कसरी काम थाल्ला एमालेको कार्यदलले ? (भिडियो)

कसरी काम थाल्ला एमालेको कार्यदलले ? (भिडियो)

आज सिंहदरबारमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्तापछि पार्टी विवाद हल गर्न १० सदस्यीय कार्यदल बिधिवत गठन भएको छ ।

जसमा नेता नेपालको तर्फबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट,स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको छ ।

अध्यक्ष केपी ओलीको तर्फबाट स्थायी समिति सदस्य सुवास नेम्वाङको नेतृत्वमा उपमहासचिव विष्णु पौडेल,सचिव प्रदीप ज्ञवाली, सचिव शंकर पोखरेल र स्थायी समिति सदस्य विष्णु रिमाल रहनुभएको छ ।

कार्यदलले २०७५ जेठ २ गतेको एमालेको सांगठानिक अवस्था र वरिष्ठ नेता नेपालले पेश गर्नुभएको ६ बुँदे सुझावलाई केन्द्रमा राखेर छलफल र निचोड निकाल्ने बताइएको छ ।

कार्यदललाई समय सीमा तोकिएको छैन । छलफलमा नेता नेपालले तीन दिनको अवधि भन्नुभएको थियो । तर, प्रधानमन्त्रीले कार्यदललाई नै जिम्मा दिने भनेपछि सम्भवतः बढीमा पाँच दिनमा समस्या समाधानको सुझाव प्राप्त हुने बताइएको छ ।

यसअघि कार्यदलमा राख्नुपर्ने भन्दै बालुवाटारले रामबहादुर थापा बादललाई अघि सारेको थियो । तर नेपालले एमालेको मामिलाभित्र किन बादललाई अघि सारिएको भनेपछि उहाँलाई ब्याक गराइएको बुझिएको छ ।

छलफलमा सचिव शंकर पोखरेलले एमालेको केन्द्रीय समिति सदस्य ४ सय ४१ भन्नुभएको र विष्णु रिमालले पनि २ सय ४१ भनेपछि एक छिन गरमागरम बहस भएको बताइन्छ ।

नेता नेपालले एमालेको तीन वर्षअघिको आजको दिनको अवस्था भनेको २ सय ३ जनाको केन्द्रीय समिति हो भनेपछि सबै कुराको छिनोफानो गर्ने जिम्मा कार्यदलमा आइपुगेको हो ।

प्रधानमन्त्रीको तर्फबाट २ सय ४१ जनासम्म त मानौं न भनेपछि पनि नेपालले अस्वीकार गर्नुभएको थियो । त्यसपछि ल सबै समस्या हल गर्न कार्यदल बनाऔं भनेपछि १० सदस्यीय कार्यदल बनेको बताइन्छ ।

टिप्पणीहरू