मिल्नु गलत थिएन,एकता अझै आवश्यक छ : नारायणकाजी श्रेष्ठ (भिडियो)

मिल्नु गलत थिएन,एकता अझै आवश्यक छ : नारायणकाजी श्रेष्ठ (भिडियो)

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अझैपनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले नेपाली क्रान्तिलाई अगाडि बढाउँदै समाजवाद स्थापनाको निम्ति कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताउनुभएको हो ।

विगतमा नेकपा एमाले र माओवादी केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्दै समाजवाद स्थापना गर्ने लक्ष्यका साथ पार्टी एकीकरण गरिए पनि देशी विदेशी शक्तिहरुको योजनामा पार्टीमा विभाजन आएको नेता श्रेष्ठको भनाइ छ ।

पार्टी एकताको उद्देश्य,लक्ष्य,मर्म र भावना पार्टी पंक्तिमा पुर्याउन नसक्नुको कमजोरीका कारण त्यसो भएको पनि उहाँले बताउनुभयो । त्यसैले कम्युनिष्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

उहाँले सबैभन्दा पहिले आफ्नो पार्टीलाई नै रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको पनि औंल्याउनुभयो । विगतमा पार्टी एकता गर्नु गल्ती तथा कमजोरी नभएपनि समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘कमजोरी सच्चाउन खोज्दा पार्टी विभाजन गरियो ।’

कम्युनिष्ट पार्टीहरुबीचको एकीकरणमा आफूहरुले हिम्मत नहार्ने बताउँदै श्रेष्ठले भन्नुभयो – माओवादी केन्द्रले आफूलाई सांस्कृतिक रुपान्तरण गर्दै कम्युनिष्ट क्रान्तिकारीहरुसँग एकता गर्ने र अन्य लोकतान्त्रिक, देशभक्त शक्तिहरुसँग समेत संयुक्त मोर्चा गरेर अघि बढ्नेबारे सोचिएको छ ।’

टिप्पणीहरू