निर्ममतापूर्वक आत्मसमीक्षा गर्ने दिन,आज जेठ ३

निर्ममतापूर्वक आत्मसमीक्षा गर्ने दिन,आज जेठ ३

आज जेठ ३ गते, २८ वर्षअघि आजैका दिन एमाले महासचिव तथा जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय ढंगले जीप दुर्घटनाबाट निधन भएको ।

तीन वर्षअघि एमाले र एमाओवादी एकता भएर नेकपा बनेको दिन पनि आजै हो । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको बहुलीय जनवादलाई तिलाञ्जली दिइएको थियो ०७५ जेठ ३ गते ।

एमाओवादीले पनि २१ औं शताब्दीको जनवादलाई तिलाञ्जली दिएर जनताको जनवादका नाममा मुठ्ठी उचालेको दिन हो आज ।

“वरिष्ठ नेता झलनाथ खनाल अघिल्लो दिन २ गते मात्र उपचारको निम्ति चीन जानुभएको थियो । तर,एक्कासी भोलिपल्ट बिहानै पार्टी एकताको घोषणा गरियो ।”

२०७५ जेठ २ गतेसम्म एमालेभित्र पार्टी एकता हुने वा नहुनेबारे एकाधबाहेक कसैलाई थाहा थिएन । पूर्व प्रधानमन्त्री तथा पूर्वअध्यक्ष एवम् वरिष्ठ नेता झलनाथ खनाल अघिल्लो दिन २ गते मात्र उपचारको निम्ति चीन जानुभएको थियो । तर,एक्कासी भोलिपल्ट बिहानै पार्टी एकताको घोषणा गरियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्ड दुबैको छापामार शैलीमा निर्णय गर्ने प्रवृत्तिबाट तीन वर्षअघि बिना पर्याप्त साङ्गठानिक र बैचारिक तयारी,पार्टी एकाएक एकीकृत भएको हो । तर हतारोको र स्वार्थकेन्द्रित त्यो एकता तीन वर्ष नपुग्दै तुहिएको छ ।

“अहिले नै कसैलाई पनि राजनीतिक रुपमा छिछि र दूरदूर गर्ने हतारो देखाउनु हुन्न भन्छन् जानकारहरु ।”

तर पनि नेपालमा कम्युनिष्ट पार्टी फेरि एक हुनेमा पूर्ण विश्वास राख्ने वामपन्थीहरू धेरै छन् । २०४६ सालमा संयुक्त वाममोर्चाको अवधारणा लागू गरिएपछि जनान्दोलन सफल भई २०४८ देखि सबै वाम एक ठाम भन्न थालिएको हो । कतिपय ठाउँमा त्यसपछिका चुनावमा तालमेल पनि हुँदै आएको छ ।

कुुनैपनि कोणबाट वामपन्थी नरहेका हृदयेश त्रिपाठी (नवलपरासी) र बृजेशकुमार गुप्ता (कपिलवस्तु) लाई समेत सूर्य चिन्हबाट जिताइएकै छ । उनी एमाले सरकारमा अहिले पनि वामपन्थी मन्त्री छन् । त्यसैले अहिले नै कसैलाई पनि राजनीतिक रुपमा छिछि र दूरदूर गर्ने हतारो देखाउनु हुन्न भन्छन् जानकारहरु ।

अहिले एकातिर एमालेलाई बलियो र कसिलो बनाउने तयारी शुरु भएको छ । भोलि अन्ततः मदन भण्डारीले आजभन्दा अढाइ दशकअघि भनेकै धारमा वाम आन्दोलन हिँड्ने हो,जङ्गल यात्रा अब सहज छैन ।

माओवादी पनि अबको पहिलो चरणमा आफूबाट अलग्गिएका सबै टुक्रालाई एकत्रित गरेर सग्लो हुनैपर्छ । वैद्य समूह,विप्लव समूह र बाबुराम भट्टराई समूहलाई कमरेड पुष्पकमल दाहालले एकीकृत गर्नु जरुरी छ ।

त्यस्तो अवस्थामा एमालेबाट बेखुस भएको कुनै पनि पार्टी सदस्य वैकल्पिक कम्युनिष्ट पार्टीमा जानसक्छ । त्यसैगरी अर्को वैकल्पिक कम्युुनिष्ट पार्टीबाट बेखुश हुने जो कोही कार्यकर्ताले एमालेको संगठन (प्लेटफार्म) प्रयोग गर्नसक्छ । कम्युनिष्ट पार्टीहरूबीच सदस्य यताउता हुँदासमेत त्यसलाई प्राकृतिक ओहोरदोहोर मान्ने गरिन्छ ।

तर,कम्युनिष्ट पार्टी छाडेर कुनै पनि दक्षिणपन्थी वा पुँजीवादी पार्टीमा प्रवेश गरेको अवस्थामा त्यो कार्यकर्ता कहिल्यै उठ्न नसक्ने हाम्रै सन्दर्भमा धेरै उदाहरण देखिन्छन् ।

भीमबहादुर श्रेष्ठ,केशरमणि पोखरेललगायतका व्यक्तित्वहरू त्यसैका गतिला उदाहरण हुन् । यस्तो अवस्थामा अहिले नेपालका कम्युनिष्टहरूलाई एउटा गतिलो मौका छ । उनीहरूका सामु निर्ममतापूर्वक आत्मसमीक्षा गर्ने बेला आएको छ ।

अहिले तत्काल चुनाव भइहाल्ने अवस्था छैन । चुनावको मिति नै तोके पनि त्यो हुने छाँट देखिँदैन । अब कम्तिमा दुई वर्ष मुलुक चुनावतिर जान सक्दैन । अहिलेको चलखेल चुनावको निम्ति हैन सत्ता दीर्घायुको निम्ति हो भन्नेमा सबै जना ढुक्क भए हुन्छ ।

सम्भवतः जेठ १५ अगावै प्रधानमन्त्रीलाई जसपाले विश्वासको मत दिने अवस्था बन्दै गएको छ । त्यसपछि दुई वर्षसम्म यो सरकारको निरन्तरता अवश्यम्भावी छ । यस्तो बेलामा फेरि पनि कम्युनिष्ट पार्टीको एकतालाई दिमागमा राखेर हिँड्ने हो भने सबैको कल्याण देखिन्छ ।

एसियामा चीनपछि कम्युनिष्ट पार्टीमा धेरै सदस्यता भएको देश नेपाल हो । त्यति धेरै जनसंख्या भएको भारतमा समेत कम्युनिष्ट पार्टीका सदस्य नेपालको भन्दा थोरै रहेको छ ।

टिप्पणीहरू