यो चाँहि किन पर्दैन महोदय ?

यो चाँहि किन पर्दैन महोदय ?

शुक्रबार राष्ट्रपति भवन,शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको ४३ औं प्रधानमन्त्रीको रुपमा तेस्रो पटक शपथ ग्रहण गर्नुभयो । त्यस क्रममा प्रधानमन्त्री ओलीले देखाउनुभएको व्यवहार र उच्चारण गर्नुभएको शब्दको अहिले सर्वत्र आलोचना भएको छ ।

राष्ट्रपतिले औपचारिक समारोहमा शपथ खुवाउँदा खुवाउँदै उल्टै राष्ट्रपतिलाई नै लज्जित बनाउने गरी ‘यो पर्दैन’ भनेर शपथ ग्रहणको कानुनी र प्रचलित भाषा संशोधन गर्नुलाई सबैले प्रधानमन्त्रीमा रहेको घमण्डको ‘पराकाष्ठा’ भनेका छन् ।अरुलाई अर्ति,बुध्दि र नैतिकताको पाठ पढाउँदै आउनुभएका उहाँको शुक्रबार दिउँसोको व्यवहारले बौध्दिक र कानुनीराजका पक्षधरलाई लज्जित तुल्याएको बताइन्छ ।

एकजना संवैधानिक ज्ञाता भन्नुहुन्छ ‘यो विकसित र सभ्यमुलुक तथा समाजमा भएको भए प्रधानमन्त्रीको शपथ मात्र होइन सम्पूर्ण खेल नै सकिन्थ्यो । तर हाम्रोमा केही न केही । माथिकाले नै सबै नियम र संस्कार मिचेपछि तलकालाई के दोष दिनु : ’

संविधानबिद भीमार्जुन आचार्यले अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले सन् २०११ मा गरेको शपथ ग्रहणको क्रममा तोकिएको वाक्य नमिलाई उच्चारण गरेको कारण भोलिपल्ट पुनः शपथ लिनुपरेको बताउनुभएको छ ।

हाम्रै सन्दर्भमा पनि केही वर्ष पहिले उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा शपथ लिँदा पछि सर्वोच्च अदालतले उल्टाइदिएको थियो । उनले नाकको चालले पछि नेपाली भाषामै शपथ लिएका थिए ।

मुलुकको कार्यकारी तहमा रहेका प्रधानमन्त्रीले देश र जनताप्रति प्रतिज्ञा गर्छु भन्न नहुने हो भने उहाँले केप्रति प्रतिज्ञा गर्नुहुन्छ भन्ने जिज्ञासा उठाइएको छ । प्रधानमन्त्रीको हिजोको व्यवहारलाई कानुनविद्हरूले ‘अहमको उपज’ भनेका छन् ।

प्रधानमन्त्री केपी ओली तथा अधिकांश कम्युनिष्ट मन्त्रीले कहिल्यै ईश्वरको नाममा शपथ खाने गरेका छैनन् । जबकि शपथग्रहण पत्रमा त्यो शब्द लेखिएकै हुन्छ । शपथ ग्रहणको भाषा र ढाँचा कानुनले तोकेबमोजिम बनाइएको हुन्छ । त्यो कुनै पनि ओहोदाको जिम्मेवारी लिनेको निम्ति वाचन गर्नु बाध्यकारी हो ।

प्रधानमन्त्री ओलीले ईश्वरको नाममा शपथ नखाने तर पशुपतिमा ५८ करोडको सुनको जलहरी लगाउने कार्यलाई पनि सबैले खिसीट्युरी गरेका छन् । त्यसैगरी हालै रामनवमीका दिन चितवनको माडीमा राम मन्दिर बनाउने र त्यहाँ राम,सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गर्ने भन्दै बालुवाटारमा प्राणप्रतिष्ठा गरिएको थियो ।

एकातिर आफूलाई द्वन्दात्मक भौतिकवादमा विश्वास राख्ने कम्युनिष्ट भन्दै ईश्वरको नाममा शपथ ग्रहण नगर्ने तर अर्कोतर्फ चर्को हिन्दु मन्दिर र भगवानको प्रचार गर्ने उहाँको कार्य पनि अहिले विवादमा तानिएको छ ।

कुनैपनि कम्युनिष्ट नेता वा कार्यकर्ताले आफूलाई धर्म निरपेक्ष ठान्ने हो भने प्रधानमन्त्रीले एउटा धर्मको कुरालाई मात्रै उराल्दै हिँड्दा अन्य धर्ममा आस्था राख्नेले के आश गर्ने ? कृश्चियनको चर्च,मुस्लिमको मस्जिद र बुध्दिस्टको गुम्बा निर्माणमा राज्यको योगदान हुनुपर्ने कि नपर्ने ?

शुक्रबारको घटनालाई कसरी लिनुभएको छ भनेर सोधिएको जिज्ञासामा एमालेकै एकजना नेताले भने ‘शपथ ग्रहण जस्तो औपचारिक कार्यक्रममा राष्ट्रपतिलाई नै त्यो लेभलमा डिक्टेट गरिएको छ भने वान टु वान भेटमा कति डिक्टेट होला अनुमान सजिलैसँग गर्न सकिन्छ ।’

टिप्पणीहरू