लकडाउन ? तस्करीलाई के फरक पर्छ र !

लकडाउन ? तस्करीलाई के फरक पर्छ र !

-ऋषि भट्टराई
दोश्रो चरणको कोरोना संक्रमणले सताएको रुपन्देहीमा भारतसङ्ग सीमा जोडिएका साना नाका चोरीको निम्ति मज्जैसङ्ग प्रयोग भइरहेका छन् । यस्ता नाकामा मानिसहरुको बाक्लो भीड देखिन थालेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गतेदेखि पूर्ण निषेधाज्ञा लागू गरेपनि सीमावर्ती क्षेत्रमा त्यसको पूर्ण प्रभाव परेको छैन । कोरोना संक्रमितको संख्या र मृत्युदर अझै बढ्न सक्ने प्रक्षेपण भइरहेका बेला मर्चवारबाट लुकिछिपी नेपाल छिर्ने मानिसका कारण जोखिम बड्दो छ । यसरी आउनेले सामान्य स्वास्थ्य मापदण्डसमेत पालना गर्दैनन् ।

भारतको नौतनवा,कुल्हुई,ठोठरीलगायतका बजारमा दैनिक उपभोग्य सामान, व्यवसायिक प्रयोजनका सामान, हार्डवेयरका सामान,लत्ता कपडाका सामान किनेर फर्किनेको भीड पनि उत्तिकै छ । तर नेपालको प्रहरीले तस्करी गरी ल्याइएका सामानसमेत नियन्त्रण गर्न सकिरहेको छैन ।

कोटहीमाई गाउँपालिका वडा नम्बर ४ कदमहवा र बोगडी नाकामा सशस्त्र प्रहरी बल खटिए पनि प्रहरीकै आँखा अगाडिबाट विवाह प्रयोजनको लागि भन्दै दैनिक ५ सयभन्दा बढी मानिस ओहोरदोहर गरिहेका छन् ।

तर सशस्त्र प्रहरी आफू यहाँको हकमा नयाँ र भाषाको समस्या बताउँदै उम्कन खोजेको छ । मर्चवारी गाउँपालिकाकाे वडा नम्बर ७ मंझरिया,वडा नम्बर २ कुह्रवा नाकाको पनि हालत उस्तै छ। सीमा क्षेत्रमा आवतजावत रोक्न खटाइएको सशस्त्र प्रहरी बल पनि नियन्त्रणमा गम्भीर नभएको स्थानीयको आरोप छ ।

नाम नखुलाउने शर्तमा मर्चवारी गाउँपालिकाका एक स्थानीय भन्छन् ‘हामीलाई भारत आउन- जान कुनै अप्ठयारो छैन,कुनै पनि सामान ल्याउनु छ भने प्रहरीलाई सय पचास दिएर सामान ल्याउन मज्जाले पाइन्छ ।

उनका अनुसार दैनिक चामलको पनि ओसारपसार भएको छ । सम्मरीमाई १ मा पिल्लर नं. ५४१ (३०) नजिकैको गोरेटो बाटो भएर भारतबाट आउने र नेपालबाट जानेको मेला पर्व जस्तै छ । यहाँ न नेपाल प्रहरी न त सशस्त्र प्रहरीको उपस्थिति छ ।

मर्चवारको अधिकांश गाउँमा नेपाल प्रहरीको ड्युटी सक्रिय रुपमा देखिए पनि सीमा क्षेत्रमा निगरानी भएको पाइन्न । सम्मरीमाई–२ मुडिला नाकामा पनि मेला लागेजस्तै साइकल तथा मोटरसाइकल स्टैण्ड नै बनाइएको छ ।

भारतको ठोठरी बजार जानेहरुलाई एसएसबीले मोटरसाइकल लैजान नदिएपछि नेपालमै स्थानीयले बनाएको मोटरसाइकल स्टैण्डमा राखेर जानेको लस्कर छ । मुख्य शहरमा प्रहरी प्रशासनले कडाइ गरे पनि सीमावर्ती क्षेत्रमा निषेधाज्ञालाई प्रभावकारी बनाउन सकिएको छैन ।

अहिले चलिरहेको बिहेवारीले गर्दा सीमा क्षेत्रमा आवतजावत बढेको छ,जसले कोरोनाको संक्रमण झन् बढ्ने जोखिम छ। अस्पतालमा न त पर्याप्त अक्सिजन छ,न बिरामीलाई राख्ने बेड नै छ। तर सीमा क्षेत्रमा देखिएको यस प्रकारको लापरवाहीले कोरोनाको झन जोखिम बढ्ने स्थानीयको चिन्ता छ । यसबारे रुपन्देहीका सहायक प्रजिअ विजयराज पौडेलसँग जिज्ञासा राख्दा आधिकारिक रुपमा नेपालीहरुलाई भारतबाट आउनका लागि मात्र बेलहिया नाका खुल्ला गरिएको बताए ।

स्थानीय तहसँग समन्वय गरी औपचारिक रुपले बेलहिया नाकाबाट मात्र आवतजावत भएको दावी रूपन्देही जिल्ला प्रशासनको भए पनि विगतमा तस्करीका लागि प्रयोग भएका साना नाकाहरुबाट यस प्रकारको आवत जावत र लेनदेनले कोरोनाकाे स्थिति झनै भयावह हुने देखिन्छ ।

टिप्पणीहरू