्षण गर्दा ३ सय ८७ जना संक्रमित र मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

टिप्पणीहरू