दु:खी श्रमिकका निम्ति बिशेष देन

दु:खी श्रमिकका निम्ति बिशेष देन

कोरोना महामारी र त्यसपछि जारी निषेधाज्ञाका कारण रोजीरोटी गुमाएर समस्यामा परेका श्रमिकहरुको उध्दारका लागि वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले सहयोग अभियान थालेको छ ।

महासंघले निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गरिरहेका श्रमिकहरु भोकै बस्नुपर्ने अवस्था आएको भन्दै सहयोगको घोषणा गरेको हो ।

हिजो एक अपिल जारी गर्दै महासंघले दैनिक छाक टार्न समस्यामा परेका श्रमिकहरुलाई महासंघ अन्तर्गतको राहत तथा सहयोग समितिमा सम्पर्क गर्न आग्रह पनि गरेको छ । समितिका संयोजक समृद्ध पोखरेल (९८५११६४३०९) र केसाङ लामा (९८१४९६५६५९)लाई सम्पर्क गर्न विज्ञप्तिमा भनिएको छ ।

‘यस्तो विषम परिस्थितिमा हाम्रो संगठनले समस्यामा परेका मजदुरका लागि यथासम्भव सहयोग जुटाउने नीति लिएकाले चर्को समस्यामा परेका मजदुरहरुले तोकिएको नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दछौँ ।’

महासंघले निषेधाज्ञाका कारण समस्यामा परेका मजदुरहरुको दैनिक जीवनयापनको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेपनि बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएको छ ।

‘दैनिक जीवनयापनको व्यवस्था नगरी लागू गरिएको निषेधाज्ञाका कारण मजदुरहरु भोकले छटपटिनु नपरोस् भनी हाम्रो संगठन वैज्ञानिक समाजवादी ट्रेड यूनियन महासंघले चार बुँदे माग राख्दै सरकारलाई वैशाख २४ गते ज्ञापनपत्र बुझाएको थियो । तर सरकारले वास्ता गरेन’, जारी विज्ञप्तिमा भनिएको छ ।

आज सरकारको गैरजिम्मेवारीका कारण मजदुरहरु भोकभोकै तड्पिनुपर्ने परिस्थिति सृजना भएको महासंघको भनाइ छ ।

मेडिकल माफियाका कारण उपचार प्रणाली महँगो भएको भन्दै महासंघले श्रमिकहरु सामान्य उपचारका लागि पनि छट्पटिनु पर्ने विडम्बनापूर्ण अवस्था उत्पन्न भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघको विज्ञप्तिमा देश तथा विदेशमा रहेका सहयोगी मनहरुलाई सहयोग गरि अभियानमा सहभागी हुन अनुरोध पनि गरिएको छ ।

टिप्पणीहरू