महन्थ र राजेन्द्रले काङ्ग्रेस र एमालेलाई चुकाएको मूल्य

महन्थ र राजेन्द्रले काङ्ग्रेस र एमालेलाई चुकाएको मूल्य

– मनोजकुमार कर्ण

जहाँ नेपालमा आज जनता कोरोना महामारीले अक्सिजन, औषधि,भेन्टिलेटर नपाएर हृदयविदारक मृत्युवरण गरिरहेका छन्, त्यहाँ गत वर्ष कोविड–१९ कै पहिलो लहरदेखि नेपाली नेता कहिले राष्ट्रवादको नाममा त कहिले वामपन्थी एकताको नाममा सत्तालाई केन्द्रविन्दूमा राखेर खेल्दै छन्,जुन कुरा राजनीतिक दलको कुनै पनि निर्वाचन बेलाको घोषणाभन्दा फरक छ ।

भनिन्छ, नेतालाई आगामी निर्वाचन र सत्ताको चिन्ता हुन्छ भने राजनेतालाई देश र मानवता जोगाउने भविष्यको चिन्ता रहन्छ । बस्,यही एक मात्र पट्टरीले नेपालका नेताहरूलाई नाप्यौं भने राजनेता कति जना छन्,छर्लङ्ग हुन्छ । सेलिब्रिटीले गरेका हरेक क्रियाकलापलाई आममानिसले सञ्चारमाध्यमबाट पछ्याइरहेका हुन्छन् । प्राध्यापक,बिजनेस टाइकुन,अभिनेता,वकिल आदि जस्तै राजनीतिक नेता पनि सेलिब्रिटी नै हो ।

देशको राजनीतिक वातावरण आर्थिक, सांस्कृतिक,प्राकृतिक,भौतिक अन्य सबैको अभिभावक वातावरण भएकाले यो वातावरण स्वच्छ हुनु जरुरी हुन्छ,जुन कुरा नेपालमा कल्पनाभन्दा टाढा अहिले देखिन्छ तर एउटा विश्वास के हो भने जहाँ किचड (हिलो) हुन्छ,त्यहीँ कमल फुल्छ ।

वामपन्थीबाट कहिल्यै पैंचो फिर्ता भएन
०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमाले महासचिव माधव नेपाललगायत तमलोपा अध्यक्ष महन्थ ठाकुरहरू हारेका थिए र सो बेलाका लगभग सर्वेसर्वा गिरिजाप्रसाद कोइरालाले संविधानसभामा मनोनीत मात्र नभएर माधव नेपाललाई त प्रधानमन्त्री नै बनाइदिए तर नेता नेपालले छोड्ने बेलामा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई १७ पटक हराउन लगाएर सधैं गालीगलौजमा उत्रने पार्टी अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाए अनि जनकपुर गएर एउटै मञ्चमा संयुक्त उपस्थिति जनाई भनिहाले, ‘हेर्नुभो, मैले भन्या थिएँ नि कि झलनाथ कमरेडलाई अब प्रधानमन्त्री दिन्छु भनेर ’ त्यतिमात्र हैन,हाल कांग्रेसलाई ‘एमाले र सरकारबाट केपी ओलीलाई हटाउने’ भनी उचाल्ने र ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव तत्काल ल्याउन खोज्ने उनै माधव नेपाल थिए तर आज उनी कहाँ छन् ? के गर्दै छन् ? हो, ओलीले संघीयतालाई मास्दै राजसंस्था ब्युँताउने दिवा सपना देख्दै संसद विघटन गर्ने प्रतिगमनकारी कदम चालेकै थिए र सभ्य भएर विरोध गर्नु पनि नै थियो तर भर्खरको उत्ताउलो केटोजस्तो ओलीलाई पार्टीबाटै निष्कासन गरिदिने न्यूनतम राजनैतिक चरित्र पनि नदेखाउने यिनै माधव नेपाल होइनन् ? अनि जब ओलीले मौका पाए,अनि न्यूटनको ‘चालको तेस्रो नियम: हरेक कार्यमा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ’को सिद्धान्तमा ठोकिदिँदा के अपराध गरे ?

सोही ठगी विद्या कांग्रेससँग माओवादीका प्रचण्डहरूले गरे । गिरिजाबाबुलाई पूर्व सम्झौताबमोजिम राष्ट्रपति बन्न दिएनन् भने पुनः प्रचण्डहरूले २०७४ सालमा स्थानीय निर्वाचन कांग्रेसको मतले जितेर संसदीय निर्वाचनमा ‘वामएकता’ गर्दै एमालेसँग गए । धोखाधडी हमेशा भयो । जब कांग्रेस सभापति देउवाले २०७४ को निर्वाचनपछि बरु पाँचैवर्ष प्रधानमन्त्री खाऊ प्रचण्डलाई भने तब उनले मानेनन् अनि आज के के गर्दै छन् प्रचण्ड, ती सबै जनताले हेर्दै छन् !

मधेशवादी दल
आज मधेशवादी दलको तीतो यथार्थ सबैले मान्नैपर्छ कि कसैको नाममा अब ‘मधेश’ शब्द नै छैन भने राजेन्द्र महतोले एमाले अध्यक्ष ओलीको साम,दाम,दण्ड र भेदमा निर्वाचन जितेका हुन्,महन्थ ठाकुरले काँग्रेसले महोत्तरीबाट आफ्ना उम्मेदवार कथित् लोकतान्त्रिक गठबन्धनको नाउँमा ब्याक गर्दा जितेका हुन् भने डा. बाबुराम भट्टराई गोरखामा कांग्रेसी उम्मेदवार चीनकाजी श्रेष्ठको भोटले माओवादीका नारायणकाजी श्रेष्ठलाई हराएर जितेका हुन् ।

आज महतोले बरु एमालेलाई ‘नूनको गुण’ तिरेका छन् तर ठाकुर र डा. भट्टराईले त्यही कांग्रेसलाई ‘यूज’ गरेर उल्टै अब प्रधानमन्त्री हामीलाई नै देऊ भन्दै वैशाख ३० गते धोखा दिएका हुन् । एक सिटे डा.भट्टराईको त तालुमा आलु नै फल्यो जब उनी कहाँबाट कहाँ उपेन्द्र यादवको समाजवादी हुँदै जसपामा एकैचोटी पस्न पाए र त्यहाँबाट मधेशीको घर रुपी जसपाको मूली बने ।

ओली सरकारबाट प्रचण्ड–माधव–झलनाथ–वामदेव–भीम रावलहरूको उक्साहटमा ल्याइएको ‘कालापानीमा भारतीय सेनाको उपस्थितिको मुद्दामा’ सरीता गिरिलाई न केवल पदमुक्त गरे अपितु,साधारण सदस्यता नै खारेज गरिदिए । सोही दिन मधेशवादी जसपाको चीनवादी केही घुसपैैठियाद्वारा राजनीतिक बलात्कार भयो !

राजा महेन्द्रले पञ्चायत टिकाउन चीनमै गएर सन् १९६१ मा राष्ट्रपति ल्यू साओचीबाट
सगरमाथामा आधी हिस्सा भनी कागज गरेर आए जसलाई ओली सरकारले गत वर्ष ‘नेपाल–चीन संयुक्त सगरमाथाको उचाइ मापन’ मार्फत लालपुर्जा दिएको छ (जनआस्था साप्ताहिक,पृ. १, २०७७ कार्तिक १९ बुधबार) । सोअगावै पाकिस्तानले चीनलाई सीयाचेन अर्थात् अक्साई चाईना भारतविरुद्ध प्रयोग गर्न दिएको हो ।

त्यहीबेला नेपालको पनि केही हेक्टर जमीन हडपियो जहाँ आज चिनियाँ सैनिक हातहतियारसहित भारतमाथि टार्गेट गरी तैनाथ छ । सन् १९६२ मा भारत–चीन युद्ध हुँदा भारतको सहयोगमा पञ्चायत टिकाउन उनै महेन्द्र राजाले कालापानीमा सैनिक राख्न अनुमति दिएका हुन् । नेपालले सन् १९६१ मा सगरमाथा चीनलाई बुझाएको तथ्य बिर्सेर ‘२४ क्यारेटको विशुद्ध सुनवाला राष्ट्रवादिता’को परिभाषाअन्तर्गत सन् १९६२ मा भारतलाई मिचाहा भन्दै कालापानी चुच्चे नक्साभित्र पारियो ।

वर्तमान १,४६,१४१ बाट १,४८,००६.६७ वर्ग किमि क्षेत्रफल बढाइयो (कान्तिपुर दैनिक,पृ.१, २०७७ कार्तिक १९ बुधबार) । अर्थात्,सन् १९६२ मात्र हेर्ने,सन् १९६१ तिर नफर्केर नेपाल रतन्धोभएको छ जुन कुरा सरिता गिरिले संसदमा बोलेकी थिइन्- ‘नक्साको हकमा दक्षिण (भारत) तिर मात्र नगरी उत्तर (चीन) तिर पनि संगै वार्तापश्चात् एकैचोटी प्रकाशन गर्नुपर्छ !’ के यसैको सजायस्वरूप चीननिकट जसपा प्रतिनिधिहरूले मधेशनीबाट खोसेर पहाडनीलाई साँसद बनाएका हुन् ? जबकि चीनले गत वर्ष नै २५ मई २०२० मा सगरमाथामाथि दाबी गर्दै हुलाक टिकट पनि जारी गरिसक्यो !

काँग्रेसको अदूरदर्शिता
कांग्रेसले जब २०७४ को संसदीय निर्वाचनमा महोत्तरीबाट महन्थ ठाकुरलाई जिताउन आफ्नो उम्मेदवारी फिर्ता लियो,सोही बेला एमालेको बलमा कांग्रेसका फायरब्राण्ड नेता विमलेन्द्र निधिलाई हराउन केपी ओलीले सर्लाहीमा कुनै विकास नगरी अलोकप्रिय भएर धनुषातिर लागेका राजेन्द्र महतोलार्इ पनि ब्याक गर,नत्र हामी महन्थ ठाकुरलाई गुल्टाइदिन्छौं भन्न सक्नुपर्थ्यो । मधेशी विमलेन्द्र निधिलाई हराउन उल्टै सभापति देउवाले महतोलाई सधैं फोन पनि गर्थे । काँग्रेसीलाई हराएर जसपालाई जिताएको र मधेशीको मागहरू पूरा नगराएको फल कांग्रेसले अहिले भोग्दै छ ।

आजको आवश्यकता
(क) सभ्य भाषा,सभ्य संस्कार, छलकपटरहित,दूरदर्शितापूर्ण, कुण्ठा त्याग,नेतामा राजनैतिक चरित्र र आपसमा आदरभावको विकास तत्काल हुनु जरुरी देखिन्छ,

(ख) आजको एक्काईसौं शताब्दिमा कहिले निरु पाल त कहिले गोकुल बाँस्कोटालाई अगाडि सारेर संघीयता त कहिले राजावादीहरूसँग जमघट पारेर राजसंस्था ब्युँताउने नाटक असम्भव र समयको बर्वादी मात्रै हो,त्यही संघीय लोकतान्त्रिक गणतन्त्रबाट टाढा भाग्नु नेता र उसको पार्टीले राजनैतिक आत्महत्या गर्नु हो

(ग) जहाँसम्म चीन–भारत वा नेपालका अन्य मित्र देशको कुरा छ,उनीहरूले नेताको चाहनाभन्दा पनि नेपाली जनताको २१औं शताब्दीको आकांक्षालाई राजनैतिक रुपमा महत्व दिने हो भने अझ भारतको नेपालसँग दुईदेशीय वा नेतामा आधारित सम्बन्ध नभएर जनता–जनतामा आधारित सम्बन्ध हुनेछ । तसर्थ,भारतको वर्तमान केन्द्रीय सत्ता वा कुनै पार्टी विशेषले नेपालमा सनातन धर्म कायम होस् भन्ने चाहना राख्नु अति सामान्य कुरा हो ।

नेपालको ऐतिहासिक धार्मिक विरासतलाई हेर्ने हो भने यो गलत पनि हुनेछैन तर नेपालमा पहिला सनातन हिन्दू धर्म राख भन्नू र सोको संरक्षकको बहानामा कूलमण्डन खाँको गैरहिन्दू वंशज तथा कट्टर मधेशविरोधीलाई आज पनि पवित्र हिन्दू धर्मको संरक्षकमा राख्ने काम गर्नु त टाढाको कुरा,केही राजनैतिक व्यापारीको बिन्तीपत्रले उनीहरू गैरहिन्दू रहेको सत्यलाई नकारेर सनातनी जिम्मेवारी दिने कुरा भारतका मोदी–भागवत्–शाह–योगीहरूले सोच्न पनि सक्दैनन् ।

नेपाल देशैभरिका जनता,दरबारबाट केही हजारले आजसम्म लाभ लिएका र संघीयताको विरोध गरी अधिकार च्यापेर राख्नेबाहेकले यो कुरा मान्ने छैनन् । र,यस्तो घाटाको राजनीति भारतले नेपालसँग कदापि गर्दैन । ज्ञानेन्द्र शाहले आम गरिब तथा निमुखाजस्तो राज्यसत्ता ‘माग्न’ जाँदा कुम्भस्नानमै ‘राजा’ बनाइदिँदैमा भारतलाई के फरक पर्छ र ?

(घ) मधेशवादी दल भएर मधेश र मधेशीको भोटले आफ्नो बुतामा जितेर आउनेले मात्र मधेशीको कुरा गर्न सक्छ,अरुको दया र आडमा जितेका,नैतिक धरातल कमजोर भएकाले गर्न सक्दैन,

(ङ) मधेशी समुदायको माग पूरा गर्न मधेशवादी दलहरू खोलिए तर न हिजो र न आज, मधेशीको मुद्दा सम्बोधन मधेशवादी दलको ठेक्का होइन । अन्य दलले प्रत्यक्ष मधेशीको आत्मसम्मान,राज्यमा हिस्सेदारी,हक,अधिकार दिलाएर वा काँधमा काँध साँच्चिकै गरेर प्रत्यक्ष रुपमै मधेशमा गएर भोट माग्न पाउँछ ।

(उपप्राध्यापक,पाटन संयुक्त क्याम्पस, ललितपुर)

टिप्पणीहरू