लकडाउनमा पत्रकारको डरलाग्दो अवस्था,के छ व्यवस्था ? (भिडियो)

लकडाउनमा पत्रकारको डरलाग्दो अवस्था,के छ व्यवस्था ? (भिडियो)

नेपाल पत्रकार महासंघले कोरोना महामारीको असहज अवस्थामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई चेतावनी दिएको छ ।

कोरोना महामारीको दोस्रो लहरमा समेत निजी सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई निकाल्न थालेको सूचना प्राप्त भएको भन्दै महासंघले कुनैपनि बहानामा पत्रकारको रोजगारी नखोस्न भनेको हो ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निश्कासन गर्न नपाइने बताउनुभएको छ । उहाँले कोभिड १९ को पहिलो लहरमा जस्तै दोस्रो लहरमा पनि पत्रकारहरुलाई निश्कासन गरिएको र निश्कासित पत्रकारहरुको निम्ति महासंघले कानुनी लडाईं लड्नुका साथै दबाबमूलक काम गरेको पनि बताउनुभएको छ ।

महासंघले कोभिडको दोस्रो लहरमा निश्कासनमा परेका ९ जनालाई पुनर्नियुक्तिसमेत गराएको महासचिव पुरीले जानकारी दिनुभयो । त्यसैगरी पाँच वटा सञ्चार गृहलाई ७ दिनभित्र पत्रकारहरुको समस्या समाधान गर्न अल्टिमेटम दिइएको उहाँले उल्लेख गर्नुभयो ।
महासंघले कोरोना संक्रमित पत्रकारहरुको उपचारमा सहजीकरण पनि गरिरहेको छ ।

महासंघको केन्द्रीय कार्यालयमा रहेको आवासगृहमा आइसोलेसन कक्ष निर्माण गरिएको छ । त्यसैगरी दाङ,रोल्पा,कपिलवस्तु,पाल्पा, गुल्मी,अर्घाखाँची,प्युठान,बाग्लुङ, पर्वतलगायतका जिल्लामा अक्सिजन,चिकित्सकसहितको आइसोलेसन सेन्टर बनाएर उपचारको वातावरण बनाइएको उहाँले बताउनुभएको छ ।

काठमाडौं उपत्यकामा संक्रमित पत्रकारका लागि बेड,अक्सिजन, औषधि संकलन र बाहिरी जिल्लाबाट रिफर भइआएका पत्रकारलाई काठमाडौंमा बेडको व्यवस्थापन,आइसीयु तथा भेन्टिलेटर मिलाउने काम महासंघले गरिरहेको समेत उहाँले बताउनुभयो ।

महासंघले दिएको जानकारीअनुसार, जेठ २ गतेसम्म मुलुकभर करिब ८ सय जना पत्रकार कोरोना संक्रमित भएका छन् । दुई सय ५० भन्दाबढी सक्रिय संक्रमित छन् । ४० जना अस्पतालमा उपचार गराईरहेका छन् ।

६ जनाको आइसीयु र भेन्टिलेटरमा उपचार भइरहेको छ भने संक्रमणबाट हालसम्म १३ जनाले ज्यान गुमाएका छन् ।

टिप्पणीहरू