राजदूत नियुक्ति :थोरै भित्र,धेरै बाहिर,शर्मिलाको दिल्ली जाने सुर

राजदूत नियुक्ति :थोरै भित्र,धेरै बाहिर,शर्मिलाको दिल्ली जाने सुर

सरकारले अघिल्लो मन्त्रिपरिषद्को बैठकबाट ११ वटा मुलुकमा राजदूत नियुक्तिको सिफारिश गरेको छ । तीमध्ये दुई जना करियर डिप्लोम्याट हुन् भने अरु एकाधबाहेक टिपनटापनमै खोजिएको वा रोेजिएको बताइन्छ ।

नियुक्तिको सिफारिशमा परेकी डेनमार्कको लागि प्रस्तावित सुमित्रा भण्डारी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई तथा गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक गोपाल खनालकी सासू हुुनुहुन्छ ।

त्यति मात्रै होइन उहाँ प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीकी काकी पनि हुनुहुन्छ । करियर डिप्लोम्याटहरूलाई अचम्म लागे पनि वहाँ केही वर्ष अघिसम्म स्थानीय विद्यालयमा निम्नमाध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सामाजिक शिक्षा पढाउनुहुन्थ्यो ।

डेनमार्कमा राजदूत सिफारिश भण्डारीलाई जननेता मदन भण्डारीको परिवारसँग समेत जोडिएको थियो । जननेताका चार दाजुभाइ हुन् । जेठा देवघाटमा महात्मा पुरुष भएर बसेका छन् । माइला स्वर्गीय मदन भण्डारी र साहिला प्रेम हुन् ।

पहिले एमाले विभाजनमा प्रेम मालेतिर लागेका थिए । त्यसैले भाउजू अर्थात हालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको परिवारको राम्रो सम्बन्ध नभएको झापाली कमरेडहरूले बेलाबेलामा बताएका थिए । कान्छा भाइ डा.कैलाश भण्डारी हुन् । उनी जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रमा कार्यरत छन् ।

डेनमार्कका यसअघिका राजदूत तथा राइजिग नेपालका पूर्व सम्पादक युवनाथ लम्सालले स्वदेश फर्कन जेठ ८ गतेको विमान टिकट लिइसकेको बताइएको छ । परराष्ट्र मन्त्रालय स्रोत भन्छ- डेनमार्क युरोपभित्रका ज्यादै महँगो देशमध्येको एउटा हो ।

“उक्त देशले नेपालमा खोलेको दूतावाससमेत काम छैन भनी छाडेर गइसकेको छ । “

अर्कोतर्फ उक्त देशले नेपालमा खोलेको दूतावाससमेत काम छैन भनी छाडेर गइसकेको छ । तर त्यो देशमा राजदूतावास खोलेर करोडौं खर्च गरिरहेका छौं । खर्चको हिसाबले ती देशका निम्ति राजदूतावास हाम्रो मुलुकको लागि सेतो हात्ती हुन् ।

एकजना परराष्ट्रविद् भन्छन्, ‘जसले काठमाडौंमा दूतावास बन्द गर्यो त्यहीँ हामी कोटा पुर्याउँदै छौँ । स्पेन,अस्ट्रिया,ब्राजिल र दक्षिण अफ्रिका पनि हाम्रोनिम्ति सेतो हात्ती हुन् ।’

नेता,कार्यकर्ता र आफन्तलाई नियुक्त गर्न थालेपछि अत्यावश्यक स्थानका मिसनलाई थप व्यवस्थित गर्न गाह्रो भएको भएको बताउँदै उहाँ भन्नुहुन्छ ‘हाम्रो कूटनीतिको गुणस्तरसमेत खस्केको छ ।’

हालै राजदूत सिफारिशमा परेका कुलप्रसाद नेपाल यसअघि नयाँ दिल्लीमा सांस्कृतिक सहचारी हुनुहुन्थ्यो । उहाँ पाल्पाका पूर्व सांसद पनि हुनुहुन्छ । यसअघि उहाँलाई अघिल्लो महिना राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनाउन खोज्दा उमेरले धोका दिएको थियो ।

परराष्ट्र मन्त्रालयबाट अवकाशप्राप्त यादव खनाललाई भने यसपटकको नियुक्तिमा चिप्लाइएको छ । खनालले नेपाल -भारत सम्बन्ध पुनरावलोकन गर्न गठित प्रवुद्ध वर्ग समूह इपीजी सचिवालयमा बसेर काम गर्नुभएको थियो । पाँचथरका खनाललाई केही समयअघि प्रा.कृष्णचन्द्र शर्मा र सहसचिव निर्मल काफ्लेसँगै सिफारिशमा पारिएको थियो । तर अहिले फालिएको छ ।

जापान र ओमानस्थित दूतावासमा पनि राजदूतको कार्यकाल सकिएको छ । तर,त्यहाँ काङ्ग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणा र बिजय गच्छदारको कोटाबाट नियुक्त म्यानपावरवाली शर्मिला पराजुली ढकाललाई अर्को व्यवस्था नभएसम्मको लागि भनेर थमौती गरिएकाले यसै भन्न सकिने अवस्था छैन । त्यहि फर्मुलामा अमेरिकामा म्याद सकिएपछि यसअघि डा. अर्जुन कार्की झण्डै थप डेढ वर्ष राजदूत बनेर बसेका थिए ।

शर्मिला भारतको लागि राजदूत बन्ने चक्करमा धेरै अगाडि बढ्नुभएको छ

स्रोतका अनुसार शर्मिला भारतको लागि राजदूत बन्ने चक्करमा धेरै अगाडि बढ्नुभएको छ । प्रधानमन्त्री निकै सकारात्मक हुनुभएकाले सम्भावना बढेको हो भन्नेहरू पनि देखिएका छन् । पाका उमेरका पुराना वामपन्थी नेता नीलाम्बर आचार्यलाई थुतेर शर्मिलालाई पठाउने तयारी भइरहेको समेत बताइएको छ । प्रधानमन्त्री स्वयम् र परराष्ट्रमन्त्री आचार्यको कामकारबाहीबाट सन्तुष्ट नभएका खबरहरू बाहिरिएकाले त्यसो नहोला भन्न सकिँदैन ।

अघिल्लो वर्ष योगेश भट्टराई पर्यटन मन्त्री नियुक्त हुँदा प्रधानमन्त्रीले प्रसंगवशः विदेशमा रहेकामध्ये दुई जना नेपाली राजदूत मात्र सफल रहेको भनेर नामै लिनुभएको थियो । तिनमा इजरायलकी अन्जान शाक्य र ओमानकी शर्मिला ढकाल हुनुहुन्थ्यो ।

त्यहिँदेखि लिफ्ट पाएर होला हालैमात्र उनै पराजुलीले झण्डै आधा दर्जन मुलुकका वरिष्ठ राजनीतिज्ञ तथा करियर डिप्लोम्याट राजदूतलाई लिड गर्दै कोरोना संक्रमण र महामारीमा कसरी दूतावासहरूले प्रभावकारी ढंगले काम गर्ने भनी जुम मिटिङ्गको संयोजन गर्नुभएको थियो । यसबीच उहाँले केही अक्सिजन सिलिण्डरको बन्दोबस्त गरेर नेपाल पठाउने कामसमेत गर्नुभएको छ ।

जुम मिटिङ्को क्रममा करियर डिप्लोम्याट दुई जना राजदूतले जुम अफ गरेर मेसेन्जरमा वार्तालाप गर्दै भनेका थिए ‘के भन्दा के जान्ने,खुकुरीभन्दा कर्द लाग्ने भनेको यहि होला । अब करियर भएका र विद्वानले बाटो तताए हुन्छ,जताततै यस्तैको राज हुने भएपछि !’

टिप्पणीहरू