सामाजिक सन्जालमा जथाभावी लेख्ने गरिएको प्रधानमन्त्रीको गुनासो

सामाजिक सन्जालमा जथाभावी लेख्ने गरिएको प्रधानमन्त्रीको गुनासो

कोरोना महामारीविरुद्धको लडाइँमा साझा प्रयासका लागि भनेर बोलाइएको विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै गुनासा सुनाउनुभएको छ ।

शनिबार साँझ बालुवाटारस्थित सरकारी निवासमा बोलाइएको भेलामा ओलीले विज्ञका सुझाव लिनेभन्दा पनि आफ्ना कुरा सुनाएको र अन्तिममा निर्देशन दिएको भेलाका एक सहभागीले बताए ।

कोरोना संक्रमण तीब्र रुपमा बढेको र संक्रमित बिरामीका लागि अस्पतालमा बेडको अभाव हुनुका साथै अक्सिजन नपाएर हाहाकार मच्चिएका बेला प्रधानमन्त्रीले सर्वपक्षीय भेला बोलाउनुभएको थियो । भेलामा उहाँले स्वदेशी उत्पादनले नपुगे आयात गर्न तथा अक्सिजन प्लाण्ट स्थापना गर्न निर्देशन दिनुभएको बताइएको छ ।

“सरकारले अलिकति हाल्दिने र त्यसको मूल्य असुल उपर नहुने जस्तो भयो भने अनुदान दिने हो ।”

अक्सिजन आयातमा समस्या भए सरकारले तत्काल सम्बोधन गर्ने, अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउने प्रधानमन्त्रीको भनाइ थियो ।

उहाँले अनुदानको कुरा नगरी सक्दो छिटो अक्सिजन उत्पादन गर्ने काममा केन्द्रित हुन निर्देशन दिनुभयो । अघिल्लो बर्ष कोरोनाको पहिलो लहरका समयमा सरकार हौसिएको र संयोजन पनि राम्रो नभएको भन्दै अब भने उपयुक्त संयोजनको व्यवस्था मिलाउने उहाँको दाबी थियो ।

‘कति दिनभित्र अक्सिजन उत्पादन गर्नसक्छौँ भन्ने कुरामा केन्द्रित हुनुहोस् । लगानी गर्न पुगेन भने सरकारले अलिकति हाल्दिने र त्यसको मूल्य असुलउपर नहुने जस्तो भयो भने अनुदान दिने हो । पछि उपादेयता भएन भने आउनु । सुरुमा नै अनुदान दिनुपर्ने भन्ने चाहिँ हुँदैन’,उहाँको भनाइ सुनाउँदै भेलाका अर्का सहभागीले भने ।

प्रधानमन्त्रीले उत्पादन बृद्धि, आयात र प्लाण्ट स्थापना गर्ने कार्य संगसंगै अघि बढाएर तत्काल अक्सिजन आपूर्तिलाई प्रभावकारी बनाउने ढंगमा अघि बढ्न उद्योग व्यवसायीलाई आग्रह गर्नुभएको थियो । संकटको समयमा अत्यावश्यक वस्तुहरुमा अनुचित लाभ लिने काम नगर्न पनि प्रधानमन्त्रीले भनेको ती सहभागीले बताए ।

मानव जीवन जोगाउने सवालमा खरिद ऐनमा भएअनुसार प्रक्रियामा जान नसकिने भएकाले मावनसेवा गर्ने सोचले अभिप्रेरित भई भेन्टिलेटर,अक्सिजनलगायत कोभिड उपचारमा अत्यावश्यक सामाग्रीको अभाव नहुनेगरी व्यवस्थापन गर्न पनि प्रधानमन्त्रीले आग्रह गरेको बताइन्छ ।

भ्रमपूर्ण ढंगले अक्सिजनको माग भयो :
छलफलका क्रममा प्रधानमन्त्री ओलीले भ्रमपूर्ण ढंगले अक्सिजनको माग बढाउने काम भएको दाबी पनि गर्नुभएको थियो ।

अक्सिजन भरेर घरमा राख्नु भन्दा महामारीमा जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न पनि उहाँले सबैलाई आव्हान गर्नुभयो ।

जनतालाई निरास बनाउने काममा एकाथरी मान्छेहरु सामाजिक सञ्जालमा सक्रिय हुने गरेको भन्दै उहाँले काम गर्ने संस्था र व्यक्तिलाई हत्तोत्साही र बद्नाम गर्न खोज्ने प्रवृत्ति उचित नहुने बताउनुभयो ।

उहाँले औषधी तथा औषधीजन्य सामाग्री आयात तथा बिक्रि गर्ने उद्योगी र सम्बन्धीत संस्था तथा अधिकारीहरुले कोभिड उपचारका लागि आवश्यक औषधी छ र उचित मूल्यमा पाईन्छ भनी प्रतिवद्धताका साथै जनतालाई विश्वस्त पार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अस्पताललगायत अत्यावश्यक सेवाका हटलाईनमा पालो लगाएर भएपनि फोन रिसिभ हुने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो । हटलाईनको नम्बरमा फोन उठ्दैन भन्ने गुनासो सुन्ने गरिएको भन्दै उहाँले त्यसतर्फ संवेदनशील भई सक्रियता देखाउन आग्रह गर्नुभएको हो ।

राज्यरजौटा भएर चलाउने प्रवृत्ति :
प्रधानमन्त्री ओलीले महामारी रोकथाम,नियन्त्रण तथा उपचारका लागि एकजुट हुनुपर्नेमा कतिपयले राजनीति गरेको भन्दै आक्रोश पनि पोख्नुभयो ।

महामारीमा के कस्ता समस्या देखिएका छन्,कसरी समाधान गर्न सकिन्छ भनेर संघ सरकारले सहयोग गर्न खोज्दा त्यसलाई अस्वीकार गरी प्रदेशलाई राज्यरजौटा जसरी चलाउन खोजेको उहाँको टिप्पणी थियो । सुदूरपश्चिम प्रदेशले संघको सहयोग नलिएकोप्रति असन्तुष्ट हुँदै आक्रोश पोख्नुभयो ।

उहाँले भन्नुभयो, ‘यस्तोमा राजनीति गर्न छोड्नुहोस् । सुदूरपश्चिम सरकार,यहाँबाट के स्थिति छ भनेर मान्छे पठाउँदा हामीलाई चाहिदैन भनेर फिर्ता पठाउँछ । केन्द्रबाट मन्त्रीलाई अनुगमन गर्न पठाउँदा,सरसल्लाह गर्न पठाउँदा मान्छे फिर्ता पठाउँछ ।

प्रदेशका नाममा, के का नाममा राज्य-रजौटा भएर चलाउने प्रवृत्तिहरु । मानवीय संकटका बेला रजौटे प्रवृत्ति उचित हुनसक्छ र ?’

सिस्टम नै कोल्याप्स भयो भन्ने ?
प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भनिएकोमा पनि आपत्ती जनाउनुभयो । उहाँले स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिंगो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्न नमिल्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो ‘सिस्टम नै कोल्याप्स भयो र हेल्थ सिस्टम, मेडिकल सिस्टम नै कोल्याप्स भयो भन्ने ? समस्या छन् पो भन्नु पर्यो ।’

सरकारका विरोधीहरुले केही पनि भएको छैन भन्ने गरेको भन्दै उहाँले परीक्षणको व्यवस्था नै नभएको मुलुकमा परीक्षण उपलब्ध हुने व्यवस्था मिलाउनु नै ठूलो उपलब्धि भएको बताउनुभयो ।

महामारीको पूर्वतयारी कुनै पनि मुलुकमा नहुने भन्दै उहाँले सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी काम गरेको दाबी गर्नुभयो । साथै उहाँले सबैलाई कोभिड १९ संक्रमण नियन्त्रणका लागि सरकारका प्रयासमा संगठित भएर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा राख्न र प्रचारात्मक भन्दा पनि वास्तविक परोपकारी र मानवीय सहयोगलाई प्रभावकारी ढंगले अघि बढाउन आग्रह गर्नुभयो ।

टिप्पणीहरू